काठमाडाैं। खाडी मुलुकहरूमा सुरक्षा स्थिति थप बिग्रिँदै गएको र त्यहाँ रहेका नेपाली नागरिकहरूमा त्रास बढ्दै गएको सरकारले जनाएको छ। परराष्ट्र मन्त्रालयले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा सहसचिव एवं प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले खाडी क्षेत्रमा जोखिम निरन्तर बढिरहेको बताउँदै स्वदेश फर्कन चाहने नेपालीको सङ्ख्या उल्लेख्य रूपमा बढेको जानकारी दिए।
प्रवक्ता पौडेल क्षेत्रीका अनुसार हालसम्म सरकारका सम्बन्धित निकायमा फारम भरेर स्वदेश फर्कन चाहने नेपालीको सङ्ख्या ८२ हजार १ सय पुगेको छ। त्यसमध्ये ६ हजार जतिले आफू असुरक्षित अवस्थामा रहेको उल्लेख गरेका छन् र तत्काल स्वदेश फर्काउन माग गरेका छन्।
पत्रकार सम्मेलनमा घाइते नेपालीहरूको अद्यावधिक विवरण पनि सार्वजनिक गरियो। प्रवक्ताका अनुसार हालसम्म विभिन्न देशमा ३० जना नेपाली नागरिकलाई सामान्य चोटपटक लागेको जानकारी सरकारसँग आएको छ। त्यसमध्ये २९ जनाले उपचार पूरा गरेर सकुशल फर्किसकेका छन् भने एक जना अझै उपचाररत रहेको उनले बताए। उनले भने, "उपचाररत ती नागरिक सामान्य अवस्थामा छन् र उनको स्वास्थ्यस्थितिबारे निरन्तर निगरानी राखिएको छ।"
पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको अर्को चिन्ताजनक जानकारी के हो भने खाडी मुलुकहरूमा रहेका ७ नेपाली नागरिक सोसल मिडियामा भिडियो अपलोड तथा सेयर गरेको कारण सम्बन्धित देशका अधिकारीहरूले पक्राउ गरेका छन्। प्रवक्ता पौडेल क्षेत्रीले यस सन्दर्भमा खाडी मुलुकमा रहेका सबै नेपाली नागरिकलाई सचेत रहन र स्थानीय कानुनको सम्मान गर्न आग्रह गरे।
विशेषगरी युद्धसम्बन्धी, सैन्य गतिविधिसम्बन्धी वा सामाजिक सद्भाव बिगार्ने खालका सामग्री अपलोड वा सेयर गर्नु ती देशहरूमा कानुनी कारबाहीको कारण बन्न सक्ने भएकाले यसप्रति विशेष सावधानी अपनाउनु पर्ने मन्त्रालयको आग्रह छ।
परराष्ट्र मन्त्रालयका अनुसार स्वदेश फर्किन चाहने नेपालीको उद्धारका लागि सरकार आवश्यक तयारीमा जुटेको छ। प्रवक्ताले खाडी मुलुकमा रहेका सबै नेपाली नागरिकलाई आफू रहेको ठाउँको नेपाली दूतावास वा वाणिज्य दूतावाससँग सम्पर्कमा रहन र कुनै पनि असुरक्षाको अनुभव भएमा तत्काल सरकारी निकायलाई जानकारी गराउन अनुरोध गरे।
खाडी क्षेत्रमा झन्डै तीस लाखभन्दा बढी नेपाली श्रमिक कार्यरत रहेका अनुमान गरिएको छ। इरान-इजरायल युद्धको क्षेत्रीय विस्तार र होर्मुजको साँघुरोमा बढ्दो अनिश्चयका बिच यी श्रमिकहरूको सुरक्षा नेपाल सरकारका लागि गम्भीर चुनौती बनेको छ।