काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ पूर्वअध्यक्ष तथा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल नेतृत्वको नेपाल पल्प एन्ड पेपर इन्डस्ट्रिजको क्रेडिट रेटिङमा सुधार भएको छ। कम्पनीले व्यावसायिक उत्पादन सुरु गरेसँगै र बैंकको ऋण भुक्तानी नियमित बनाएपछि रेटिङ एजेन्सी इक्रा नेपालले यसको साख मूल्यांकन (रेटिङ) मा वृद्धि (अपग्रेड) गरेको हो।
इक्रा नेपालले कम्पनीको १ अर्ब ९९ करोड ७० लाख (करिब २ अर्ब) रुपैयाँ बराबरको बैंक ऋणका लागि रेटिङ स्तर बढाएको छ। कम्पनीको १ अर्ब ५६ करोड १० लाखको दीर्घकालीन ऋणका लागि एलबी प्लस रेटिङ प्रदान गरिएको छ, जुन यसअघि एलबी माइनस रहेको थियो। त्यस्तै, ४३ करोड ६० लाखको अल्पकालीन ऋणका लागि ए–फोर रेटिङलाई पुनः पुष्टि गरिएको छ।
यसअघि बैंकको सावाँ–ब्याज भुक्तानीमा केही ढिलाइ (३० दिनसम्म) हुने गरेकोमा पछिल्लो एक वर्षदेखि कम्पनीले समयमै ऋण भुक्तानी गरिरहेको छ। इक्राले रेटिङ अपग्रेड हुनुको कारण यसैलाई देखाएको छ। साथै, कम्पनीले सन् २०२५ को मध्य जुलाईदेखि लेखन तथा छपाइ (पिन्टिङ) कागजको व्यावसायिक उत्पादन सुरु गरिसकेको छ।
सन् २०२५ को अप्रिलदेखि सुरु भएको परीक्षण उत्पादनको साढे ३ महिनामै कम्पनीले ५० प्रतिशत क्षमता उपयोग गर्दै ३० करोड २० लाख रुपैयाँको व्यापार गरेको छ। व्यावसायिक उत्पादन सुरु भएपछि कम्पनीको नगद प्रवाहमा सुधार आउने अपेक्षाका साथ रेटिङ बढाइएको हो।
नेपाल पल्प एन्ड पेपरमा नेपालका दुई ठूला व्यावसायिक घराना आईएमई ग्रुप र एभरेष्ट ग्रुपको संयुक्त लगानी छ। एभरेष्ट ग्रुपसँग कागज उद्योग, तार÷मेटल र औषधि क्षेत्रमा ३० वर्षभन्दा लामो अनुभव छ भने आईएमई ग्रुपको बैंकिङ, रेमिट्यान्स र ऊर्जा क्षेत्रमा बलियो उपस्थिति छ। अनुभवी प्रवद्र्धक र प्रतिष्ठित समूहको आबद्धताले कम्पनीको व्यावसायिक भविष्य सुरक्षित रहेको बिश्लेषण रिपोर्टमा गरिएको छ।
कम्पनीको सेयरधनी संरचनामा ’वान क्यापिटल होल्डिङ्स’ को ३६ प्रतिशत, सुलोचना देवी सर्राफको २० प्रतिशत, होमनाथ ज्ञवालीको १६ प्रतिशत र सुनिल गोपाल श्रेष्ठको १५ प्रतिशत स्वामित्व छ। चन्द्रप्रसाद ढकाल कम्पनीको अध्यक्ष हुन्।
कागज उद्योगको निर्माण कार्यमा ढिलाइ हुँदा यसको लागत सुरुको अनुमानभन्दा ५६ प्रतिशतले बढेको छ। १ अर्ब ४० करोडको प्रारम्भिक अनुमान रहेको यो आयोजना सम्पन्न हुँदा २ अर्ब २० करोड रुपैयाँ खर्च भएको छ। परियोजनामा ऋणको हिस्सा ८० प्रतिशत छ, जसले गर्दा कम्पनीको पुँजीगत संरचना दबाबमा देखिन्छ।
सन् २०२५ को मध्य जुलाईसम्म कम्पनीको कुल ऋण र नेटवर्थको अनुपात ४.३ गुणा रहेको छ। सुरुवाती वर्षहरूमा ऋणको किस्ता र ब्याज तिर्न कम्पनीलाई केही चुनौती हुन सक्ने भए पनि प्रवद्र्धकहरूको बलियो साथले गर्दा वित्तीय संकट नपर्ने विश्वास गरिएको छ।
नवलपरासीमा रहेको यस उद्योगको वार्षिक उत्पादन क्षमता २१ हजार मेट्रिक टन रहेको छ। नेपालमा आयात हुने विभिन्न ब्रान्डेड कागजहरूसँग यसले प्रतिस्पर्धा गर्नुपर्नेछ। सरकारले छपाइ कागजको आयात महसुल २० प्रतिशतबाट घटाएर १५ प्रतिशतमा झारेका कारण आयातित कागजसँगको प्रतिस्पर्धा थप चुनौतीपूर्ण बनेको छ।
यद्यपि, कम्पनीले विभिन्न बैंक, अस्पताल र सरकारी निकायहरूसँग सम्झौता गरी बजार विस्तार गर्ने लक्ष्य राखेको छ। स्वदेशी कच्चा पदार्थ र रिसाइकल पेपरको प्रयोग गरी उत्पादन बढाउन सके उद्योगले नेपालको कागज आयातलाई प्रतिस्थापन गर्न महत्वपूर्ण भूमिका खेल्ने देखिएको छ।