काठमाडौं। नेपालमा कतै भारी वर्षा भइरहँदा तराईमा भने तापक्रम बढ्दो क्रममा छ। तातो अझै बढ्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागका मौसमविद् सरोज पुडासैनीका अनुसार मधेस प्रदेशलगायत बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभाग साथै उपत्यका र खोँचहरूमा तातो दिन तथा सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका पश्चिमी तराईमा तातो लहर चल्ने सम्भावना रहेको बताए। विभागको अद्यावधिक सूचना हेरेर आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरिएको छ।
विभागमा आज साँझ प्राप्त विवरणअनुसार सबैभन्दा बढी नेपालगन्जमा अधिकतम तापक्रम ४०.३ डिग्री मापन भएको छ। आइतबार नेपालगन्जमा ३९ डिग्री मापन गरिएको थियो।
दिपायलमा पनि ४० डिग्री तापक्रम मापन भएको छ। दिपायलमा हिजो ३८.८ डिग्री मापन गरिएको थियो। हिजो धनगढीमा ३८.२ डिग्री तापक्रम रहेकामा आज बढेर ३९.४ डिग्रीमा पुगेको छ। काठमाडौँमा हिजो २८.४ रहेकामा आज बढेर २९ डिग्री मापन गरिएको छ।
उच्च पहाडी तथा हिमाली क्षेत्रका केही ठाउँमा भने वर्षा पनि भइरहेको छ। केही जिल्लामा भारी वर्षासमेत भएको छ । कास्कीमा ५७.४ र सिन्धुपाल्चोकमा ६८.४ मिलीमिटर वर्षा भएको छ।
यस्तै गोरखा, लमजुङ, सोलुखुम्बु खोटाङ, धनकुटा, संखुवासभामा मध्यम वर्षा भएको छ भने अन्य धेरै स्थानमा हल्का वर्षा भएको छ।
अहिले नेपालमा पश्चिम क्षेत्रमा भन्दा पूर्वमा मौसम परिवर्तन भएको छ। भोलि सोमबार कोसी प्रदेशलगायत बाँकी पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्ने र तराई भूभागमा आंशिक बादल लाग्ने विभागले साँझ जारी गरेको बुलेटिनमा उल्लेख छ।
कोसी र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागलगायत देशका बाँकी हिमाली भूभागका थोरै स्थान तथा बागमती र लुम्बिनी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
मधेस प्रदेशलगायत बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई साथै उपत्यका र खोँचमा तातो दिन हुने सम्भावना रहेको विभागले जनाएको छ।