काठमाडौं। सरकारले १०० दिनमा ४० मेगावटको विद्युत उत्पादन र ४०० केभी प्रशारण ७५ दिनभित्र निर्माण गर्ने भएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति, २०८३ मा यस्तो बताइएको हो।
रघुगंगा जलविद्युत आयोजना ४० मेगावाटलाई आगामी आर्थिक वर्ष २०८३/८४ (१०० दिन)भित्रै निर्माण सम्पन्न गरिने भएको छ। यस्तै, हेटौंडा-ढल्केवर-इनरुवा प्रसारण लाइन (हेटौंडा-ढल्केबर खण्ड) ४०० केभीलाई चालू आवको असार मसान्तभित्रै निर्माण सम्पन्न गरेर सञ्चालन गर्न रणनीतिमा समावेश गरिएको मन्त्रालयले जनाएको छ।
रघुगंगाको हालसम्र्म भाैतिक प्रगति ९५ प्रतिशत सम्पन्न भएको छ। वर्षौंदेखि अवरुद्ध हेटौंडा-ढल्केबर प्रसारण लाइनको पश्चिम खण्ड (हेटौंडाको हटिया क्षेत्र) मा टावर राख्ने कार्य अगाडि बढेको छ।
टावर निर्माण हुने क्षेत्रका जग्गाधनीले मुआब्जा स्वीकार गरेपछि एक साताभित्रै सात वटा टावरको जग खन्ने र कङ्क्रिटिङ गर्ने कार्य तीव्र गतिमा अगाडि बढेको छ। सन् २०१२ बाट निर्माण सुरु भएको सो प्रसारण लाइनअन्तर्गत हेटौंडाको हटिया क्षेत्रमा १४ वटा टावर निर्माण हुन नसक्दा वर्षौदेखि अलपत्र परेको थियो।
मन्त्रालयका सूचना अधिकारी राजु महर्जनले सरकारको १०० बुँदे शासकीय सुधार कार्यसूचीअन्तर्गत नै रणनीति बनाएर अगाडि बढेको बताए। रघुंगगा आयोजना निर्माण कार्यको अन्तिम चरण भएकाले अबको १०० दिनभित्रै आयोजना लाई सञ्चालनमा ल्याउने तयारीमा रहेको उनको भनाइ छ।
ढल्केबर प्रसारण लाइनको काम पनि सबै सकिएको बताउँदै उनले केही ठाउँमा अवरोध भएकाले काम रोकिएको भएपनि यो प्रशारण लाइनलाई २/३ महिनाभित्रै सञ्चालन गर्न तयारीमा रहेको जानकारी दिए। अहिलेको हिसाबले निर्माण कार्यमा कुनै पनि रोकावट नआए राणनीतिअन्तर्गत नै आयोजना सञ्चालन गरिने सूचना अधिकारी महर्जनले बताए।