काठमाडौं। हुलाकमार्फत विदेश पठाइने र विदेशबाट आयात भएका मालवस्तु जाँचपासका लागि ‘एक्सप्रेस वे’ प्रयोग गरिने भएको छ। हुलाक सेवा विभाग, त्रिभुवन विमानस्थल भन्सार कार्यालय, नागरिक उड्डयन प्राधिकरणलगायतका निकायको समन्वयमा हुलाकबाट हुने कुरियरका लागि ‘एक्सप्रेस वे’ प्रयोग गर्ने व्यवस्था मिलाइएको हुलाक सेवा विभागका महानिर्देशक मनमाया भट्टराई पङ्गेनीले जानकारी दिए।
'हुलाक वस्तु द्रुतमार्गबाट जाँदा बढी सुरक्षित र भरपर्दो हुन्छ। हामीले यसका लागि लामो समयदेखि प्रयास गरिरहेका थियौँ। पछिल्लो समय मन्त्रालयबाट पनि चासो र निर्देशन आएपछि यो कार्यान्वयन प्रक्रिया अघि बढेको हो,' उनले भने। महानिर्देशक पङ्गेनीका अनुसार अब हुलाक कुरियरका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘डेडिकेटेड’ जाँचपास प्रणाली बनाइने छ।
त्यस्तै, सार्वजनिक बिदाको दिन पनि हुलाक कार्यालयमार्फत विदेशमा सामान पठाउने र विदेशबाट आयात भएको सामान छुटाउन सकिने व्यवस्था मिलाइएको उनले बताए। गोश्वारा हुलाक कार्यालय डिल्लीबजारले यसअघि समेत सार्वजनिक बिदाको दिन सेवा दिँदै आएको भए पनि त्यहाँस्थित भन्सार कार्यालय र बैंक नखुल्दा भन्सार जाँचपासमा समस्या हुने गरेको थियो।
अन्तर निकाय समन्वय अभावमा सेवा प्रभावित भइरहेकोबारे गुनासो आउन थालेपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले समेत चासो देखाएको थियो। सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिनाको निर्देशनपछि हुलाक सेवा विभागले भन्सार विभागसँग समन्वय गरेर सार्वजनिक बिदाको दिन पनि सजिलै सेवा दिन सकिने व्यवस्था मिलाउन प्रक्रिया थालेको हो।
भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीले सार्वजनिक बिदामा पनि हुलाक वस्तु जाँचपासका लागि कार्यालयलाई निर्देशन दिइसकेको बताए। सञ्चार मन्त्रालयको निर्देशनपछि हुलाक सेवा विभागले भन्सार विभागलाई पत्राचार गर्दै सार्वजनिक बिदाको दिन पनि गोश्वारा हुलाक कार्यालयस्थित भन्सारमार्फत सेवा प्रवाहका लागि आग्रह गरेको थियो। सोहीअनुसार भन्सार विभागले निर्देशन दिइसकेको महानिर्देशक भण्डारीले बताएका थिए।
पछिल्लो समय हुलाकमार्फत कुरियर गर्नेक्रम बढ्दो छ। नेपालबाट विदेश पठाइने र विदेशबाट नेपाल आउने वस्तुलाई चाँडो, सुरक्षित र भरपर्दो बनाउन विभागले निरन्तर सुधारका काम गरिरहेको महानिर्देशक पङ्गेनीको भनाइ छ।
गोश्वारा हुलाक कार्यालय डिल्लीबजारबाट गत फागुन महिनामा मात्र १९ हजार २०० भन्दा बढी पुलिन्दा, पार्सल, साना प्याकेट, साधारण चिट्ठी, रजिस्ट्री चिट्ठी, बुक पोस्टलगायत वस्तु विदेशबाट आएका थिए। त्यस्तै निर्यात भएका यस्ता वस्तुको सङ्ख्या ११ हजार ७०० हाराहारी छ। जसबाट २९ लाख चार हजार हाराहारी भन्सार राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ।
हुलाकबाट हुने कुरियर सेवाका लागि द्रुतमार्ग सञ्चालन गर्ने तथा सार्वजनिक बिदाको दिन कार्यालय सञ्चालन गर्दा नागरिकले सहज सेवा पाउनेमात्र नभई कार्यालयको व्यवसाय र नतिजा प्राप्ति दुवैमा सकारात्मक प्रभाव देखिने अपेक्षा गरिएको छ।