काठमाडौं। लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले डिजिटल इकोनोमीबाट पर्याप्त लाभ लिन रणनीतिक लागनी अपरिहार्य रहेको बताएका छन्। भारतमा आयोजित नेपाल–भारत टेक फोरम २०२६ लाई भर्चुअल सम्बोधन गर्नुहुँदै प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले डिजिटल इकोनोमीमा व्यापाक सम्भावना रहेको बताए। उनले उक्त सम्भावनालाई मूर्त रुप दिन योजनाबद्ध र दीर्घकालीन लगानी आवश्यक रहेको धारणा व्यक्त गरे।
डिजिटल इकोनोमीका लागि नेपाल तयार रहेको उल्लेख गर्दै प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले सरकारले डिजिटल नेपालको फ्रेमवर्कसहित विभिन कानूनी, नीतिगत तथा संस्थागत संरचना विकास गरेको जानकारी दिए।
उनले आर्टिफिसियल इन्टेलिजेन्सलगायतका उदीयमान प्रविधिका पूर्वाधारका लागि आवश्यक उर्जा सस्तो दरमा उपलब्ध हुन सक्ने, प्रविधिमैत्री युवाशक्तिको सम्भावना, उच्च पहाडी तथा हिमाली क्षेत्रमा प्रकृतिक कुलिङ प्रणाली उपलब्ध हुन सक्ने भएकाले डेटा सेन्टर, आइटी पार्क लगायतका क्षेत्रमा लगानीका लागि नेपाल विश्वको आकर्षक गन्तव्य स्थल बन्न सक्ने धारणा व्यक्त गरे।
प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले डिजिटल इकोनोमी, आइटी क्षेत्र लगायतमा लगानी वृद्धि गरी अधिकतम लाभ लिन नेपाल र भारत सरकारका साथै निजी क्षेत्रबीच व्यवसायिक तहमा समानान्तर र व्यवस्थित पहल आवश्यक रहेको बताए।
कार्यक्रममा भारतका विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावर जी, भारतका लागि नेपालका राजदूत डा. शंकर शर्मा, नेपालका लागि भारतका पूर्व राजदूत मञ्जिवसिंह पुरीलगायत विभिन्न क्षेत्रका विज्ञहरुको सहभागिता थियो।