काठमाडौं। कैलालीका किसानलाई यतिबेला गहुँबाली भित्र्याउन चटारो छ। अचेल गहुँ, मसुरोलगायत बाली भित्र्याउन यहाँका खेतबारी कृषकहरू व्यस्त देखिन्छन्।
धनगढी उपमहानगरपालिका–३ बोराडाँडीका कृषक करमदास चौधरी पनि अरु किसानजस्तै गहुँबाली भित्र्याउन व्यस्त छन्। उनले भने,‘घरको सबै काम छोडेर खेतमै बढी समय बित्ने गरेको छ। अचेल बिहान सबेरै उठेर खेतमा जाने र झिसमिसे अध्याँरोमा फर्किने दिनचर्या नै बनेको छ।’
केही दिनदेखि गर्मी बढ्दै गएको र मौसम एकनास नरहेकाले वर्षा हुनसक्ने भन्दै गहुँबाली भित्र्याउनका लागि आफूजस्तै किसानको अधिकांश समय खेतबारी मै बित्ने गरेको चौधरीको भनाइ छ।
स्थानीय कृषक हरिराम चौधरीले गहुँ काटेर अब दाइँ गर्ने तयारीमा रहेको बताए। ‘केही दिनदेखि मौसम फेरबदल भइरहेको छ, कतिबेला बादल लाग्छ त कतिबेला हावाहुरी चलेर पानी आउँला झै हुन्छ। त्यसैले पनि गहुँबाली छिटो भित्र्याउने चटारो छ’, उनले भने।
पछिल्लो समय कृषिमा आधुननिकीकरणसँगै आधुनिक उपकरणहरू प्रयोग गर्दा गहुँ दाइँ गर्न केही सहज भइरहेको किसानले बताउने गरेका छन्। कतिपय किसानले भने एकअर्कासँग पालोपैचो तथा पर्मा गर्दै गहुँ काट्ने र ‘थ्रिसेर’ लगाएर भित्र्याउने गर्ने गरेका छन्।
वर्षभरिको अन्न मात्रै होइन, बाँकी रहेको गहुँ तथा दलहन बेचेर घर खर्चको जोहो गर्ने समय पनि भएकाले किसानहरू त्यसैमा लागिरहेका छन्। यसवर्ष यहाँका किसानहरूले विजय, गौतम, धौलागिरीलगायत विभिन्न जातका गहुँ लगाएका छन्।