काठमाडाैं। मध्यपूर्वको अकासमा ड्रोन र मिसाइलको गर्जन सुरु भएको तीन साता पनि नपुग्दै त्यो आगोको ताप काठमाडौंदेखि टोकियोसम्म, मुम्बईदेखि फ्र्यांकफर्टसम्म महसुस हुन थालेको छ। अमेरिका र इजरायलको संयुक्त सैन्य अभियान इरानविरुद्ध केवल एउटा क्षेत्रीय द्वन्द्वमा सीमित रहेन। यसले विश्व अर्थतन्त्रको सबैभन्दा नाजुक नसमाथि एकैसाथ प्रहार गरेको छ।
फारस खाडी र ओमान खाडीलाई जोड्ने होर्मुजको साँघुरो (चौडाइमा मात्र ३३ किलोमिटर) विश्वकै सबैभन्दा महत्त्वपूर्ण समुद्री नाका हो। सामान्य समयमा यहाँबाट प्रतिदिन दुई करोडभन्दा बढी ब्यारेल तेल र पेट्रोलियम उत्पादन बग्थ्यो। याे भनेकाे विश्वको कुल तेल व्यापारको झन्डै पाँचौं भाग हाे। अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले यस संकटलाई ‘विश्व तेल बजारको इतिहासमा अहिलेसम्मकै ठूलो आपूर्ति अवरोध’ भनेर घोषणा गरिसकेको छ।
काउन्सिल अन फरेन रिलेसन्सका वरिष्ठ फेलो एडवर्ड फिशम्यानले भनेजस्तो यो साँघुरो न खानी बिछ्याएर न त नौसेना नाकाबन्दीले बन्द भएको हो। इरानले कम लागतका ड्रोन र मिसाइलले एक दर्जनभन्दा बढी व्यापारिक जहाजमाथि आक्रमण गरेको मात्र हो–सामान्य दिनमा एक सयभन्दा बढी जहाज पार हुने यस साँघुरोमा यति थोरै आक्रमणले पनि पूरै वैश्विक सिपिङ उद्योगको जोखिम गणना पल्टाइदिएको छ। जहाज मालिकहरू र बीमा कम्पनीहरूले त्यो बाटोबाट जान मानेनन् र त्यसैले बाटो खुला भए पनि व्यापारिक रूपमा बन्द जस्तै भएको छ।

युद्ध सुरु हुनुअघि ब्रेन्ट क्रुड प्रतिब्यारेल लगभग ६५ अमेरिकी डलरमा थियो। अहिले १०७ डलर नाघेको छ। ४५ प्रतिशतभन्दा बढीको उछाल। वासिङ्टनसँग मूल्य घटाउने सहज विकल्प छैनन्। अमेरिकाले ऊर्जा एजेन्सी साझेदारसँग मिलेर इतिहासकै ठूलो रणनैतिक तेल भण्डार निकासी गरेको छ-१२० दिनमा ४० करोड ब्यारेल।
युद्ध सुरु भएदेखि नै तेल ३० डलरभन्दा बढी उकालिसकेको छ-यसले अमेरिकी अर्थतन्त्रमा आधा प्रतिशत बिन्दुसम्मको मन्दी ल्याउन सक्छ। एसिया र युरोपका देश, जो आयातीत ऊर्जामा अझ बढी निर्भर छन्। उनीहरूले वास्तविक ऊर्जा अभावसमेत झेल्नुपर्ने खतरा देखिन्छ।
तर, होर्मुजमा भएको क्षतिको तुलनामा यो एउटा सागरमा थपिएको थोपा मात्र हो। राष्ट्रपति ट्रम्पले रुसमाथिको प्रतिबन्ध अस्थायी रूपमा खुकुलो पारेर आपूर्ति बढाउन खोजेका छन्। तर, यसले विश्व बजारमा कुनै ठोस प्रभाव पारेको छैन, बरु मस्कोलाई प्रतिदिन थप १५ करोड डलर राजस्व भने उपहार दिइरहेको छ।
आखिरमा दुइटा मात्र उपाय बाँकी छन् : तेहरानसँग कठिन सम्झौता, वा युद्धको थप उग्रता — जसमा नौसेनाका जहाज गुमाउने र भूसेना तैनाथ गर्ने जोखिम छ। दुवै विकल्प तीतो छन्।
