काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुद मन्त्रालयको पनि जिम्मेवारीमा रहेका सस्मित पोखरेलको सम्पत्ति विवरण सार्वजनिक भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आइतबार साँझ प्रधानमन्त्रीसहित सबै मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको हो।
सरकारका प्रवक्ता समेत रहेका शिक्षा मन्त्री पोखरेलले व्यक्तिगत र परिवारको नाममा रहेको संयुक्त अचल सम्पत्तिबारे उल्लेख गरेका छन्। जस अनुसार, उनले बुवा, आमा, मावलीका हजुरआमा र दिदीबहिनीसहितको संयुक्त नाममा ७ ठाउँमा करिब साढे २० करोडको अचल सम्पत्ति रहेको सम्पत्ति विवरणमा उल्लेख छ। काठमाडौं, मोरङ र ललितपुरमा घरजग्गा रहेको विवरणमा उल्लेख छ।
साथै, २५ तोला सुन, सय तोला चाँदी रहेको विवरण उल्लेख गरेका छन्। उनले आफ्नो बैंक खातामा ४ लाख ४७ हजार ९९४ रुपैयाँ मौज्दात रहेको उल्लेख गरेका छन् भने डलर खातामा अमेरिकी डलर ५ रहेको उल्लेख छ।उनले पारिवारिक सदस्यसहितले संयुक्त रुपमा शेयर कारोबारमा पनि लगानी गरेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन्।
बुवा रमेशकुमार पोखरेलसहितका सदस्यहरूले पीएमएस होल्डिङ्समा विभिन्न कम्पनीका शेयरहरू करिब ३० लाख बराबरको लगानी गरेको उल्लेख गरेका छन्। बुवा रमेशकुमारकै राष्ट्रिय बचत पत्रमा ९६ लाख ९० हजार रुपैयाँ बराबरको रकम राष्ट्र बैंकबाट निवृत्त हुँदा पाएको रकमलाई शेयर खरिदको रुपमा राखेका छन्। आमा मिनाक्षी ओझा पोखरेलको नाममा राष्ट्रिय बचत पत्रमा ५० लाख रुपैयाँ बराबरको शेयर रहेको उल्लेख गरेका छन्।
उनले आफू र आमा मिनाक्षीको नाममा ७५ लाख ऋण रहेको विवरण देखाएका छन्। हिमालयन बैंकमा आफ्नो नाममा २५ लाख र माच्छापुच्छ«े बैंकमा आमाको नाममा ५० लाख कर्जा रहेको उल्लेख छ। बुवा र आफ्नो नाममा दुईवटा सवारी साधन रहेको उनले सम्पत्ति विवरणमा उल्लेख गरेका छन्। सम्पत्ति विवरणमा कूल सम्पत्ति २४ करोड १६ लाख २७ हजार र ऋण ७५ लाख रहेको उल्लेख गरेका छन्। उनको खुद सम्पत्ति २३ करोड ४१ लाख २७ हजार रहेको देखिएको छ।