काठमाडौं। सरकार गठन भएको एक महिना बीचमा धेरै उद्योगी व्यवसायी पक्राउ परेपछि यतिबेला निजी क्षेत्र त्रासमा छ। पहिला सुन्ने अनि मात्र थुन्ने आश्वासन अर्थमन्त्री डा. स्वर्णिम वाग्लेबाट सुरुमै पाएर निर्धक्क भएका उद्योगी व्यवसायी एकपछि अर्को गरी पक्राउ पर्न थालेपछि चिन्तित भएका हुन्।
मुलुकमा करिब दुई तिहाइको स्थिर सरकार बनेपछि उत्साहित बनेको निजी क्षेत्र सरकारको एक महिनाको गतिविधिपछि त्रासमा परेको छ। त्रासमा परेको उद्योगी व्यवसायीको मनोबल उकास्न भन्दै आइतबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सभापति रवि लामिछानेले निजी क्षेत्रका प्रनितिधिरुबीच छलफल गर्न लागेका हुन्।
लामिछानेले ललितपुरको ग्वार्खोमा रहेको पाँचतारे रोयल टुलिपमा बिहान १० बजेबाट निजी क्षेत्रका प्रतिनिधिहरुसँग वर्तमान आर्थिक अवस्था र व्यवसासिक वातावरणका विषयमा छलफल गर्ने भएका हुन्।
सरकारले एक महिनाको बीचमा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छा, शंकर ग्रुपका अध्यक्ष शंकर गोल्याण, शंकर ग्रुपका उपाध्यक्ष सुलभ अग्रवाल, व्यवसायी दीपक भट्ट, निर्माण व्यवसायी विक्रम पाण्डेलगायतलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ।
पाँच वर्षको बीचमा १२ लाखलाई रोजगारी सिर्जना गर्ने, व्यक्तिगत आय ३ हजार अमेरिकी डलर पुर्याउने रास्वपाको वाचापत्रमा महत्त्वाकांक्षी योजना परिरहेका बेला पार्टीको सरकारले भने निजी क्षेत्रलाई धमाधम पक्राउ गर्न थालेपछि व्यवसायी निरास हुन थालेका हुन्।
एकपक्षीय रुपमा व्यवसायीलाई मात्र धरपकड गरेको, सरकारी कर्मचारीलाई उन्मुक्ति दिएको भन्दै निजी क्षेत्रले सरकारसँग सुरक्षा ग्यारेन्टी मागिरहेको बेला रास्वपा सभापति लामिछानेले गर्न लागेको छलफललाई महत्त्वका साथ हेरिएको छ।
शुक्रबार मात्र अर्थमन्त्री वाग्लेले नेपाल आर्थिक पत्रकार समाज(सेजन)ले आयोजना गरेको कार्यक्रममा भर्चुअलमार्फत आफ्नो भनाइ राख्दै गल्ती नगरेका व्यवसायीलाई धरपकड नगर्ने आश्वासन दिएका थिए। निजी क्षेत्रबिना मुलुकको विकास असम्भव रहेको बताउँदै त्रसित नहुन उनले आग्रह गरेका थिए।
सरकारले एक महिनाको बीचमा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छा, शंकर ग्रुपका अध्यक्ष शंकर गोल्याण, शंकर ग्रुपका उपाध्यक्ष सुलभ अग्रवाल, व्यवसायी दीपक भट्ट, निर्माण व्यवसायी विक्रम पाण्डेलगायतलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ।
अर्थमन्त्रीको आश्वासनबाट पनि निर्धक्क नभएका उद्योगी व्यवसायीलाई रास्वपा सभापतिले नै छलफलमा बोलाएपछि भने केही आशावादी भएको बताउँछन्। ‘‘सभापतिले छलफलका लागि बोलाउनु नै सकरात्मक वातावरणको पहिलो सन्देश हो’, एक उद्योगीले भने, ‘निजी क्षेत्रको कुरा सुनेर प्रधानमन्त्रीसँग कुरा गर्नुहुनेछ भन्ने आशा लिएका छौं।’
सरकारले एकपछि अर्को निजी क्षेत्रका व्यक्तिलाई पक्राउ गर्न थालेपछि अहिले केही उद्योगी व्यवसायी विदेशमा पलायन हुने तयारीसमेत गरिरहेका छन्।
धितोपत्र बोर्डले तयार पारेको प्रतिवेदनमा जावलाखेल ग्रुपका प्रबन्ध निर्देशक राजबहादुर शाह, व्यवसायी ऋषिराज मोर र सन्दीप चाचान कसुरका आरोपित तथा रमेश कर्पका उपाध्यक्ष रोहित गुप्ता सहयोगीका रूपमा देखिएको उल्लेख छ।
यीमध्ये शाह, रोहित गुप्ता, अमित मोर र ऋषिराज मोरलगायत व्यवसायी पक्राउको डरले नेपाल छाडेर विदेश पुगिसकेको बताइन्छ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका अनुसार हालसम्म सुलभ र दीपकसहित सीआईबीको नियन्त्रणमा रहेका गोल्छालगायत २५ जनाभन्दा बढीसँग बयान लिइसकिएको छ। विभागले धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठसँग पनि बयान लिइसकेको छ, जसले गत साता पदबाट राजीनामा दिए।
प्रधानमन्त्री कार्यालयका स्रोतका अनुसार यो धरपकड यहीँ सकिने अवस्था छैन। हुन्डी र क्रिप्टो कारोबारमा संलग्न थप व्यवसायीमाथि सरकारको नजर परिसकेको छ। अनुसन्धान निकायले प्रमाण जुटाउने काम तीव्र गतिमा अघि बढाइरहेका छन्।
व्यवसायीमाथि लगातार धरपकड हुँदा एकातिर जनमानसमा सरकारले वाहवाही पाइरहेको छ भने अर्कातिर निजी क्षेत्रमा त्रास र अनिश्चितताको वातावरण पैदा भएको छ। उद्योग व्यवसायीले कानुनी प्रक्रियाको सट्टा राजनीतिक प्रतिशोधको आशंका पनि गर्न थालेका छन्।