तेल मात्र होइन, मल र अन्न पनि संकटमा
यस युद्धले तेल बजारमा मात्र आघात पारेको छैन। काउन्सिल अन फरेन रिलेसन्सका माइकल वर्जका अनुसार, होर्मुजबाट विश्वको एक चौथाइ मलखाद उत्पादन निर्यात हुन्थ्यो। रुस-युक्रेन युद्ध र चीनको निर्यात प्रतिबन्धपछि यही क्षेत्रमाथि भर परेका देशहरूलाई अब दोहोरो मार परेको छ। मध्यपूर्वमा यूरिया मलखादको मूल्य एकै साताभित्र १९ प्रतिशत बढेको छ र यसको असर विश्वभरका खेतमा पुग्नेछ।
खाडी क्षेत्रका ६ करोडभन्दा बढी जनसंख्या भएका देश खाद्यान्न आयातमा अत्यधिक निर्भर छन्- चामलमा ७७ प्रतिशत, सोयाबिनमा ९५ प्रतिशत। त्यहाँ इरानमा एकै वर्षमा खाद्य मुद्रास्फीति ४० प्रतिशत नाघेको छ, चामलको मूल्य ७ गुणा उक्लेको छ। यो संकट अब केवल युद्धभूमिका देशहरूको मात्र रहेन। नयाँ भूमार्गहरू खुल्दा रुस, सिरिया र टर्कीको महत्त्वपूर्ण खाद्य आपूर्ति कोरिडोरमाथि रणनैतिक नियन्त्रण पुग्नेछ — जुन एउटा अर्कै भूराजनीतिक खेल हो।
इतिहासमा पहिलो पटक सेनाले डेटा सेन्टर उडायो
यस युद्धले एउटा पूर्णतः अभूतपूर्व घटना पनि दिएको छ, जसलाई संसारले गम्भीरतापूर्वक लिनुपर्छ। इरानको ड्रोन आक्रमणले युएई र बहराइनमा रहेका अमेजनका व्यावसायिक डेटा सेन्टर क्षतिग्रस्त बनाएको छ- इतिहासमा पहिलो पटक कुनै सशस्त्र बलले व्यावसायिक डेटा सेन्टरलाई जानीजानी लक्ष्य बनाएको छ। यसले युएईका बैंकहरूसहित व्यापक डिजिटल सेवा अवरुद्ध भए।
काउन्सिल अन फरेन रिलेसन्सका क्रिस म्याकग्वायरले भन्छन् 'बीसौं शताब्दीमा तेल पूर्वाधार वैश्विक अर्थतन्त्रको मेरुदण्ड थियो भने २१ शताब्दीमा डेटा सेन्टरले त्यही भूमिका खेलिरहेका छन्, विशेषगरी ती एआई डेटा सेन्टर, जसमा विश्वका सबैभन्दा मूल्यवान सफ्टवेयर चल्छन्। युएई, कतार र साउदी अरेबियाले तेलपछिको युगको तयारीमा त्यहीँ विश्वका सबैभन्दा ठूला एआई पूर्वाधार निर्माण गर्दैथे। अहिलेको आक्रमणले एउटा कठोर सत्य उजागर गरेको छ-अस्थिर क्षेत्रमा खर्बौं डलर मूल्यको एआई पूर्वाधार राख्नु ठूलो मूर्खता हुनेछ। अमेरिकाले मध्यपूर्वीय तेलमाथिको निर्भरतालाई मध्यपूर्वीय एआई कम्प्युटिङमाथिको निर्भरताले प्रतिस्थापन गर्नुहुँदैन।

प्रतिवेदनका विशेषज्ञले नेपालको नाम उल्लेख नगरे पनि यो संकटको तरंग हिमाल नाघेर आउँछ नै। नेपाल आफ्नो सम्पूर्ण पेट्रोलियम आवश्यकता आयातबाट पूरा गर्छ- तेलको मूल्य १०३ डलर नाघेसँगै नेपाल आयल निगममाथि अत्यधिक बोझ पर्नेछ र पेट्रोलदेखि खाना पकाउने ग्याससम्म महँगो हुनेछ।
