काठमाडौं। कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरण मन्त्री गीता चौधरीले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको भूमिकालाई अत्यन्त महत्त्वपूर्ण भन्दै विभागलाई सेवा प्रवाहमा सुधार, पारदर्शिता र प्रभावकारिता बढाउन निर्देशन दिएकी छन्। शुक्रबार मन्त्री चौधरीले विभागको अनुगमनका क्रममा देशका प्रत्येक नागरिकले उपभोग गर्ने खाद्य तथा दाना पदार्थको स्वच्छता र गुणस्तर सुनिश्चित गर्दै मानव स्वास्थ्य संरक्षणमा विभागको भूमिका निर्णायक रहेको बताएकी हुन्।
साथै खाद्य प्रविधिको विकासमार्फत मूल्य अभिवृद्धि, पोषण सुधार तथा निर्यात प्रवर्द्धनमा पनि विभागको अहम योगदान रहेको उनले उल्लेख गरिन्। उनले हाल खाद्य वस्तुको विविधीकरण, खाद्य योगशील तथा प्रशोधन सहयोगीको प्रयोग, सीमित मापदण्ड, प्रयोगशाला सेवाको दायरा र स्रोत साधनको कमीका कारण नियमन कार्य चुनौतीपूर्ण बन्दै गएको बताइन्। तर नियमित बजार अनुगमन, गुणस्तर परीक्षण, मोबाइल भ्यान सञ्चालन, खाद्य प्रविधि विकास तथा नियम उल्लङ्घन गर्नेविरुद्ध कारबाहीजस्ता कार्य प्रशंसनीय रहेको मन्त्री चौधरीले तर्क राखिन्।
“गुनासोरहित, छरितो र प्रभावकारी सेवा प्रवाह” गर्न निर्देशन दिँदै उनले कुनै पनि अवस्थामा सेवाग्राहीसँग घुस माग्ने, ढिलासुस्ती गर्ने वा नाकामा बार्गेनिङ गर्ने गतिविधि नदोहोरिन चेतावनी समेत दिइन्। हाल केही कर्मचारीमाथि मुद्दा दायर र निलम्बन भएको प्रसंग उल्लेख गर्दै यस्ता घटनाले संस्थाको छवि कमजोर बनाउने उनले बताइन्।
मन्त्री चौधरीले विभागलाई नियमित बजार तथा उत्पादन स्थल अनुगमन, होटलदेखि सडक किनारासम्मका सबै खाद्य व्यवसायको निगरानी, खाद्य अनुमति तथा आयात प्रक्रियालाई छरितो बनाउने कार्यलाई प्राथमिकतामा राख्न निर्देशन दिइन्। यसका साथै, प्रयोगशाला सेवाको दायरा विस्तार र एक्रेडिटेशन बनाउन, विषादी, हेभी मेटल, माइकोटक्सिन तथा पानीको गुणस्तर परीक्षण विस्तार गर्न समेत निर्देशन दिइन्।