काठमाडौं। नेपाल उद्योग परिसंघ (सीएनआई)ले कोसी प्रदेश सरकार, विराटनगर महानगरपालिका, उद्योग विभागसँगको सहकार्यमा वैशाख २१ मा विराटनगरमा आयोजना गर्न लागेको राष्ट्रिय स्तरको ‘वमन लिडरसिप समिट २०२६’ तयारी पूरा भएको छ। सम्मेलन आयोजनाको संयोजना सीएनआई वमन लिडरसिप फोरमले गरेको हो ।
परिसंघमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष वीरेन्द्रराज पाण्डेले सम्मेलन दिगो समृद्धितर्फः कृषि, सीप, सिर्जनशीलता र डिजिटल नवप्रवर्तनमा केन्द्रित रहने बताए। सम्मेलनमा महिला नेतृत्व विकास क्षमता अभिवृद्धि, स्थानीय कृषि, सीप, नवप्रबर्तन तथा उद्यमशीलता प्रबद्र्धन तथा वर्तमान एवं सफल व्यवसायिक उदाहरणमा केन्द्रित तथा उद्यमीबाट उत्पादित स्वदेशी वस्तुहरुको प्रदर्शन गरिनेछ।
सम्मेलनको आकर्षणमा महिला उद्यमीका प्रेरणादायी सफलता कथा प्रस्तुति, फोनपेसहित डिजिटल नवप्रवर्तनसम्बन्धी छलफल, स्वदेशी वस्तुहरुको प्रर्दशनी, उद्यमी, नीति निर्माता, निजी क्षेत्रका प्रतिनिधि तथा विकास साझेदारबीच नेटवर्किङ रहेको सीएनआई वमन लिडरसिप फोरमका सभापति विदूषी राणाले बताइन्।
सम्मेलनको मुख्य वक्ता गोल्यान गु्रपका संस्थापक अध्यक्ष पवन गोल्यान र सविना काफ्ले रहनेछन्। सम्मेलनले महिला उद्यमीहरू, नीति निर्माता, विकास साझेदार, वित्तीय संस्था तथा उद्योगी व्यवसायीलाई एकै ठाउँमा ल्याई समावेशी आर्थिक वृद्धि र दिगो समृद्धिको मार्ग तय गर्ने विश्वास परिसंघको छ।
सम्मेलन प्रायोजकमा नबिल बैंक, आईएलओ, बोटलर्स नेपाल (कोका–कोला), लक्ष्मी बैंक, फोनपे, कुमारी बैंक र नोबेल मेडिकल कलेज रहेका छन्।
परिसंघले निजी क्षेत्रको उत्पादनमूलक एवं सेवामूलक प्रतिनिधिमूलक संस्थाको रूपमा नेपालमा औद्योगिक वातावरण निर्माण, नवप्रवर्तन प्रवर्द्धन, रोजगारी सिर्जना एवं समग्र आर्थिक विकासका लागि सरकारसँगको सहकार्यमा आफ्ना गतिविधि अघि बढाउँदै आएको छ।
परिसंघले उद्योग, राजश्व, पूर्वाधार, पर्यटन, महिला नेतृत्व फोरमलगायत समिति÷परिषद्÷फोरम गठन गरी तत्तत् क्षेत्रका लागि विभिन्न गतिविधि एवं नीतिगत सुझाव दिदै आउनुका साथै सरोकारवाला अन्य संघ संस्थासँग सहकार्य, समन्वय गर्दै अर्थतन्त्रसँग सम्बन्धित विभिन्न क्षेत्रमा काम गर्दै आएको जनाएको छ।