काठमाडौं। हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको छ। जसका कारण देशभर साधारणतया बादल लागेको छ।
कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी र हिमाली भूभागका एक दुई स्थानमा हल्का वर्षा र हिमपात भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली र पहाडी भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भागमा आंशिक बादल लाग्ने छ। देशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ असिना हुरीबताससहित मध्यम वर्षा र हिमपात तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भागका थोरै स्थान तथा बाँकी तराई भागका एक दुई स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
मधेस र कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थानहरूमा हुरीबतासको समेत सम्भावना छ। त्यसैगरी, आज राति देशका हिमाली भूभागमा साधारणतया बादल लाग्ने छ। पहाडी भागमा आंशिक बादल लाग्ने छ तथा तराई भूभागमा मौसम मुख्यतया सफा रहने छ।
कोशी, गण्डकी, कर्णाली प्रदेशका हिमाली भागका थोरै स्थान तथा बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको हिमाली भाग, कोशी र गण्डकी प्रदेशको पहाडी भागका एक दुई स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। मधेस र कोशी प्रदेशका तराई भागका केही स्थानमा हुरीबतासको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।