काठमाडौं। फिस्टेल डेरीले ‘नोभा’ब्रान्डअन्तर्गत उत्पादित आइसक्रिम, चकलेटलगायत वस्तुको उच्चतम गुणस्तर मापदण्ड पालनामा प्रतिबद्ध र आन्तरिक उत्पादन परीक्षणमा थप कडाइ गरिएको स्पष्ट पारेको छ।
विगत १७ वर्षदेखि गुणस्तरीय, सुरक्षित तथा विश्वसनीय दुग्धजन्य उत्पादन उपभोक्तामाझ पुर्याउँदै आएको कम्पनीले हालै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागद्वारा गरिएको परीक्षणका क्रममा नोभा चकलेट आइसक्रिमको १००० मिलिलिटर प्याक, ब्याच नम्बर सीओटू, उत्पादन मिति २०८२ साउन १९ उल्लेख भएको सीमित उत्पादनमा गुणस्तरसँग सम्बन्धित विषय देखिएकोबारे गम्भीर र जिम्मेवार रहेको बताएको छ।
कम्पनीका अनुसार आइसक्रिम तापक्रमप्रति अत्यन्त संवेदनशील उत्पादन भएकाले उत्पादन, ढुवानी, भण्डारण तथा बिक्री प्रक्रियामा उचित ‘कोल्ड चेन’ कायम नरहे ब्याक्टेरियाको वृद्धि हुन सक्ने सम्भावना रहन्छ। एकपटक पग्लिएको आइसक्रिम पुनः फ्रिज गर्दा ब्याक्टेरियाको वृद्धि रोकिन सक्छ, तर ब्याक्टेरिया पूर्ण रूपमा नष्ट नहुने वैज्ञानिक तथ्यप्रति सचेत रहेको कम्पनीले प्रस्ट पारेको छ।
कम्पनीले सम्बन्धित ब्याचको उत्पादन बजारबाट फिर्ता गर्ने प्रक्रिया अघि बढाइएको जनाएको छ। कम्पनीले आन्तरिक गुणस्तर परीक्षण, उत्पादन प्रक्रिया पुनरवलोकन तथा कोल्ड चेन अनुगमनलाई थप कडाइका साथ लागू गरिरहेको बताएको छ।
सीओटू ब्याचबाहेक नोभाका अन्य उत्पादनमा कुनै गुणस्तरीय समस्या नरहेको जनाएको छ। उपभोक्तालाई उत्पादन मिति तथा उपभोग अवधि हेरेर मात्रै उत्पादन प्रयोग गर्न कम्पनीको आग्रह छ।
सम्पूर्ण खुद्रा बिक्रेता तथा वितरण साझेदारलाई तापक्रम संवेदनशील उत्पादनको सुरक्षित भण्डारण तथा उचित कोल्ड चेन कायम राख्न पनि कम्पनीले अनुरोध गरेको छ।
उपभोक्ताबाट प्राप्त सुझाव, गुनासा तथा विश्वासलाई सम्मान गर्दै आगामी दिनमा अझ पारदर्शी, जिम्मेवार तथा उत्तरदायी ढंगले अघि बढ्ने प्रतिबद्धता कम्पनीले व्यक्त गरेको छ।