काठमाडौं । चौधरी फाउण्डेसनले प्रसुती सेवाकेन्द्रहरुका लागि स्वास्थ्य उपकरणहरु वितरण गरेको छ । शुक्रबार फाउण्डेसनका उपाध्यक्ष निर्वाणचौधरीले सामाग्री सुरक्षित मातृत्व संजाल महासंघका महासचिव रविन्द्र बहादुर प्रधानलाई हस्तान्तरण गरेका छन् ।
कोरोना भाइरसको रोकथाम तथा स्वास्थ्यकर्मीको सुरक्षाको लागि अत्यावश्यक ६० थान पिपिई, ७ हजार ५ सय थान मास्क, ६ हजार थान ग्लोब्स, ३० थान थर्मल गन, १६० लिटर सेनिटाइजर, १६ सय ८० थान सेनिटरी प्याड, ६ सय थान हात धुने साबुनलगायतका सामाग्री वितरण गरिएको हो ।
सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्यको अधिकारको रक्षाका लागि विविधकार्यहरु गर्दै आएको सुरक्षित मातृत्व संजाल महासंघले उक्त सामाग्री प्रदेश २ का विभिन्न ३० प्रसुती गृहहरुमा वितरण गरिने महासंघले जनाएको छ ।
नेपाल दक्षिण एशियामा नै उच्चमातृ र शिशु मृत्युदर भएको मुलुक अन्तर्गत पर्दछ । सन् २०१६ को जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण अनुसार नेपालमा प्रति एक लाखमा २३९ मातृ मृत्युदर छ । स्वास्थ्य उपकरणको अभाव हुँदा गर्भवती महिलाहरु चेकजाँचबाट नै वञ्चित हुनुपर्ने अवस्था रहेको र लकडाउनको अवधिमा ३१ जना गर्भवती तथा सुत्केरीले ज्यान गुमाउन पुगेको समाचार हालै सार्वजनिक भएका छन् ।
अझ २ नम्बर प्रदेशमा भारतबाट आएको ठूलो जनसंख्या बसोबास गर्ने भएकाले कोरोना भाइरस संक्रमणका कारण मातृ तथा नवजातशिशुको स्वास्थ्य यस क्षेत्रमा बढि जोखिममा रहेको छ । यस्तोमा उक्त प्रदेशमा सुरक्षित प्रसुती सेवा प्रवाह गर्न अग्रपंक्तिमा रही कार्यरत स्थ्यकर्मीको सुरक्षालाई ध्यानमा सामाग्रीहरु सहयोग गरेको फाउण्डेसनले जनाएको छ । यसअघि चौधरी फाउण्डेसनले मुलुकभरिका विभिन्न ११९ स्वास्थ्य केन्द्रहरुमा मेडिकल उपकरण वितरण गरिसकेको छ ।