काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी यादवले सेवाग्राहीको गुनासो सुन्न र कार्यान्वयन गर्न छुट्टै इमेल आइडी बनाएकी छन्।
सेवाग्राहीले मन्त्रीसमक्ष सिधै आफ्ना कुरा राख्न चाहे मन्त्रालयको वेबसाइटमा रहेको ‘मन्त्रीलाई आफ्नो कुरा लेख्नुहोस्’ सुविधा प्रयोग गर्न वा मिनिस्टर एटदरेट एमओआईसी.जीओभी.एनपी गरेर आफ्नो गुनासो राख्न सक्ने व्यवस्था गरेकी हुन्।
मन्त्रालय र मातहतका निकायहरूले व्यवसाय दर्ता, स्वदेशी तथा वैदेशिक लगानी आकर्षण, बौद्धिक सम्पत्ति दर्ता तथा संरक्षण, कम्पनी प्रशासन, आयात–निर्यात सहजीकरण, बजार अनुगमन, उपभोक्ता हित संरक्षण, गुणस्तर निर्धारण, नापतौल तथा खानी प्रशासनजस्ता सेवालाई थप प्रभावकारी बनाउँदै लाने प्रतिबद्धतासमेत जनाएकी छिन्।
मन्त्रालयका अनुसार कतिपय सेवाहरू अनलाइनमार्फत प्रवाह भइसकेका छन् भने थप सेवालाई सूचना प्रविधि प्रणालीबीच अन्तरआबद्धता कायम गरी डिजिटल माध्यमबाट उपलब्ध गराउने काम अघि बढाइएको छ। उद्योग विभागमा लगानीकर्ताका लागि स्थापना गरिएको एकल विन्दु सेवा केन्द्रलाई अझ प्रभावकारी बनाउन ‘भर्चुअल एकल बिन्दु सेवा’ विकासको काम समेत सुरु गरिएको छ।
सेवाग्राहीसँगको विश्वास अभिवृद्धि गर्दै सेवा प्रवाहमा सुधार ल्याउने उद्देश्यसहित मन्त्रालयले गुनासो तथा सुझाव संकलनका लागि बहुच्यानल प्रणाली कार्यान्वयनमा ल्याएको जनाएको छ। सम्बन्धित निकायका गुनासो सुनुवाइ संयन्त्रका साथै एचएस कोड, इमेल र निवेदनमार्फत प्राप्त गुनासो सम्बोधन गर्ने व्यवस्था गरिएको छ।