काठमाडौं। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले यातायात सेवा प्रणालीलाई प्रविधिमैत्री, सेवाग्राहीमैत्री र गुनासोरहित बनाउन निर्देशन दिएका छन्।
बागमती प्रदेश सरकारको श्रम, रोजगार तथा यातायात मन्त्रालयद्वारा आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सभाहलमा आयोजित छलफलमा मुख्यमन्त्री बानियाँले सवारी चालक अनुमतिपत्रलगायतका सेवामा नागरिकले दुःख पाइरहेको गुनासो आइरहेकाले गुनासोरहित बनाउन निर्देशन दिएका हुन्।
यातायात सेवा प्रणालीलाई थप व्यवस्थित, पारदर्शी र नागरिकमैत्री बनाउने दिशामा ठोस नीति तथा कार्यान्वयनयोग्य सुधारका उपाय अघि बढाउनुपर्ने बताउँदै उनले नागरिकले प्राप्त गर्ने सेवामा सहजता, पारदर्शिता र विश्वसनीयता कायम गर्नुपर्ने बताए।
सेवामा सरलीकरण, प्रविधिको अधिकतम प्रयोग, भीडभाड नियन्त्रण र बिचौलिया अन्त्यका लागि यातायात व्यवस्था कार्यालयहरूले भूमिका खेल्नुपर्ने उल्लेख गर्दै मुख्यमन्त्री बानियाँले त्यसका लागि आवश्यक ऐन, कानुन निर्माण गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको धारणा व्यक्त गरे।
कार्यक्रममा बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रभातकुमार तामाङ, श्रम, रोजगार तथा यातायातमन्त्री जयराम थापा, बागमती प्रदेश सरकारका प्रमुख सचिव बाबुराम अधिकारीलगायत सहभागी थिए।