काठमाडौं। भन्सार विभागले चालू आर्थिक वर्ष २०८२/८३ को ९ महिनामा लक्ष्यको ५५ अर्ब कम राजस्व संकलन गरेको छ। विभागले चालू आवको साउनदेखि चैत्र मसान्तसम्ममा लक्ष्यको १२.८० प्रतिशत कम राजस्व संकलन गरेको हो।
भन्सार विभागका सूचना आधिकारी किशोर बर्तौलाका अनुसार चालू आवमा लक्ष्यको ५४ अर्ब ९७ करोड कम राजस्व संकलन भएको छ। चालू आवको ९ महिनामा ४ खर्ब २९ अर्ब ३० करोड लक्ष्य रहेकामा ३ खर्ब ७४ अर्ब ३३ करोड राजस्व संकलन भएको सूचना अधिकारी बर्तौलाले बताए। यो संकलित राजस्व ८७.२ प्रतिशत हो।
विभागले गत आर्थिक वर्ष २०८१/८२ को सोही महिनामा पनि लक्ष्यअनुसार राजस्व संकलन गर्ने सकेको छैन। गत आवमा ४ खर्ब २६ अर्ब ३६ करोड लक्ष्य रहेकोमा ३ खर्ब ४६ अर्ब ८३ करोड संकलन गरेको छ। यो संकलित राजस्व ८१.३ प्रतिशत हो। गत आवमा लक्ष्यको ७९ अर्ब ५३ करोड कम राजस्व संकलन भएको थियो।
विभागले चालू आवमा मासिक लक्ष्यअनुरूप राजस्व संकलन गर्ने सकेको छैन। साउन महिनामा ४५ अर्ब ७१ करोड लक्ष्य रहेकामा ३७ अर्ब ९ करोड संकलन गरेको छ। यो संकलित राजस्व ८१.१ प्रतिशत हो। भाद्रमा ४८ अर्ब ५० करोड लक्ष्य रहेकोमा ४१ अर्ब ६ करोड संकलन गरेको छ भने यो संकलित राजस्व ८४.७ प्रतिशत हो।
असोजमा ४९ अर्ब ५५ करोड लक्ष्य रहेकामा ४३ अर्ब ९१ करोड संकलन गरेको छ। यो संकलित राजस्व ८८.६ प्रतिशत हो।
यसैगरी कात्तिकमा ५० अर्ब ५२ करोड लक्ष्य रहेकोमा ३६ अर्ब ७० करोड संकलन गरेको छ भने यो संकलित राजस्व ७२.६ प्रतिशत हो। मंसिरमा ४५ अर्ब ४२ करोड लक्ष्य रहेकोमा ४० अर्ब ९१ करोड संकलन गरेको छ। यो संकलित राजस्व ९०.१ प्रतिशत हो।
पुसमा ४६ अर्ब ७० करोड लक्ष्य रहेकोमा ४१ अर्ब ७० करोड संकलन गरेको छ, भने यो संकलित राजस्व ८९.३ प्रतिशत हो। यस्तै, माघमा ४५ अर्ब ७२ करोड लक्ष्य रहेकोमा ४२ अर्ब ९१ करोड संकलन गरेको छ। यो संकलित राजस्व ९३.८ प्रतिशत हो।
फागुनमा ४६ अर्ब ५ करोड लक्ष्य रहेकोमा ४१ अर्ब ३९ करोड संकलन गरेको छ, भने यो संकलित राजस्व ८९.९ प्रतिशत हो। चैतमा ५१ अर्ब १४ करोड लक्ष्य रहेकोमा ४८ अर्ब ६६ करोड संकलन भएको छ। संकलित राजस्व ९५.२ प्रतिशत हो।
सूचना अधिकारी बर्तौलाका अनुसार राष्ट्र« बैंकले लगानी गर्न नसकेको पैसा थुत्ने र ऋण नदिँदा आयात हुन नसक्दा लक्ष्यअनुरूप राजस्व संकलन हुन नसकेको हो। पेट्रोलियम आयातमा १७ रुपैयाँ राजस्व घटाइएकाले गर्दा पनि राजस्व संकलनमा कमी आएको सूचना अधिकारी बर्तौलाको भनाइ छ।
मध्यपूर्व युद्धले पनि अन्तर्राष्ट्रिय असर परेको हुन सक्छ। वाणिज्य बैंकमा बचत पैसा लगानी नहुँदा आयातमा कमी भएपछि आन्तरिक राजस्वमा असर परेको सूचना अधिकारी बर्तौलाले बताए।