काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको नयाँ नेतृत्व चयन भएको छ। सम्पन्न निर्वाचनमा राजेन्द्र राउत दोस्रो कार्यकालका लागि प्यानलसहित अध्यक्षमा विजयी भएका हुन्।
उनले आफ्ना प्रतिस्पर्धी नविन रिजाललाई भारी मतान्तरले पराजित गरे। निर्वाचन परिणामअनुसार राउतले १४२ मत पाउँदा रिजाल ५८ मत पाए। कुल २०५ मत खसेको थियो।
क्षेत्रगत मत परिणाममा पनि राउतको स्पष्ट वर्चस्व देखिए। वस्तुगततर्फ उनले ११ मत प्राप्त गर्दा रिजालले ६ मत पाए। जिल्ला नगर संघतर्फ राउतले २४ मत ल्याउँदा रिजालले १३ मत पाए। सबैभन्दा ठूलो मताधार रहेको एसोसिएटतर्फ राउतले १०७ मत प्राप्त गर्दा रिजाल ३९ मतमा सीमित रहे।
राउत नेतृत्वको प्यानलबाट जिल्ला नगर उपाध्यक्षमा झापाका ऋषिराज तिम्सिना, वस्तुगत उपाध्यक्षमा विराटनगरका राजन श्रेष्ठ तथा एसोसिएट उपाध्यक्षमा विराटनगरकै रविन दाहाल निर्विरोध चयन भएका छन्।
त्यस्तै कोषाध्यक्षमा श्रवणकुमार अग्रवाल निर्विरोध निर्वाचित भएका छन्। एसोसिएट सदस्यमा देवकीनन्दन अग्रवाल र भविषकुमार श्रेष्ठ पनि निर्विरोध चयन भएका छन्। सदस्य पदतर्फ जिल्ला–नगरबाट कृष्णप्रसाद रिजाल, राजु ढुंगाना, राजीव, जयप्रकाश शर्मा, हर्कबहादुर श्रेष्ठ र नविनकुमार चौधरी निर्वाचित भएका छन् भने वस्तुगत सदस्यतर्फ सुवास आचार्य र दीपक पाण्डे विजयी भएका छन्।
महासंघ कोशी प्रदेशको निर्वाचनमा जिल्ला–नगर उद्योग वाणिज्य संघबाट ३८, वस्तुगत संघसंस्थाबाट १९ र एसोसिएटबाट १४८ गरी कुल २०५ मतदाता सहभागी भएका थिए।