काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले अत्यधिक नियमनले लगानी वातावरण बिग्रिएकाले अहिलेको सरकारसँग सुधार गर्ने अवसर रहेको बताएका छन्। सोमबार नेपालका उद्यमी व्यवसायीको पुरानो संस्था उद्योग वाणिज्य महासंघको ६०औं साधारणसभालाई सम्बोधन गर्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन्।

सरकारका सबै निकायहरुको मुख्य उद्देश्य लगानी वातावरण बनाउने नै हुनुपर्नेमा उनले जोड दिए। ‘अहिलेको हाम्रो चासो नागरिकको सहज जीवनयापन हो। मुलुकको विकासका लागि सबैले आय आर्जनका अवसर पाउनु पहिलो सर्त हो’, अध्यक्ष ढकालले भने, ‘कमाउनका लागि पैसा, बुद्धि, विवेक सीपको लगानी गर्नुपर्यो। त्योभन्दा पनि पहिले पैसाको लगानी हुनु आवश्यक छ, जसले पछि उत्पादन गर्दा श्रम र सीपको माग गर्नेछ।’
ढकालले पैसा लगानी गर्ने मुख्य दुई निकाय सरकार र निजी क्षेत्र रहेको बताउँदै सरकारले लगानीका लागि पैसा मुख्यतया राजस्वबाटै ल्याउने र राजस्व उद्यमी व्यवसायी र नागरिकबाट उठ्ने धारणा राखे।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेटलाई सुधारको प्रस्थानबिन्दुका रुपमा ल्याउनुपर्ने धारणा उनले व्यक्त गरे।‘हामी धेरै गर्न सक्छौं। अब निजी क्षेत्रले आर्थिक सुधारको नेतृत्व गर्नुपर्छ जस्तो मलाई लागेको छ। मैले गत वर्ष पनि भनेको थिएँ, स्रोतका लागि सरकारको मुख ताक्ने काम कम गर्नुपर्छ। हामीले योजना ल्याआैं आफैँ मिलेर कसरी काम गर्न सक्छौं? त्यसमा छलफल गरौं। स्थानीय र प्रदेश सरकारसँग सहकार्यका अवसर खोजौं।’
दातृ निकायको उपस्थिति पनि पहिलेजस्तो नरहेको उनको भनाइ छ। निजी क्षेत्रको सम्मान समृद्धिको आधार नारालाई सबैतिर विस्तार गर्नुपर्ने र उद्यमी, व्यवसायी उपभोक्ता एवं सरोकारवालाप्रति सचेत र जिम्मेवार हुनुपर्नेमा उनले जोड दिए।
‘म महासंघका सदस्यलाई पनि आग्रह गर्न चाहन्छु, नयाँ चरणको सुधारका लागि सबै तह र तप्काबाट प्रयास गरौं। आवश्यक सहयोग महासंघले गर्नेछ। म प्रतिकूलतामा अनुकूलता खोज्ने व्यक्ति हुँ। मेरो व्यवसायिक जीवनमा पनि अनेक चुनौतीका चाङबाटै अवसर पहिल्याएर अघि बढ्दै यहाँसम्म आएको हुँ। त्यसैले म निराशा हैन, आशा छर्न चाहन्छु। हिजोका दिनमा निजी क्षेत्रका अनेक मुद्दामा व्यवसायीकै साथमा रहें। अझै पनि रहनेछु’, ढकालले भने।

कोरोना महामारीले अर्थतन्त्रलाई नराम्ररी थला पारेको र त्यतिबेला आफैं बिरामी परेको प्रसंग अध्यक्ष ढकालले उठाए। ‘त्यतिबेला म आफैँ पनि बिरामी थिएँ। तर, कालो अँध्यारो रातपछि सुनौलो बिहानी आउँछ भनेरै मास्क लगाएरै कर्मक्षेत्रमा जुट्न देशका सबै व्यवसायीलाई प्रेरित गरें। एक दशकअघि भूकम्पले थला पारेको व्यवसाय क्षेत्रलाई उठाउन पनि त्यति सहज थिएन। हामीले धुलो टक्टकाउँदै उठ्ने प्रण गर्यौँ र उठ्यौँ पनि’, उनले भने।