काभ्रे। बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा काभ्रेपलाञ्चोकको दुवै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार विजयी भएका छन् भने समानुपातिक मतमा पनि पहिलो भएको छ।
काभ्रेमा सोमबार साँझ सम्पन्न समानुपातिक मत परिणामअनुसार दुवै क्षेत्रमा रास्वपा पहिलो बनेको हो। मतपरिणमअनुसार रास्वपाले काभ्रेपलाञ्चोकमा ८८ हजार १६२ समानुपातिक मत पाएको जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
क्षेत्र १ मा रास्वपाले ३२ हजार ६२९ मत प्राप्त गर्दै पहिलो स्थान हासिल गरेको छ। उक्त क्षेत्रमा नेपाली कांग्रेस १४ हजार ५५१, राष्ट्रिय परिवर्तन पार्टी १३ हजार ६९९, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ११ हजार ९५२ र एमाले ११ हजार ३८६ मत प्राप्त गरेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी एक हजार ४४८ मत प्राप्त गरेको छ।
काभ्रेपलाञ्चोक २ मा रास्वपाले ५५ हजार ५३३ मत प्राप्त गरी अग्रता लिएको छ। उक्त क्षेत्रमा अन्य प्रमुख दल नेपाली कांग्रेस १४ हजार ७४५, एमाले १२ हजार ७८२, राष्ट्रिय परिवर्तन पार्टी सात हजार २७६, नेकपा ६ हजार ५४, राप्रपा दुई हजार ४२६ मत प्राप्त गरेका छन्।
जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत निकुञ्ज श्रीवास्तवका अनुसार दुवै क्षेत्रमा रास्वपाले अग्रता कायम गरेको हो। दुवै क्षेत्रमा प्रत्यक्षतर्फ रास्वपाका उम्मेदवार विजयी भएका जनाउँदै क्षेत्र १ मा मधुकुमार चौलागाईं र क्षेत्र २ मा बदनकुमार भण्डारी विजयी भएको उल्लेख गरे।-रासस