म्याग्दी। म्याग्दीको धौलागिरि गाउँपालिकाको केन्द्र मुना जोड्ने वैकल्पिक सडक स्तरोन्नति थालिएको छ। गण्डकी प्रदेश सरकार र गाउँपालिकाको लागत साझेदारीमा ताकम–हिलापोखरी–सोलवाङ सडक स्तरोन्नतिका लागि आयोजना सञ्चालन भएको हो। ताकमदेखि हिलापोखरी–सोलवाङ हुँदै जोड्ने यो गाउँपालिकाको केन्द्र रहेको मुना जोड्ने छोटो दूरीको र वैकल्पिक सडक हो।
चालु आर्थिक वर्षमा एक करोड रुपैयाँ बजेट विनियोजन भएको यस आयोजना निर्माणका लागि २०८२ माघ महिनामा सापकोटा विल्डर्ससँग ७४ लाख ८६ हजार ४५२ रुपैयाँमा ठेक्का सम्झौता भएको थियो।
यस वर्ष ताकमदेखि हिलापोखरी खण्डको ८०० मिटर दूरीमा सडकलाई फराकिलो पार्ने, ४५० मिटर नाली, २५० घनमिटर ग्यावियन पर्खाल र चार ठाउँमा खोल्सामा कल्भर्ट निर्माण गर्न लागिएको धौलागिरि गाउँपालिकाका सवइञ्जिनियर लोकेन्द्र रावलले जानकारी दिए।
गत फागुन महिनादेखि आयोजना निर्माणस्थलमा परिचालन भएको निर्माण कम्पनीले हालसम्म ५० प्रतिशतभन्दा बढी भौतिक प्रगति गरेको छ। आगामी असार महिनासम्म ठेक्का सम्झौताको अवधि रहे पनि मजदुर र उपकरण परिचालन गरेर लक्ष्यअघिनै सम्पन्न गर्ने निर्माण कम्पनीका सञ्चालक भीम सापकोटाले बताए।
इन्धन र निर्माण सामग्रीको मूल्य वृद्धि भएको असहज अवस्थामा पनि आयोजना निर्माणलाई निरन्तरता दिएको उनले बताए। ताकमदेखि शिवाङ–मच्छिम– घट्टेखोला हुँदै मुना जोड्ने मुख्य सडक प्रदेश सरकारमार्फत स्तरोन्नतिको क्रममा छ।
ताकमदेखि करिब छ किलोमिटर दूरीको हिलापोखरी हुँदै मुना जोड्ने कच्ची सडकमा २० मिनेटमा यात्रा गर्नुपर्छ भने शिवाङ–मच्छिम हुँदै मुना जोड्ने सडकमा हाल करिब ४० मिनेट लाग्छ। ताकमदेखि हिलापोखरी खण्डमा स्थानीयवासीको अगुवाइमा विसं २०७० मा मार्ग खोलिएको थियो।
हिलापोखरी–सोलवाङ–मुनाखण्डको सडकको मार्ग खोल्ने काम स्थानीय तह कार्यान्वयनमा आएपछि भएको हो। ढोरपाटन र पूर्वी रुकुमसँग जोडिने रणनीतिक महत्वको मुख्य सडक बन्द भएको अवस्थामा र छोटो दूरीमा यात्रा गर्न चाहने हलुका सवारीसाधन तथा हिलापोखरी, सोलवाङका बासिन्दालाई सहज यातायातको व्यवस्था मिलाउन स्तरोन्नतिमा प्राथमिकता दिएको धौलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बताए।