दाङ। दाङको लमही नगरपालिका–४ सिम्रहवा निवासी ४९ वर्षीया सनकुमारी चौधरी राप्ती नदीको बगरमा खरबुजा फलाउन व्यस्त हुन्छिन्। नदीले कटान गरेर बगर बनाएको ठाउँमा बेमौसमी तरकारीखेती गरेर आम्दानी लिन थालेको उनले बताइन्।
सोही ठाउँकी सीता चौधरीले पनि यहाँ खरबुजा खेती गरिरहेकी छिन्। उनले करिब दुई बिघा बगरमा खरबुजाखेती गरेको बताइन्। सनकुमारी र सीता मात्रै होइन, बलरामपुर गाउँका करिब दुई सय किसान यतिखेर बालुवामा खरबुजा फलाउन व्यस्त छन्।
‘पहिला नदीले सबै जमिन कटान गरेर बिचल्ली नै पार्यो’, सीताले भनिन्, ‘हाल त्यही बगरमा तरकारी र खरबुजाखेती गरेर परिवार पाल्न र घर खर्च चलाउन थालेका छौँ।’ कुनै बेला राप्ती नदी पसेर बगरमा परिणत भएको बलारामपुरमा हाल पौरखी किसानले मेहनत गरेर आम्दानी गरिरहेका छन्। त्यहाँ खरबुजा तथा तरकारी लटरम्म फलाएर किसानले आर्थिक उपार्जन गरिरहेका छन्।
‘बीस वर्ष पहिले राप्ती नदीमा ठूलो बाढी आयो, घर, अन्नपात, गाई, भेडा सबै बगायो। हामी घर छोडेर भाग्यौँ र सिम्रहवामा गयौँ। पछि राप्ती नदीले आफ्नो धार परिर्वतन गर्यो,’ सीताले भनिन्, ‘त्यही बाढीले लगेको जमिन करिब दश वर्षसम्म त बगर नै थियो। पछि सबैले सल्लाह गरेर यहाँ बगरखेती गरिरहेका छौँ।’
सुरुआतमा एउटा संस्थाले बीउ तथा मल सहयोग गरेपछि बगरखेती गर्न थालिएको थियो। तीन वर्षसम्म खासै आम्दानी नभए पनि हाल छैटौँ वर्षसम्म आइपुग्दा राम्रो आम्दानी हुन थालेको सनकुमारीको भनाइ छ। बगर सुनसान ठाउँमा छ। बस्ती नभएकाले यस ठाउँमा चोरी हुने डरले प्रत्येक किसानले फुसको छानो भएका घर निर्माण गरेका छन्।