काठमाडौं। सुनसरीको सोनापुरमा गलैंचा उत्पादन गर्दै आएको हनुमन्ता रग्सको वित्तीय स्थिति ऋणात्मक रहेको छ। उद्योगमा भएको आगलागी र त्यसपछिको कमजोर व्यवस्थापनका कारण कम्पनी ऋणात्मक हुन पुगेको हो।
क्रेडिट रेटिङ एजेन्सी केयर रेटिङ नेपालको पछिल्लो प्रतिवेदनअनुसार कम्पनीको ऋणको भार यसको आफ्नो पुँजीभन्दा १० गुणा बढी पुगेको हो।
कम्पनीको नाजुक अवस्थालाई चित्रण गर्दै केयर रेटिङले यसको ५१ करोड ९० लाख रुपैयाँ बराबरको बैंक ऋणका लागि प्रदान गरेको सिंगल बीरेटिङलाई यथावत् राखेको छ। यो रेटिङले कम्पनीले बैंकको ऋण र ब्याज समयमै भुक्तानी गर्न सक्ने क्षमतामा उच्च जोखिम रहेको पुष्टि गर्दछ ।
रिपोर्टअनुसार रहनुमन्ता रग्सको पुँजीगत संरचना निकै असन्तुलित बनेको छ। आर्थिक वर्ष २०८२ सम्म कम्पनीको ओभरअल गियरिङ रेसियो (ऋण र स्वपुँजीको अनुपात) १०.०२ गुणा पुगेको छ।
अघिल्लो वर्ष यस्तो अनुपात ५.३१ गुणा मात्र थियो। प्राविधिक रूपमा यसको अर्थ कम्पनीमा सेयरधनीको १ रुपैयाँ लगानी हुँदा बैंकको ऋण १० रुपैयाँ २ पैसा पुगिसकेको छ ।
व्यापार घटेर नगद प्रवाह ठप्प भएपछि दैनिक कार्य सञ्चालनका लागि थप बैंक ऋण चलाउनुपरेकाले ऋणको भार यसरी अस्वाभाविक रूपमा बढेको हो।

कर्जा जोखिम पक्ष कम्पनीको ब्याज तिर्ने क्षमतामा देखिएको छ। सन् २०२५ मा कम्पनीको इन्ट्रेस्ट कभरेज रेसियो झरेर ०.४७ गुणामा सीमित भएको छ। कम्पनीले १ रुपैयाँ ब्याज तिर्नुपर्ने ठाउँमा आफ्नो व्यवसायबाट केवल ४७ पैसा मात्र कमाइरहेको छ।
कम्पनीको सञ्चालन नाफा आर्थिक वर्ष २०२४ मा ४ करोड ७० लाख रुपैयाँ रहेकोमा २०२५ मा घटेर २ करोड ३० लाखमा खुम्चिएको छ। सावाँ र ब्याज भुक्तानीका लागि उद्योगको कमाइ अपर्याप्त भएपछि कम्पनीले बैंकको दायित्व पूरा गर्न थप ऋण लिनुपर्ने वा अन्य स्रोत खोज्नुपर्ने बाध्यता छ।
कसरी डुब्यो हनुमन्ताको व्यापार ?
हनुमन्ता रग्स आर्थिक वर्ष २०८१ मा उद्योगमा लागेको आगलागीबाट सुरु भएको हो। आगलागीका कारण गोदाममा रहेका तयारी गलैंचा र कच्चा पदार्थ पूर्ण रूपमा नष्ट भए।
आगलागीकै प्रभावले आर्थिक वर्ष २०२४ मा १७ करोड ४० लाख रुपैयाँ रहेको व्यापार २०२५ मा ३३ प्रतिशतले घटेर ११ करोड ६० लाखमा झर्याे। साथै, व्यापार घटेपछि कम्पनीको नगद नोक्सानी ७० लाखबाट बढेर २ करोड ५० लाख पुगेको छ ।
कम्पनीको कार्यशील पुँजी व्यवस्थापन निकै कमजोर छ। उद्योगको अपरेटिङ साइकल १ हजार १५ दिनको छ। रिपोर्ट अनुसार कम्पनीले कच्चा पदार्थ किनेर गलैंचा बुनेर गोदाममा राख्दा मात्रै १ हजार २६ दिन (झण्डै ३ वर्ष) लाग्ने गरेको छ। यसरी पैसा मौज्दातमा लामो समय थुप्रिँदा कम्पनीले बैंकको ब्याज मात्र तिरिरहनुपरेको छ भने बजारबाट पैसा उठ्न पनि औषत २५५ दिन लाग्ने गरेको छ।
हनुमन्ता रग्सलाई अनुभवी प्रवर्द्धकले नेतृत्व गरिरहेका छन्। कम्पनीको सञ्चालक समितिमा ४ जना सदस्य छन्, जसको अध्यक्षता मनिष अग्रवालले गरिरहेका छन्। उनीसँग औद्योगिक उत्पादन र व्यापारमा १३ वर्षभन्दा लामो अनुभव छ। अर्का निर्देशक अनिलकुमार अग्रवाल गलैँचा व्यापारमा एक दशकभन्दा बढी समयदेखि सक्रिय छन्। यो कम्पनी हनुमन्ता ग्रुप अफ इन्डस्ट्रिजको एउटा हिस्सा हो।
हनुमन्ता रग्सको अनुभवी प्रवर्द्धक र भारततर्फको निर्यात सुरु हुनु सकारात्मक पक्ष भए पनि १० गुणा बढी ऋणको भार र कमाइले ब्याज समेत तिर्न नसक्ने अवस्था रहेको रिपोर्टमा उल्लेख छ।