काठमाडौं। विगतको तुलनामा यो वर्ष बजेट भाषणअघि खासै गाडीहरु बुकिङ भएनन्। अप्रत्यासित रुपमा गाडीहरु बजेटअघि पनि आयात भएन। गत वर्ष जेठ १५ अघि हजारौँ गाडीहरु नेपाल आइसकेका थिए।
करको दर बढ्ने हल्लापछि धेरै गाडी कम्पनीले प्रतिस्पर्धात्मक रुपमा विद्युतीय सवारी साधान (ईभी) भित्र्याएको बेला सरकारले करको दरमा कुनै फेरबदल गरेन। जसका कारण धेरै ब्राण्डका गाडीहरु लामो समयसम्म स्टकमा रहन गयो र मूल्य घटाएर बेच्न बाध्य भए।
उपभोक्ताहरुले विगतका वर्षहरुकै जसरी ईभीमा करको दर परिवर्तन भए पनि हाल रहेको भन्दा घट्ने तर नबढ्ने निश्चित भएर सप्राइज बजेट कुरिरहेका गाडी पारखीका लागि भयो। आर्थिक वर्ष २०८३/८४ को बजेटले नराम्रोसँग झट्का थियो।
अर्थमन्त्री बन्नुअघि डा. स्वर्णिम वाग्लेले गाडीमा लाग्दै आएको करका कारण गाडी महँगो भएकाले घटाउनुपर्ने अभिव्यक्तिको पछाडि लाग्दा पनि व्यवसायी र ग्राहकहरुले बजेटअघि गाडी बुक नै गरेका थिएनन्। तर, जब बजेट आयो त्यो बेला ईभी गाडीमा करको दर बढ्यो। यसबाट बिक्रेताभन्दा बढी उपभोक्ता महँगीको मारमा परे।
सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत सवारी साधनमा लाग्ने कर परिवर्तन गरेपछि नेपाली अटोमोबाइल बजारमा मूल्य समायोजनको क्रम तीव्र बनेको छ। विशेषगरी विद्युतीय सवारी साधन (ईभी)का धेरै ब्रान्डमा करको प्रभाव देखिएको छ। आयातकर्ताहरूले पनि नयाँ कर संरचनाअनुसार मूल्य पुनः निर्धारण गर्न थालेका छन्।
बजेट सार्वजनिक भएको केही दिनभित्रै नेपालमा बिक्री हुने विभिन्न ब्रान्डका सवारी साधनको मूल्य बढेको घोषणा गरिएको छ। अटो व्यवसायीका अनुसार कर तथा भन्सार संरचनामा आएको परिवर्तनको प्रत्यक्ष लाभ केही मोडल र सेग्मेन्टका गाडीहरूले पाएका छन्। धेरैमा यसको असर देखिएको छ।
नयाँ बजेटमार्फत सरकारले अन्तःशुल्कलाई पूर्ण रूपमा खारेज गरी त्यसको सट्टा ‘स्वच्छ पूर्वाधार लगानी शुल्क’ नामक नयाँ कर कार्यान्वयनमा ल्याएको छ।
विगतमा, सरकारले विद्युतीय गाडीको मोटर क्षमता (किलोवाट) अनुसार भन्सार, अन्तःशुल्क, सडक दस्तुर र मूल्य अभिवृद्धि कर (भ्याट) लगाउँदै आएको थियो। ५० किलोवाटसम्मका गाडीमा ५ प्रतिशत अन्तःशुल्क लाग्ने गरेकोमा ३०० किलोवाटभन्दा माथिका गाडीमा ५० प्रतिशतसम्म अन्तःशुल्क थियो। त्यसअघि १५ देखि ८० प्रतिशतसम्म भन्सार महसुल लाग्दथ्यो। जसअनुसार ईभीमा न्यूनतम ४१.४५ प्रतिशतदेखि २१० प्रतिशतसम्म कर लाग्दथ्यो।
