काठमाडौं। विश्वभर ३० प्रतिशत इन्धन आयातको मुख्य जलमार्ग होर्मुज खोल्ने इरानको घोषणासँगै अन्तर्राष्ट्रिय बजारमा तेल मूल्यमा ठूलो गिरावट आएको छ। अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट क्रुड आयलको मूल्य प्रतिब्यारेल ९८ डलरबाट ९० मा झरेको छ, जुन ९ प्रतिशत बढीको गिरावट हो
युद्धअघि ब्रेन्ट क्रुड आयलको मूल्य प्रतिब्यारेल ७० डलर थियो। युद्ध सुरु भएसँगै १०० डलर हुँदै अधिकतम ११५ सम्म पुगेको थियो।हर्मुज खुला रहने इरानको घोषणासँगै आपूर्ति अवरोध चिन्ता घटेपछि बजारमा तेलको मूल्य ओरालो लागेको हो।
तेलको अमेरिकी बेञ्चमार्क वेस्ट टेक्सास इन्टरमिडियट (डब्ल्यूटीआई) क्रुडको मूल्य पनि ११.४५ प्रतिशतले घटेर प्रतिब्यारेल ८३.८५ डलरमा झरेको छ। यस्तै, मोर्बान क्रुड मूल्य पनि करिब १० प्रतिशतले घटेर प्रतिब्यारेल ९१.७० प्रतिशतमा झरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन्।
पछिल्लो समय तेल बजार अस्थिर रहँदै आएको छ। अमेरिका इजरायल र इरानबीचको युद्धका कारण मार्च महिनामा तेलको मूल्य करिब ५० प्रतिशतले बढेको थियो।
अहिले मूल्य सय डलरभन्दा तल झरे पनि अझै ९० डलर आसपासमै छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसै सप्ताहन्तमा पाकिस्तानमा इरानी अधिकारीहरूसँग भेटवार्ता हुन सक्ने संकेत दिएका छन्। यसले पनि लगानीकर्तामा सकारात्मक अपेक्षा सिर्जना गरेको छ।
इजरायल र लेबनानबीच १५ दिने युद्धविरामपछि इरानका विदेशमन्त्री अब्बास अराघचीले युद्धविराम अवधिभर जलमार्ग पूर्ण रूपमा खुला रहने बताएका छन्। सामाजिक सञ्जाल एक्समार्फत उनले लेबनानसँगको युद्धविरामको सन्दर्भ जोड्दै हर्मुज हुँदै हुने व्यावसायिक जहाजको आवतजावत निर्वाध रूपमा सञ्चालन हुने संकेत गरेका थिए।
इरानी विदेशमन्त्रीको घोषणासँगै शुक्रबार मात्रै विश्व बजारमा कच्चा तेलको मूल्य झन्डै १५ प्रतिशतसम्म घटेको थियो। हर्मुज विश्वकै महत्वपूर्ण तेल ढुवानी मार्ग भएकाले यहाँको अवस्थाले सीधै अन्तर्राष्ट्रिय बजार प्रभावित पार्ने गर्छ।
यसअघि अमेरिकाले हर्मुज क्षेत्रमा नौसैनिक नाकाबन्दी गर्ने संकेत दिएको थियो भने इरानले पनि केही समयका लागि मार्ग अवरुद्ध गरेको थियो। त्यसले बजारमा आपूर्ति संकटको त्रास बढाएको थियो।