काठमाडौं। विश्व प्रसिद्ध बहुराष्ट्रिय ब्राण्ड पेप्सीको आधिकारिक बोटलर्स वरुण बेभरेजले ९ महिनामै पौने ६ अर्ब रुपैयाँ बढीको व्यापार गरेको छ। कम्पनीले चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो ९ महिनामै ५ अर्ब ८७ करोड ९० लाख रुपैयाँको व्यापार गरेको हो। नेपाली बजारमा कार्बोनेटेड सफ्ट ड्रिंक्स (ग्यासयुक्त चिसो पेय पर्दाथ) को माग बढेसँगै कम्पनीको आम्दानी र बजार हिस्सा दुवैमा उल्लेख्य सुधार देखिएको छ।
रेटिङ र व्यापारको अवस्था
रेटिङ एजेन्सी इक्रा नेपालको पछिल्लो साख मूल्यांकन प्रतिवेदनअनुसार वरुण बेभरेजले ३ अर्ब ४७ करोड ३० लाख रुपैयाँको अल्पकालीन कर्जा सीमाका लागि ‘ए वान प्लस’ रेटिङ पाएको छ। यो रेटिङको अर्थ कम्पनीसँग आफ्नो वित्तीय दायित्व र बैंकको ऋण समयमै पुरा गर्ने उच्चतम क्षमता छ भन्ने हो। कम्पनीको बलियो नगद प्रवाह र सुरक्षित वित्तीय अवस्थाका कारण एजेन्सीले यसलाई सर्वोच्च साख प्रदान गरेको हो।
वरुण बेभरेजको पछिल्लो ५ वर्षको वित्तीय विवरणले यसको व्यवसाय निरन्तर विस्तार भइरहेको देखाउँछ।
आर्थिक वर्ष २०७८÷७९ (सन् २०२२) मा ८ अर्ब २ करोड ४० लाख रुपैयाँको कारोबार गरेको कम्पनीले सन् २०२३ मा ७ अर्ब ६२ करोड ७० लाख र २०२४ मा ७ अर्ब ७४ करोड ७० लाख रुपैयाँको व्यापार गरेको थियो। आर्थिक वर्ष २०८१/८२ (सन् २०२५) मा आइपुग्दा कम्पनीले हालसम्मकै उच्च ८ अर्ब ५४ करोड ७० लाख रुपैयाँको कारोबार गर्न सफल भयो। चालू वर्षको ९ महिनामै पौने ६ अर्बको व्यापार गरिसकेकाले यो वर्ष आम्दानीमा नयाँ रेकर्ड कायम हुने निश्चित देखिएको छ। मूल्यका आधारमा नेपाली पेय पदार्थ बजारमा वरुणको हिस्सा करिब ४३ प्रतिशत पुगेको छ।
माउन्टेन ड्यूको एकल वर्चस्व र उत्पादन क्षमता
कम्पनीको आम्दानीमा सबैभन्दा ठुलो योगदान माउन्टेन ड्यूको रहेको छ। कुल व्यापारको ८३ देखि ८६ प्रतिशत हिस्सा माउन्टेन ड्यूले मात्र ओगट्छ। यसका अतिरिक्त पेप्सी, स्लाइस, मिरिण्डा, सेभेन अप, एक्वाफिना, सोडा र स्टिङ जस्ता ब्राण्डहरू उपभोक्तामाझ निकै लोकप्रिय छन्।
कम्पनीका काठमाडौंको पेप्सीकोला र नवलपरासीमा अत्याधुनिक उत्पादन प्लान्टहरू रहेका छन्। नवलपरासी प्लान्टमा सन् २०२३ मा थपिएको नयाँ क्षमताले कम्पनीको उत्पादन र वितरणलाई झनै प्रभावकारी बनाएको छ।
सुदृढ वित्तीय सूचक र ऋण तिर्ने क्षमता
वरुण बेभरेजको वित्तीय स्वास्थ्य अत्यन्तै मजबुत छ। कम्पनीको सञ्चालन मुनाफा सन् २०२४ मा २५.५ प्रतिशत रहेकोमा चालू वर्षको ९ महिनामा बढेर २७.६ प्रतिशत पुगेको छ। ऋण तिर्न सक्ने क्षमता दर्साउने प्रमुख सूचक ‘ब्याज कभरेज रेसियो’ २७ गुणाको उच्च विन्दुमा छ, जसले कम्पनीले बैंकको ब्याज सजिलै तिर्न सक्छ भन्ने पुष्टि गर्छ।
त्यस्तै, कम्पनीको नेटवर्क र ऋणको अनुपात मात्र ०.४ गुणा छ, जुन वित्तीय रूपमा निकै सुरक्षित मानिन्छ। कम्पनीसँग सन् २०२६ को अप्रिल मध्यसम्म २ अर्ब ६० करोड रुपैयाँ नगद मौज्दात रहेको छ, जसले यसको तरलता अवस्था बलियो भएको देखाउँछ।
लगानीकर्ता र प्रबद्र्धक संरचना
वरुण बेभरेज नेपाल भारतको वरुण बेभरेज लिमिटेडको शतप्रतिशत लगानी भएको भगिनी संस्था हो। भारतीय प्रबद्र्धक कम्पनी आफैँमा पेप्सीकोको विश्वकै ठुलो बोटलर्समध्ये एक हो। सन् १९८५ देखि नेपालमा सञ्चालित यस कम्पनीमा अनुभवी बोर्ड र व्यवस्थापन टोली रहेका कारण यसको संस्थागत सुशासन र व्यावसायिक रणनीति सफल देखिएको छ।
कम्पनीले पछिल्ला वर्षहरूमा आर्जित नाफाको ९२ देखि १०२ प्रतिशतसम्म नगद लाभांशका रूपमा वितरण गरेर लगानीकर्तालाई उत्कृष्ट प्रतिफल दिइरहेको छ। यद्यपि, कम्पनीका लागि कच्चा पदार्थ (चिनी र कन्सन्ट्रेट) को मूल्यमा हुने उतारचढाव र डलरको विनिमय दर मुख्य चुनौती हुन्। कम्पनीको लागतको ४० देखि ४३ प्रतिशत हिस्सा कच्चा पदार्थमा खर्च हुन्छ। यद्यपि, सरकारले चिनी आयातमा भन्सार दर घटाएकाले यसले नाफा बढाउन सहयोग पुगेको छ।
आन्तरिक राजस्व विभागसँगको करिब ३ अर्ब ३० करोड रुपैयाँको विवादित कर दायित्वको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन भए तापनि कम्पनीले त्यसको ७३ प्रतिशत रकमका लागि सुरक्षित व्यवस्था गरिसकेको छ, जसले गर्दा अदालतको फैसला आए पनि कम्पनीको वित्तीय स्थिरतामा ठुलो असर नपर्ने देखिएको छ। बलियो ब्राण्ड नेम, विस्तृत डिलर नेटवर्क र उच्च उत्पादन क्षमताका कारण वरुण बेभरेजको व्यावसायिक यात्रा आगामी दिनमा अझै सुखद हुने रेटिङ रिपोर्टको निष्कर्ष छ।