काठमाडौं। सरकारले सीमा नाकामा थालेको पछिल्लो कडाइ र अवैध आयात नियन्त्रणको कदमलाई नेपाल बिस्कुट उत्पादक संघले स्वागत गरेको छ। सरकारको यस निर्णयले धराशायी बन्दै गएको स्वदेशी बिस्कुट उद्योगलाई पुनर्र्जीवन दिने र उत्पादनमुखी अर्थतन्त्रलाई बलियो बनाउने विश्वास व्यक्त गरेको हो।
पछिल्लो समय सीमावर्ती क्षेत्रबाट हुने गरेको अवैध आयातले नेपाली उत्पादनको बजार घटेको कारण चिन्तित रहेका बिस्कुट उद्यमीमा आशा छाएको हो। नेपालमा स्थापना भएका ४० भन्दा बढी बिस्कुट उद्योगमध्ये हाल १७ वटा मात्र सञ्चालनमा छन्। २३ वटा उद्योग बन्द अवस्थामा छन्। वार्षिक १ अर्ब ५ करोड रुपैयाँभन्दा बढीको कारोबार गर्ने यस क्षेत्रमा वार्षिक ६ अर्ब करोड रुपैयाँभन्दा बढीको अवैध आयात हुने गरेको अनुमान छ।
संघले बारम्बार ध्यानाकर्षण गराएको थियो। ‘कच्चा पदार्थ ल्याउँदा कर तिर्नुपर्ने तर तयारी बिस्कुट अवैध रूपमा भित्रिँदा स्वदेशी उद्योग दबाबमा परेको थियो। सरकारको यो कदमले उद्योग, रोजगारी र राजस्व तीनै पक्षलाई सकारात्मक प्रभाव पार्नेछ संघको विश्वास छ।
अवैध आयात पूर्ण रुपमा रोकिएमा उद्योगले हाल सरकारलाई तिर्दै आएको करिब दुई अर्ब रुपैयाँ प्रत्यक्ष कर वृद्धि भई तीन अर्ब रुपैयाँ पुग्ने र थप पाँच हजारभन्दा बढी युवालाई सम्मानजनक रोजगारी सिर्जना गर्न सकिने संघको दाबी छ।
पहिले पनि यस्तै कडाईपछि नेपाली बिस्कुटको माग उल्लेखनीय रुपमा बढेको, बन्द उद्योगहरू पुनः सञ्चालनमा आएका र राज्यकोषमा योगदान बढेको अनुभव उद्योग र सरकार दुवैसँग स्पष्ट छ। त्यसैले यो नीति अस्थायी होइन, दीर्घकालीन र निरन्तर हुनुपर्छ भन्नेमा संघको जोड छ।
‘न्यायपूर्ण व्यापार, करपालन, र घरेलु उत्पादन संरक्षणतर्फ सरकारले देखाएको दृढताका लागि धन्यवाद। यस निर्णयले तराई क्षेत्रको बजार विस्तार, स्थानीय उद्योगको पुनरुत्थान, र राष्ट्रिय अर्थतन्त्रको सबलीकरणमा महत्वपूर्ण टेवा पु¥याउने छ।
यसैगरी, विदेशबाट आयात गरिने सम्पूर्ण वस्तुमा अनिवार्य रूपमा अधिकतम खुद्रा मूल्य उल्लेख हुनुपर्ने र बिक्री गर्दा अनिवार्य बिल जारी गर्ने नियमको पनि संघले स्वागत गरेको छ।
‘पहिले नेपाली उत्पादन‘ भन्ने साझा अभियानलाई बलियो बनाउन अपिल गर्दै संघले उपभोक्ताहरूलाई स्वदेशी बिस्कुट प्रयोग गर्न र व्यापारीहरूलाई नेपाली उत्पादनलाई नै प्राथमिकतामा राख्न अनुरोध गरेको छ।