काठमाडौं। २०२६ फेब्रुअरी २८ मा इरानमाथि अमेरिका र इजरायलले आक्रमण गरेपछि सुरु भएको मध्यपूर्व संकट अझै हट्ने संकेत देखिएको छैन। यद्यपि केही समय पाकिस्तानको मध्यस्थतामा अमेरिका र इरानबीच वार्ता भएपछि केही समय यद्धविराम भए पनि त्यो टिकाउ हुन सकेन।
विगत ११ दिनदेखि भीषण युद्ध चलिरहेको छ। अमेरिकाले इरानका लक्षित सैन्य ठेगानामा आक्रमण गरिरहँदा खाडी मुलुकमा रहेका अमेरिकी सैनिक अड्डामा इरानले प्रत्याक्रमण गरिरहेको छ।
युद्धले इरानतर्फ ठूलो क्षति भएको छ।अमेरिकी सेनाले बुधबार बिहान ११औं दिनमा पनि इरानमाथि आक्रमण जारी राखेको छ। मध्यपूर्वभरि भएका यी आक्रमणले पाकिस्तानमा भएको अन्तरिम युद्धविराम सम्झौतालाई बचाउने कूटनीतिक प्रयासलाई ओझेल पारेको छ।
नयाँ आक्रमणअघि इरानी गृहमन्त्री एस्कन्दर मोमेनीले कूटनीतिलाई पुनर्जीवित गर्ने प्रयासमा द्वन्द्वको प्रमुख मध्यस्थकर्ता पाकिस्तानको भ्रमण गरेका थिए। मोमेनीले पाकिस्तानका सेना प्रमुख फिल्ड मार्शल असिम मुनिर र प्रधानमन्त्री शेहबाज शरीफसँग भेट गरेका थिए।
तर, विश्व ऊर्जा आपूर्तिको लागि महत्त्वपूर्ण मानिने होर्मुज जलमार्गमाथिको नियन्त्रणलाई लिएर चर्किएको युद्ध अन्त्य गर्ने विषयमा स्पष्टता आइसकेको छैन। मंगलबार ओभल अफिसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्ताबारे अमेरिकालाई कुनै चासो नभएको बताएका थिए।
होर्मुजको जलमार्गबाट वार्ता र ढुवानी धेरै हदसम्म रोकिएपछि दुवै पक्षले लाखौं मानिस भर परेको नागरिक पूर्वाधारलाई लक्षित गरिरहेका छन्। अमेरिकाले हवाई आक्रमण जारी राख्दा इरानले पनि जलमार्गमा एउटा ट्यांकरमाथि आक्रमण गरेको छ।
साथै, तेहरानले बहराइन तथा कुवेतजस्ता अमेरिकी सहयोगी देशविरुद्ध पनि प्रहार गर्दै आएको छ। तनावका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेर ९२ डलर प्रतिब्यारेल माथि पुगेको छ।
अमेरिकाका रक्षा सचिव पिट हेगसेथले इरानसँगको अमेरिकी युद्धमा अहिलेसम्म ३७.५ अर्ब डलर खर्च भइसकेको जानकारी दिएका छन्। उता, इरान युद्धमा ज्यान गुमाउने अमेरिकी सैनिकको संख्या १८ पुगेको छ भने घाइतेको संख्या ५०० नाघेको छ।
लाल सागरमा इरान समर्थित हुथी विद्रोहीले साउदी अरेबियाविरुद्ध नाकाबन्दी घोषणा गरेपछि विश्वव्यापी तेल आपूर्ति र व्यापारको प्रवाह थप जोखिममा परेको छ।एजेन्सी