रसुवा। हिमाली जीवनशैली, परम्परागत पशुपालन र स्थानीय उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले गतलाङस्थित पार्वतीकुण्ड क्षेत्रमा चौँरी महोत्सव आयोजना हुने भएको छ।
चौँरीपालनलाई व्यावसायिक बनाउँदै पर्यापर्यटन विस्तार गर्ने, चौँरीको दूधबाट उत्पादन हुने घिउ, छुर्पी, चिजलगायत दुग्धजन्य पदार्थको बजारीकरण व्यवस्थित गर्ने मुख्य लक्ष्यसहित यही वैशाख १३, १४ र १५ गते महोत्सव आयोजना हुन लागेको हो।
चौँरीपालन व्यावसायिक समितिका अध्यक्ष सुरेन्द्र तामाङका अनुसार महोत्सवमा उत्कृष्ट चौँरीपालक किसानलाई सम्मान तथा पुरस्कार प्रदान गरिने जानकारी छ। उनले भने, ‘यस क्षेत्रका बासिन्दाको प्रमुख आयस्रोत पशुपालन भएकाले महोत्सवबाट किसानलाई थप हौसला मिल्ने अपेक्षा गरिएको छ।’
वडाध्यक्ष तामाङका अनुसार गतलाङ क्षेत्रमा मात्रै करिब एक हजार ३०० भन्दा बढी दुग्ध उत्पादन गर्ने चौँरी छन्। महोत्सव अवधिमा चौँरीजन्य परिकारको प्रदर्शनी, बिक्री तथा प्रचारप्रसारसँगै परम्परागत उपचार विश्वासअनुसार चौँरीको रगत सेवनको व्यवस्थासमेत मिलाइने छ।
यस क्षेत्रका किसानले चौँरीपालनसँगै भेडाबाख्रापालन पनि गर्दै आएका छन्। भेडाको ऊनबाट घरेलुस्तरमै राडी, पाखी, गलैँचा, स्वेटर, टोपी तथा पटुकाजस्ता सामग्री उत्पादन गरिँदै आएको छ, यसको प्रदर्शनी तथा बजार विस्तारमा महोत्सव केन्द्रित हुनेछ।
स्थानीय किसान मार लामा भन्छन्, ‘गतलाङका बासिन्दाको मुख्य आम्दानी चौँरीको दूधबाट बनेका परिकार, ऊनजन्य सामग्री, लेकाली आलु, बन्दाकोबी, सिमीलगायत कृषि उत्पादनबाट हुने गरेको छ।’ पछिल्ला वर्षमा किसानहरू आलु उत्पादनपछि सिमी रोप्ने परम्परागत अभ्यास परिवर्तन गर्दै बढी आम्दानी दिने बन्दाकोबी खेतीतर्फ आकर्षित भएका छन्।
तामाङ सम्पदा मार्गमा पर्ने गतलाङ क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको आवागमन बढ्दो छ। स्थानीय स्तरमा सञ्चालन भएका होमस्टे सेवाले पर्यटन आम्दानी बढाउन सहयोग पुर्याएको छ। यहाँ आउने पाहुनालाई सिस्नोको तरकारी, सिमीको दाल, मकै, कोदो र फापरको ढिडो, लोकल कुखुराको मासुजस्ता परम्परागत खानाले विशेष आकर्षण पैदा गराएको स्थानीयवासी बताउँछन्।