गण्डकी। गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय र ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयले गत आवको प्रगति समीक्षासँगै चालू आवको कार्ययोजना तयारीलाई अगाडि बढाएका छन्।
पोखरामा आयोजित दुवै मन्त्रालयको वार्षिक समीक्षा कार्यक्रममा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले समयमा योजना कार्यान्वयन गरी पुँजीगत खर्चको प्रभावकारिता बढाउनुपर्नेमा जोड दिए। उनले पूर्वाधार निर्माणको गुणस्तरमा पनि ध्यान दिन मन्त्रालय र सम्बद्ध निकायलाई आग्रह गरे।
गत आवमा ‘जेनजी’ आन्दोलन, निर्वाचनलगायत कारणले अपेक्षाअनुसार बजेट खर्च हुन नसकेको जनाउँदै मुख्यमन्त्री पाण्डेले योजना कार्यान्वयनमा गुणस्तर र प्रभावकारितालाई ख्याल गर्नुपर्ने बताए। प्रदेश सरकारको राजश्व संकलनमा सुधार आएकाले बजेट अभावका कारण विकास निर्माण प्रभावित नहुने उनको भनाइ छ।
यातायात क्षेत्रको सेवा प्रवाह, व्यवस्थापन, सुशासन र राजस्व संकलनलाई थप प्रभावकारी बनाउँदै नागरिकमैत्री सेवा विस्तार गर्न प्रदेश सरकारले विशेष ध्यान दिइएको मुख्यमन्त्रीले पाण्डेले बताए। विकासको गति, गुणस्तर र सुशासनप्रति प्रदेश सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको उनको भनाइ छ।
खानेपानी र सिँचाइ नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएको विषय भएकाले यस क्षेत्रमा परिणाममुखी ढङ्गले काम गर्नुपर्नेमा उनले जोड दिए। ‘एक घर, एक धारा’ कार्यक्रमलाई लक्ष्यमा पुर्याउन प्रदेश सरकार लागिपरेको मुख्यमन्त्री पाण्डेले बताए।
कार्यक्रममा दुवै मन्त्रालयले गत आवमा हासिल गरेका उपलब्धिको समीक्षासहित चालू आवको कार्ययोजना तयारीका विषयमा मन्त्रालयका पदाधिकारीसहितले छलफल गरेका छन्।