काभ्रे।बीपी राजमार्गअन्तर्गत रोशी गाउँपालिका–७ स्थित लास्कोट र घुमाउनेको बीचमा रोकिएका यात्रुको राती उद्धार गरिएको छ।नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले पाँच माइक्रोबसका ८९ यात्रुलाई गए राती नै सकुशल उद्धार गरी गन्तव्यतर्फ पठाएका हो।
सोमबारको वर्षाका कारण रोशी खोलामा पानीको बहाव बढेपछि काठमाडौँतर्फ आउँदै गरेका ती गाडी रोकिएको जनाइएको छ। सुरक्षा निकायको तदारुकता तथा मिहिनेतका कारण रोकिएका यात्रुलाई रातको समय सकुशल उद्धार गर्न सकिएको काभे्र प्रहरी प्रमुख प्रहरी उपरीक्षक कोमल शाहले बताए। उद्धारका लागि प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीलगायत सुरक्षा निकायका प्रमुखसमेत स्थलगत खटिएका थिए।
वर्षपछिको बाढीले रोशी क्षेत्रमा विपी राजमार्गमा बनाइएको अस्थायी डाइभर्सन बगाउन थालेपछि सुरक्षा निकायले सोमबार साँझ ५ बजेदेखि उक्त क्षेत्रमा आवागमन बन्द गराएको थियो। राजमार्ग अवरुद्ध भएपछि सवारीसाधनलाई राजमार्गको प्रवेशमार्ग धुलिखेल तथा काभ्रेभन्ज्याङ र मंगलटार तथा सिन्धुलीको नेपालथोकमा ‘होल्ड’ गराइएको जिल्ला ट्राफिक कार्यालय बनेपाले जनाएको छ।
सम्भावित जोखिमलाई लक्षित गर्दै नेपाल प्रहरी तथा ट्राफिक प्रहरीबाट खटिएको प्रहरी टोलीले सुरक्षित स्थानमा रोक्दारोक्दै लापर्वाहीपूर्ण तरिकाले यात्रुको जिउधनलाई बेवास्ता गरेको जनाउँदै प्रहरीले सवारी चलाउने ती माइक्रोबसका चालकलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय धुलिखेलको हिरासतमा राखी अनुसन्धान भइरहेको जनाइएको छ।
दिउँसोको वर्षाका कारण बीपी राजमार्गको जोखिमलाई दृष्टिगत गर्दै सुरक्षा निकायले सोमबार साँझदेखि आवागमन बन्द गराइएको थियो।
जिल्ला प्रहरी कार्यालय धुलिखेलले उक्त राजमार्गअन्तर्गत काभे्रपलाञ्चोकको नमोबुद्ध नगरको कटुञ्जेस्थित चौकीडाँडादेखि सिन्धुलीको नेपालथोकसम्म सडक खण्डमा आवागमन बन्द गराइएको हो।
प्रहरीले राजमार्गको अवस्था बुझेर मात्रै यात्रा गर्न सर्वसाधारणलाई अनुरोध गरिएको छ भने अर्को सूचना जारी नभएसम्म उक्त खण्डमा यात्रा नगर्न सडक यात्रुलाई अपिलसमेत गरिएको छ।
बेमौसमी वर्षाका कारण पटकपटक रोशी खोलाको बाढीले विपी राजमार्गअन्तर्गत काभे्रपलाञ्चोकको नमोबुद्ध नगरपालिकाको चौकीडाँडादेखि सिन्धुलीको नेपालथोकसम्मको विभिन्न स्थानमा अस्थायी डाइभर्सन बगाउँदा सडक अवरुद्ध हुँदै आएको थियो।
गत वर्षको बाढीपहिरोले रागमार्गको चौकीडाँडा, रोशी तथा सिन्धुलीको नेपालथोक क्षेत्रमा १८ किमि सडक बगाएपछि खोलामै डाइभर्सन निर्माण गरी आवागमन भइरहेको थियो। हाल उक्त क्षेत्रमा स्थायी सडक निर्माण भइरहेको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ।–रासस