काठमाडौं। पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा माथि सम्पत्ति शुद्धीकरण अनुसन्धानका लागि पक्राउ पुर्जी जारी भएपछि वक्तव्य जारी गर्दै सम्पत्तिसम्बन्धी विषय भ्रामक भएको दाबी गरेका छन्। देउवाले आफ्नो सम्पत्तिको यथार्थ विवरण सार्वजनिक पदमा रहेको बेलामा सरकारी निकायमा पेश गरेको उल्लेख गरेका छन्। उनले आफ्नो जीवन खुला पुस्तकको रूपमा रहेको उल्लेख गर्दै वास्तविकता समयक्रमसँगै खुल्दै जाने उल्लेख गरेका छन्। ‘अतिरञ्जना गरी सार्वजनिक भएका विवरणहरूबाट भ्रममा नपर्न सबैमा अपिल गर्दछु’ उनले भनेका छन्।
देउवाले सामाजिक सञ्जाल फेसबुकबाट सार्वजनिक गरेको वक्तव्य यस्तो छ :
आदरणीय दाजुभाइ, दिदी बहिनी तथा साथीहरू,
म र मेरो परिवारका बारेमा सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धान सुरु गरिएको भन्ने जानकारी सञ्चारमाध्यमबाट थाहा पाएँ ।
म र मेरो परिवारका बारेमा सम्पत्ति सम्बन्धी विषयमा भ्रामक र झुटा प्रचारबाजी भएको जानकारी गराउन चाहन्छु ।
नेपालको कानुन अनुसार हामीले सार्वजनिक पदमा रहँदा हाम्रो सम्पत्तिको यथार्थ विवरण सम्बन्धित सरकारी निकायमा पेश गरेको अवगत गराउन चाहन्छु ।
देशमा लोकतान्त्रिक शासन व्यवस्थाको स्थापना, विधिको शासन, स्वतन्त्र न्यायापालिका, पारदर्शीतासँगै राज्यका अंगहरू स्वतन्त्र र सक्षम हुनुपर्दछ भन्ने मान्यताका लागि मैले सिंगो जीवन संघर्षमै व्यथित गरेको हुँ ।
मेरो जीवन एउटा खुल्ला पुस्तकका रूपमा रहेको छ ।
भ्रष्टाचारमुक्त समाज निर्माण गर्दै सुशासन र पारदर्शीता कायम गर्न म गृहमन्त्री हुँदा मेरै अग्रसरतामा २०४८ सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन र मेरै प्रधानमन्त्रीत्व कार्यकालमा भ्रष्टाचार निवारण ऐन २०५९ लागु भएको सर्वविदित नै छ ।
स्वास्थ्य उपचारका निम्ति हाल हामी विदेशमा छौं र अझै उपचारको क्रम जारी रहेको जानकारी गराउन चाहन्छु ।
वास्तविकता समयक्रमसँगै खुल्दै जानेनै छ । अतिरुञ्जना गरी सार्वजिनक भएका विवरणहरूबाट भ्रममा नपर्न सबैमा अपिल गर्दछु।
जय नेपाल।
शेरबहादुर देउवा