काठमाडौं। नेपालमा विद्युत् प्रसारण तथा वितरण लाइन र सबस्टेसन निर्माणमा स्वदेशमै उत्पादन हुने स्टिलजन्य सामग्री प्रयोगमा बेवास्ता गरिएको पाइएको छ। प्रसारण टावर, वितरण पोल तथा सबस्टेसनका लागि आवश्यक सामग्री आन्तरिक रूपमा उत्पादन हुँदाहुँदै आयातित सामग्रीलाई प्राथमिकता दिइँदा घरेलु उद्योग प्रभावित बनेका छन्।
दिवाकर गोल्छा अर्गनाइजेसनले आयोजना गरेको ‘स्ट्रेन्थेनिङ नेपाल्स ग्रिडः टुडेज ट्रान्समिसन लाइन ल्यान्डस्केप एन्ड फ्युचर आउटलुक’ विषयक अन्तर्क्रियामा सहभागीले स्वदेशी उत्पादन प्रयोग बढाउन जोड दिएका हुन्। उनीहरूले आन्तरिक सामग्रीको प्रयोगले रोजगारी सिर्जना, उद्योग प्रवर्द्धन आर्थिक आत्मनिर्भरता मजबुत हुने बताएका छन्।
विद्युत् नियमन आयोगका सदस्य डा। मधुसूदन अधिकारीले प्रसारण पूर्वाधार विकासमा निजी क्षेत्रको सहभागिता बढाउन खुला पहुँच निर्देशिका तयार भइसकेको जानकारी दिए। उनले आयात घटाएर स्वदेशी उत्पादन प्रयोग गर्नुपर्ने आवश्यकता औंल्याए।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले हालको अवस्थामा निजी क्षेत्रले उत्पादन र प्रसारण दुवै क्षेत्रमा एकैपटक लगानी गर्न चुनौती रहेको बताए। यद्यपि, जोखिम बाँडफाँट र आम्दानीको सुनिश्चितता भए प्रसारण पूर्वाधार निर्माण तीव्र बनाउन सकिने उनको भनाइ छ।
त्यस्तै, विद्युत् विकास विभागले २०३५ सम्म १७ हजार सर्किट किलोमिटर प्रसारण लाइन विस्तार गर्ने लक्ष्य रहेको जनाएको छ। निजी क्षेत्रका प्रतिनिधिले नेपालमै स्टिल, पोल र टावर उत्पादन गर्ने क्षमता भए पनि भन्सार छुटसहित आयात हुने सामग्रीका कारण प्रतिस्पर्धा गर्न कठिन भएको गुनासो गरे।