काठमाडौं। नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नागरिकको सेवामा खटिनु प्रहरीको मूल दायित्व भएको बताएका छन्।
महानिरीक्षक कार्कीले घरबाट सुरक्षित बाहिरिएको व्यक्ति साँझ पुनः सुरक्षित घर फर्किन सकोस् भन्ने सुनिश्चित गर्न प्रहरी निरन्तर खटिएको बताए। 'हामी नागरिकका सेवक हौँ, नागरिकलाई जुनसुकै बेला आवश्यक पर्ने सहयोग तथा सेवा प्रदान गर्नु हाम्रो दायित्व हो,' उनले भने, 'सोही अनुरुप हामी अहोरात्र खटिरहेका छौँ।'
उनले प्रहरी संगठन नागरिककै सेवामा समर्पित रहेको उल्लेख गर्दै जुनसुकै परिस्थितिमा पनि नागरिकको सुरक्षालाई सर्वोच्च प्राथमिकता दिइने बताए। काठमाडौंको नयाँ बसपार्कस्थित ट्राफिक प्रहरी वृत्तको पुनः निर्मित कार्यालय भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै महानिरीक्षक कार्कीले गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा आगजनी भई क्षति पुगेको उक्त भवन नागरिककै सहयोगमा पुनःनिर्माण गरिएको जानकारी दिए।
उनले आन्दोलनका क्रममा प्रहरीकै बसोबास गर्ने संरचना जलाइएको स्मरण गर्दै त्यसको पुनःनिर्माणमा नागरिकस्तरबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गरे। 'नागरिकको सेवामा खटिँदा घाममा डढेर कालो भएका प्रहरीको बस्ने ठाउँ नै जल्यो, तर पुनः नागरिककै साथले हामीले घर पायौँ,' उनले भने, 'नागरिकले हामीलाई घरदेखि दरबारसम्मको साथ दिएका छन्, योभन्दा ठूलो खुसी अरू केही हुन सक्दैन।'
उक्त कार्यक्रममा प्रहरीका उच्च पदस्थ अधिकारीहरू, स्थानीय जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि, सञ्चारकर्मी तथा स्थानीय समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।