काठमाडौं। उद्यमी, व्यवसायीको सबभन्दा ठूलो संस्था नेपाल उद्योग वाणिज्य महासंघको ६०औं वार्षिक साधारणसभाअन्तर्गत आज नेतृत्व छनोटका लागि निर्वाचन हुँदै छ। सोमबार ललितपुरमा महासंघको साधारणसभा सुरु भएको थियो भने आज नेतृत्व छान्न नयाँ कार्यसमितिको निर्वाचन हुन लागेको हो।
महासंघमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान हुँदा संशोधित विधानअनुसार अध्यक्ष र वरिष्ठ उपाध्यक्षमा प्रत्यक्ष मतदान हुने छैन। वरिष्ठ उपाध्यक्ष निर्वाचित कार्यसमितिबाट चयन गरिने हुँदा आज उपाध्यक्ष र कार्यसमिति सदस्यमा मात्र निर्वाचन हुनेछ।
यसपटक वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले भावी अध्यक्षका रूपमा महासंघको नेतृत्व गर्नेछन्। बाँकी ४ उपाध्यक्षसहित ७३ पदका लागि निर्वाचन हुनेछ।

नेपाल प्रज्ञा प्रतिष्ठानमा महासंघको ७३ पदाधिकारीका लागि १३७ व्यवसायीबीच निर्वाचन हुँदै छ। महासंघमा जिल्ला/नगर, वस्तुगत र एसोसिएट समूहका विभिन्न पदमा प्रतिस्पर्धा हुनेछ भने वरिष्ठ उपाध्यक्ष, महिला उपाध्यक्ष र कोषाध्यक्षको निर्वाचन छुट्टै गरिनेछ।
उच्च अदालत पाटनको अन्तरिम आदेशका कारण चैत २९–३० मा तय भएको कार्यक्रम स्थगित भएपछि साधारणसभाका लागि नयाँ मिति वैशाख २१ मा जुराइएको थियो।
महासंघको नयाँ नेतृत्वका लागि मुख्य दुई समूहबीच प्रतिस्पर्धा हुँदै छ। महासंघको आगामी नेतृत्वका लागि भावी अध्यक्ष श्रेष्ठ र र उपाध्यक्ष हेमराज ढकाल नेतृत्वको समूह प्रतिस्पर्धामा छन्।
महासंघको नयाँ नेतृत्व छनोट गर्न आज बिहान ८ बजेदेखि नेपाल प्रज्ञा प्रतिष्ठानमा निर्वाचन तयारी सुरु गरिँदै छ। महासंघको निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत लीलामणि पौडेल र निर्वाचन अधिकृत सुमन निरौला तोकिएका छन्।