म्याग्दी। १३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन आयोजना निर्माण थालिएको छ। धवलागिरि र मालिका गाउँपालिका भएर बग्ने म्याग्दी नदीमा निर्माणाधीन तीन वटा जलविद्युत् आयोजनाले उत्पादन गर्ने विद्युतलाई राष्ट्रिय प्रणालीमा जोड्न संयुक्त रुपमा ‘डबल’ र ‘मल्टी’ सर्किट प्रसारण लाइन बनाउन सुरु गरिएको हो।
धवलागिरि गाउँपालिका–४ जेल्तुङदेखि वडा–३ र ७ हुुँदै मालिका गाउँपालिका–७ मा रहेको नेपाल विद्युत् प्राधिकरणको डाँडाखेत सबस्टेसन जोड्ने १६ दशमलव ४८ किलोमिटर लामो प्रसारण लाइन निर्माण हुन लागेको हो।
आयोजनाबाट तीन वटा आयोजनाबाट उत्पादन हुने १६४ दशमलव ७५ मेगावाट विद्युत् राष्ट्रिय प्रसारणमा जोडिने माथिल्लो म्याग्दी जलविद्युत् आयोजनाको प्रवर्द्धक कम्पनी हाइड्रो इम्पायर सञ्चालक पूर्णबहादुर पुनले बताए।
कुल ६५ मेगावाट क्षमताको म्याग्दीखोला, ४६.२५ मेगावाट क्षमताको माथिल्लो म्याग्दी र ५३.५ मेगावाट क्षमताको अपर म्याग्दी जलविद्युुत् आयोजनाले साझेदारी गरेर बनाउन लागेको आयोजनाको ५७ वटा टावर निर्माण हुुनेछन्। कुल ४२ करोड ६२ लाख लागत अनुुमान गरिएको आयोजना निर्माणका लागि आठ दशमलव ४० हेक्टर निजी र २१ दशमलब ९९ हेक्टर राष्ट्रिय वनको जग्गा प्रयोग हुनेछ।
सार्वजनिक वन प्रयोग गरेबापत सरकारलाई जग्गा सट्टाभर्ना गरिने, टावर रहने निजी जग्गा खरिद तथा प्रसारण लाइनको क्षेत्राधिकारमा पर्ने जग्गाधनीलाई क्षतिपूर्ति उपलब्ध गराइने आयोजनाले जनाएको छ। आयोजना निर्माणका क्रममा हुुन सक्ने वातावरणीय प्रभाव न्यूनीकरणका लागि ४१ लाख ७५ हजार र सामाजिक सहयोग कार्यक्रमका लागि २१ लाख ३१ हजार रकम प्रस्ताव गरिएको छ।
प्रभावित क्षेत्रका बासिन्दाको सुुझाव समेटेर वातावरणीय परीक्षण प्रतिवेदन पारित भएपछि निर्माण सुरु हुने प्रसारण लाइन आयोजना आठ महिनामा सम्पन्न गरिने म्याग्दीखोला जलविद्युत् आयोजनाका प्रमुख उत्तम पौडेलले बताए।
२०८१ असोज ६ गते सर्वेक्षण अनुुमति प्राप्त भएको म्याग्दी कोरिडोर प्रसारण लाइन आयोजनाको प्रारम्भिक वातावरणीय परीक्षणको कार्यसूची ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयबाट २०८१ साल चैत १२ गते स्वीकृत भएको थियो।–रासस