काउन्सिल अन फरेन रिलेसन्सका रोजर फर्गुसनले सन् १९७० को दशककै जस्तो स्ट्यागफ्लेसनको चेतावनी दिएका छन्- अर्थात् एकसाथ आर्थिक मन्दी र उच्च मुद्रास्फीतिको दोहोरो मार। अमेरिकी फेडरल रिजर्भ पहिले नै लक्षित दुई प्रतिशतभन्दा माथिको मुद्रास्फीतिसँग जुधिरहेको थियो। ब्याजदर घटाउन खोज्दा मुद्रास्फीति झन् बढ्छ, नघटाउँदा श्रम बजार कमजोर पर्छ र पहिल्यै खुम्चिएको अमेरिकी उपभोक्ता झन् थप दबाबमा पर्छ। यो दुई धारे तरवार जस्तो परिस्थिति हो।
वित्त विशेषज्ञ ब्राड सेटसरका अनुसार तेलको मूल्य प्रतिदस डलर बढ्दा अमेरिकी अर्थतन्त्र वृद्धिदर करिब ०.१ प्रतिशतले घट्छ। युद्ध सुरु भएदेखि नै तेल ३० डलरभन्दा बढी उकालिसकेको छ-यसले अमेरिकी अर्थतन्त्रमा आधा प्रतिशत बिन्दुसम्मको मन्दी ल्याउन सक्छ। एसिया र युरोपका देश, जो आयातीत ऊर्जामा अझ बढी निर्भर छन्। उनीहरूले वास्तविक ऊर्जा अभावसमेत झेल्नुपर्ने खतरा देखिन्छ। श्रीलंकाले पहिल्यै ग्यास र इन्धन मूल्य ८ प्रतिशत बढाइसकेको छ।
वित्तीय बजारमा पनि उथलपुथल छ। वैश्विक इक्विटी बजार पाँच प्रतिशतभन्दा बढी ओरालो लागेको छ, सरकारी बन्डको उपज बढेको छ र सामान्यतः संकटमा बढ्ने सुनको मूल्य उल्टो घटेको छ किनभने बढ्दो ब्याजदरको दबाबले सुनको आकर्षण घटाइरहेको छ।
यस प्रतिवेदनका विशेषज्ञले नेपालको नाम उल्लेख नगरे पनि यो संकटको तरंग हिमाल नाघेर आउँछ नै। नेपाल आफ्नो सम्पूर्ण पेट्रोलियम आवश्यकता आयातबाट पूरा गर्छ- तेलको मूल्य १०३ डलर नाघेसँगै नेपाल आयल निगममाथि अत्यधिक बोझ पर्नेछ र पेट्रोलदेखि खाना पकाउने ग्याससम्म महँगो हुनेछ। मलखादको अन्तर्राष्ट्रिय मूल्य बढ्दा नेपालका किसानहरू पहिले नै भोगिरहेको मल अभावको समस्या झन् गहिरिनेछ। त्यसभन्दा पनि ठूलो कुरा- खाडी मुलुकमा काम गरिरहेका लाखौँ नेपाली श्रमिकहरू यस युद्धको प्रत्यक्ष छायाँमा छन्, र त्यहाँका अर्थतन्त्र कमजोर हुँदा तिनको रोजगार र पठाउने पैसामा समेत असर पर्न सक्छ।

६ वटै विशेषज्ञहरूको एउटै साझा निचोड छ- यो संकट अझ टुंगिएको छैन। होर्मुजको साँघुरो नाका फेरि खुल्न दुइटामध्ये एउटा घटना हुनुपर्छ : तेहरानसँग कठिन कूटनीतिक सम्झौता वा युद्धको झन् बढी उग्र रूप। दुवै बाटो लामो र पीडादायी देखिन्छन्।
जबसम्म यो साँघुरो थुनिएको छ, तबसम्म विश्व अर्थतन्त्रले यो पीडा भोगिरहनेछ-ऊर्जा बजारदेखि किसानको खेतसम्म, वित्तीय बजारदेखि डेटा सेन्टरसम्म। इतिहासले बारम्बार देखाएको छ कि साँघुरा ठाउँहरूले ठूला साम्राज्यको भाग्य फेर्दछन्। होर्मुज एकपटक फेरि त्यही इतिहासको केन्द्रमा उभिएको छ।
(काउन्सिल अन फरेन रिलेसन्सद्वारा मार्च २०२६ मा प्रकाशित ६ वटा विशेषज्ञ विश्लेषणमा आधारित)