नयाँ बजेटमार्फत सरकारले अन्तःशुल्कलाई पूर्ण रूपमा खारेज गरी त्यसको सट्टा ‘स्वच्छ पूर्वाधार लगानी शुल्क’ नामक नयाँ कर कार्यान्वयनमा ल्याएको छ। अब सबै विद्युतीय गाडीमा भन्सार महसुल २० प्रतिशत लाग्ने छ। मूल्यका आधारमा विभिन्न दरमा स्वच्छ पूर्वाधार लगानी शुल्क निर्धारण गरिएको छ। यसका अतिरिक्त, १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) र ५ प्रतिशत सडक निर्माण दस्तुरलाई भने यथावत राखिएको छ।
बजेटपछि अहिलेसम्म बिएमडब्लु, एमजी, दिपल, जिली, जेक्कोलगायत ब्रान्डको मूल्य बढीसकेको छ। अन्य ब्रान्डका मूल्य बढाउने तरखरमा व्यवसायी रहेका छन्। मूल्यका आधारमा कर निर्धारण गर्दा अहिले केही मोडलमा सीमित राहत देखिए पनि समग्रमा बजारमा रहेका अधिकांश ईभीको मूल्य वृद्धि भएको लक्ष्मी कन्टिनेन्टलका महाप्रबन्धक दिपक थपलिया बताउँछन्।
‘सरकारले बजेटमार्फत विद्युतीय सवारी साधनमा गरेको कर संरचना परिवर्तनबाट मुख्यतः कम मूल्यका इन्ट्री लेभल ईभीहरूले लाभ पाएका छन्,’ थपलिया भन्छन्, ‘तर, त्योबाहेकका अधिकांश विद्युतीय गाडीमा करको भार बढेकाले अहिले धमाधम मूल्य समायोजन गर्नु परेको हो। कर संरचना परिवर्तन हुँदा केही मोडलमा सीमित राहत देखिए पनि समग्रमा बजारमा रहेका अधिकांश ईभीको मूल्य वृद्धि भएको छ।’
उनका अनुसार धेरै फाइदा ह्याचब्याक सेग्मेन्टका गाडीलाई भएको हो। नेपाली बजारमा कुनै पनि गाडीको ब्याट्रीकै १५-१६ लाख रुपैयाँ पर्छ। त्यसपछि अर्को ७-८ लाखको गाडी भयो। ती साना गाडीहरूमा मात्र फाइदा पुगेको छ। हुन्डाईका क्रेटा ईभीको पनि ३-४ लाख मूल्य बढ्ने छ।
बजेटपछि केही प्रिमियम ब्रान्डका मोडलको मूल्य एक करोड रुपैयाँसम्म बढेको छ। उच्च मूल्यका विद्युतीय गाडीमा अब थप कर लाग्ने भएकाले तिनको बजार मूल्यमा उल्लेखनीय वृद्धि भएको हो। मूल्यको आधारका कर निर्धारण गर्दा त्यसको सबैभन्दा धेरै असर बिएमडब्लुमा परेको देखिएको छ। बीएमडब्लू आइएक्स वानको मूल्य एकै पटक १ करोड ३० लाख रुपैयाँले वृद्धि भएको छ।
नेपालका लागि बीएमडब्लूको आधिकारिक वितरक लक्ष्मी प्रिमियम मोटर्सले बीएमडब्लूका विद्युतीय एसयूभीको मूल्य सरकारको बजेटपछि व्यापक वृद्धि भएको जनाएको छ।
यसअघि १ करोड ९९ लाख ९६ हजार मूल्य कायम गरेर बिक्री हुँदै आएको बीएमडब्लू आइएक्स वानको मूल्य १ करोड ३० लाख रुपैयाँले वृद्धि भई ३ करोड २९ लाख ९६ हजार रुपैयाँ कायम गरिएको छ। यसअघि १८० किलोवाट क्षमताको मोटर पावरमा कर लाग्दै आएको एसयूभीमा मूल्यको आधारमा कर लाग्दा मूल्यमा ठूलो उथलपुथल भएको हो।
