काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुश्वु ओलीले सरकारले उपभोगमुखी अर्थतन्त्रलाई उत्पादन मुखी बनाउनुपर्ने बताएकी छन्। आर्थिक वर्ष २०८३/०८४ को लागि विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकतामाथि धारणा राख्दै प्रमुख सचेतक ओलीले यस्तो बताएकी हुन्।
उनले भनिन्,‘अर्थतन्त्रको पुनर्संरचना सरकारले उपभोगमुखी अर्थतन्त्रलाई उत्पादन मुखी बनाउने भनेको छ। यो कुरा हामी वर्षौ देखि सुन्दै आएका छौंं। तर उत्पादन कसरी बढ्छ? नेपालमा उत्पादन लागत उच्च छ। ऊर्जा क्षेत्र विश्वस्त छैन। ढुवानी दर कति महँगो छ हेर्नुस् तपाईँहरू आफैँले बुझिराख्नु भा छ यो विषय नीतिगत अस्थिरता कति छ, साना उद्योगहरूको अवस्था के छ? लगायत यावत विषयहरूमा पर्याप्त ध्यान पुर्याउन आवश्यक छ।’
उनले सरकारद्वारा प्रस्तुत दस्ताबेजमा सुशासन, आर्थिक पुनर्संरचना, डिजिटल रूपान्तरण, समावेशी विकास, शक्ति सफ्ट पावर निकै आकर्षक रहेको बताइन्।
यो दस्ताबेज वास्तवमा भाषिक रूपमा निकै परिष्कृत रहेको बताइन्। यो दस्ताबेज नेपालको वर्तमान आर्थिक प्रशासनिक र सामाजिक यथार्थसँग मेल खान्छ कि खाँदैन भन्दै उनले मेल खाँदैन भने किन राजनीतिक र सामाजिक यथार्थ भन्दा निकै परका अवधारणाको सुन्दर संकलन गरिराखेको बताइन्।
उनले भनिन्,‘पक्कै पनि आगामी दशकमा आगामी २० वर्षको लागि हो भने यो दस्ताबेज उत्कृष्ट छ। तर हामी स्पेसिफिकल्ली आगामी वर्षको लागि बजेट विनियोजनमाथि छलफल गर्दैछौं। धेरै सैद्धान्तिक विषयहरू नेपालको पञ्चवर्षीय योजनाहरूमा व्याप्त व्याख्या भएकै छन्।’
सांसद ओलीले तत्काल सम्बोधन गर्नुपर्ने विषयमा बजेट विनियोजन गर्नुपर्ने बताइन्। उनले भनिन्, ‘टेक हप डिजिटल नोमार एआई कम्प्युटेसन्स जस्ता शब्द धेरै प्रयोग गर्नु कतै यथार्थ भन्दा धेरै टाढाको भाषण त हुने होइन कि भनेर म प्रश्न राख्न चाहन्छु। हामी यथार्थ बजेट तर्जुमा किन नगर्ने भन्ने मेरो मुख्य प्रश्न हो। हामीले पहिले आधारभूत अर्थतन्त्र सुदृढ गर्नुपर्ने आवश्यकता छ।’
ठुला आयोजना कररिडोर, फ्लाईओभर, सुरुङ मार्ग, मास ट्रान्जिटको कुरा गरिएको भन्दै सांसद ओलीले नेपालको समस्या आयोजना घोषणा गर्नेभन्दा पनि सम्पन्न गर्ने विषय चुनौती रहेको बताइनु। उनले अधुरा आयोजना राष्ट्रिय रोग जस्तै बनेको बताइन्।
‘मेलम्ची, पोखरा विमानस्थल, गौतम बुद्ध विमानस्थल, हुलाकी राजमार्ग, मध्य पहाडी लोकमार्ग यी सबैले हामीलाई एउटै पाठ सिकाएका छन्। योजनाको घोषणा भन्दा मुख्य विषय त्यसका लागि चाहिने रिसोर्सेस र त्यसपछि त्यसलाई निश्चित समयमै सम्पन्न गर्ने कार्यान्वयन क्षमता हो,’उनले भनिन्,‘त्यसैले नयाँ आयोजनाको विषयमा कुरा गर्दै गर्दा हामीले पहिला कम्प्लिसन कल्चर कसरी विकास गर्न सक्छौँ भनेर ध्यान पुर्याउन आवश्यक छ।’
सांसद ओलीले कृषि उत्पादन घट्दो र निजी क्षेत्र त्रसित रहेको भन्दै सार्वजनिक ऋणको भार पनि बढिरहेको बताइन्।