अहिले बजारमा हटकेक मोडल बनिरहेको दिपल एस-०५ का दुबै मोडलमा मूल्य बढेसँगै उपभोक्तालाई महँगो पर्न गएको छ। नेपालका लागि दिपलको आधिकारिक वितरक एमएडब्लू वृद्धिले दिपल एस-०५ प्लस मोडल ४ लाख र म्याक्स मोडल ३ लाख रुपैयाँ बढाएको छ। कम्पनीले बजेट अगाडि प्लस मोडल ५३ लाख ९९ हजार रुपैयाँमा बिक्री गर्दै आएको थियो। बजेटपछि कम्पनीले ४ लाख रुपैयाँले मूल्य बढाएर ५७ लाख ९९ हजार बनाएको छ।
यसैगरी नेपालका लागि जिलीको आधिकारिक वितरक एलआरआर मोटर्सले जिली इएक्स फाइभ म्याक्स र प्रोको मूल्य बढाएको छ।
त्यसैगरी सबैभन्दा धेरै बिक्री भएको एस-०५ म्याक्स यसअघि ५९ लाख ९९ हजार मूल्य कायम गरेर बिक्री गर्दै आएकोमा अब ६२ लाख ९९ हजार रुपैयाँ बनाइएको छ।
यसैगरी नेपालका लागि जिलीको आधिकारिक वितरक एलआरआर मोटर्सले जिली इएक्स फाइभ म्याक्स र प्रोको मूल्य बढाएको छ। कम्पनीले ईएक्स फाइभ म्याक्स भेरियन्टको मूल्य ३ लाख रुपैयाँ र प्रो भेरियन्टको २ लाख रुपैयाँ बढाएको हो। नयाँ मूल्य सूचीअनुसार जिली ईएक्स फाइभ म्याक्सको मूल्य ७३ लाख र जिली ईएक्स फाइभ प्रोको मूल्य ६२ लाख रुपैयाँ पुगेको छ।
यसअघि म्याक्स भेरियन्टको ७० लाख र प्रो भेरियन्टको ५८ लाख रुपैयाँ थियो। सरकारले बजेटमार्फत विद्युतीय सवारीमा नयाँ कर प्रणाली लागू गरेसँगै मूल्य समायोजन गरिएको कम्पनीले जनाएको छ।नेपालका लागि ओमोडा एन्ड जेकोको आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइलले जेसिक्स टीको मूल्य बढाएको छ। कम्पनीले जे सिक्स टीको मूल्य १ लाख रुपैयाँले बढाएको छ।
कम्पनीले गत चैत ९ गते लन्च गर्दा जेसिक्स टीको आधिकारिक मूल्य ६८ लाख ९९ हजार रुपैयाँ तोकेको थियो। यद्यपि, विशेष अफरअन्तर्गत २ लाख रुपैयाँ छुट दिँदै ६६ लाख ९९ हजारमै उपलब्ध गराएको थियो। मूल्य वृद्धि भएसँगै जेसिक्स टीको नयाँ मूल्य ६९ लाख ९९ हजार रुपैयाँ पुगेको छ।
त्यसैगरी एमजीको आधिकारीक बिक्रेता पारामाउन्ट मोटर्सले आफ्ना एस फाइभको लक्जरी र एमजी एस सिक्समा पनि मूल्य बढाएको छ। कम्पनीले एस फाइभको लक्जरी भेरियन्टमा १ लाख रुपैयाँले मूल्य बढायो। भने एमजी एस सिक्समा २ लाख रुपैयाँले मूल्य वृद्धि भएको छ।
बजेटअघि ६९ लाख ९९ हजार रुपैयाँमा बिक्री हुँदै आएको एमजी एस सिक्स २ लाख रुपैयाँले बढाएर ७१ लाख ९९ हजार रुपैयाँ कायम गरेको छ।
साथै, पारामाउन्ट मोटर्सले आफ्नो प्रिमियम इलेक्ट्रिक एसयूभी ‘आईएम सिक्स’को मूल्य पनि ३ लाख रुपैयाँले बढाएको छ। यसअघि ७८ लाख ९९ हजार रुपैयाँमा बिक्री हुँदै आएको आईएम सिक्सको मूल्य बढाएर ८१ लाख ९९ हजार रुपैयाँ बनाएको हो। एमजी आईएम सिक्स प्रिमियम फिचर र कम मूल्य भएका ईभी खोज्ने उपभाक्ताको लागि उत्कृष्ट विकल्पको रूपमा लिइन्छ।