ठमेलको एउटा साँघुरो गल्लीमा विदेशी पर्यटकको चहलपहल सुरु भइसकेको छ। वरिपरि ट्राभल एजेन्सी, क्याफे र मसाज सेन्टरहरू ग्राहकको प्रतीक्षामा छन् । त्यही भीडभाडको बीचमा एउटा फरक नाम देखिन्छ, सिइङ ह्यान्ड्स नेपाल ब्लाइन्ड मसाज क्लिनिक।
भित्र प्रवेश गर्दा ग्राहकलाई स्वागत गरिरहेका व्यक्तिहरूले तपाईंको अनुहार देख्न सक्दैनन् तर उनीहरूले हजारौं ग्राहकको विश्वास जितिसकेका छन्। उनीहरू जन्मजात दृष्टिविहीन हुन्। उनीहरू रोजगारी खोजिरहेका छैनन् बरु आफैं रोजगारी सिर्जना गरिरहेका छन्।
यो दृश्य केवल एउटा मसाज क्लिनिकको कथा होइन। यो नेपालमा अपांगता भएका व्यक्तिलाई हेर्ने पुरानो दृष्टिकोण परिवर्तन हुँदै गएको संकेत हो ।
लामो समयसम्म नेपाली समाजले अपांगता भएका व्यक्तिलाई दया, सहानुभूति र सामाजिक सुरक्षाको घेराभित्र सीमित राख्यो। उनीहरूलाई उत्पादनशील अर्थतन्त्रका सक्रिय सहभागीभन्दा सहयोग पाउनुपर्ने वर्गका रूपमा बढी हेरियो। शिक्षा, रोजगारी, वित्तीय पहुँच र उद्यमशीलतामा उनीहरूको सहभागिता कमजोर हुनुको एउटा कारण यही सामाजिक दृष्टिकोण पनि थियो।
तर पछिल्ला वर्षहरूमा त्यो तस्वीर विस्तारै बदलिँदै गएको छ।
आज फरक क्षमता भएका धेरै नेपालीहरू आफ्नै सीप, परिश्रम र आत्मविश्वासका आधारमा व्यवसाय सञ्चालन गरिरहेका छन्। उनीहरू आत्मनिर्भर मात्र बनेका छैनन्, अरूलाई रोजगारी दिने हैसियतमा समेत पुगेका छन्। मसाज क्लिनिक, अचार उद्योग, नर्सरी व्यवसाय, चिया पसल, अगरबत्ती उद्योगदेखि सिलाइ-कटाइमा आधारित सामूहिक उद्यमसम्म-उनीहरूले विभिन्न क्षेत्रमा आफ्नो उपस्थिति बलियो बनाइरहेका छन्।
राष्ट्रिय अपांग महासंघ नेपालका अध्यक्ष देवीदत्त आचार्यका अनुसार राज्यले शिक्षा, सीप र तालिममार्फत अपांगता भएका व्यक्तिलाई स्वरोजगार बनाउने नीतिगत व्यवस्था गरेको छ। सोही नीतिका आधारमा धेरै व्यक्तिहरू व्यवसायमा प्रवेश गर्न सफल भएका छन्। उनका अनुसार आज अपांगता भएका व्यक्तिले सञ्चालन गरेका व्यवसायमा सबलांगले समेत रोजगारी पाइरहेका छन् ।
चुनौती सकिएका छैनन्
बजारमा विश्वास अभाव, सामाजिक मनोवृत्ति, वित्तीय पहुँचको कठिनाइ र पूर्वाधारको समस्या अझै पनि उनीहरूको यात्रामा अवरोधका रूपमा उभिएका छन्। विशेषगरी ग्रामीण क्षेत्रमा अपांगता भएका व्यक्तिले सञ्चालन गरेको व्यवसायप्रति अझै पनि शंकाको दृष्टिले हेर्ने प्रवृत्ति कायम छ।
यद्यपि, यी चुनौतीकै बीचमा जन्मिएका केही उद्यमहरूले एउटा महत्त्वपूर्ण सन्देश दिएका छन्, अपांगता भनेको अक्षमता होइन, फरक तरिकाले काम गर्न सक्ने क्षमता हो।
अर्थतन्त्रले अझै पूर्ण रूपमा नचिनेको सम्भावना
नेपालमा अपांगता भएका व्यक्तिहरूको विषयमा बहस प्रायः सामाजिक सुरक्षा, भत्ता र अधिकारमा केन्द्रित हुने गरेको छ। तर, उद्यमशीलता र आर्थिक योगदानको विषयमा तुलनात्मक रूपमा कम चर्चा हुन्छ।
वास्तविकता भने फरक छ।
आज उनको क्लिनिक व्यक्तिगत सफलताको कथामा सीमित छैन। यो दृष्टिविहीन व्यक्तिका लागि रोजगारी, सम्मान र आत्मनिर्भरताको माध्यम बनेको छ।
अपांगता भएका धेरै व्यक्तिहरू आज उद्यमीका रूपमा स्थापित भइरहेका छन्। उनीहरूले उत्पादन गरिरहेका छन्, सेवा दिइरहेका छन्, कर तिरिरहेका छन् र रोजगारी सिर्जना गरिरहेका छन्। उनीहरूको योगदान सामाजिक समावेशिताको उदाहरण मात्र होइन, आर्थिक सहभागिताको उदाहरण पनि हो।
तर, उनीहरूको यात्राले अर्काे प्रश्न पनि उठाउँछ-यदि समान अवसर, सहज वित्तीय पहुँच र सामाजिक स्वीकृति प्राप्त भयो भने उनीहरू अझ कति अगाडि जान सक्छन्?
यस प्रश्नको उत्तर खोज्न ठमेलको एउटा मसाज क्लिनिकबाट सुरु गरौं।
ठमेलको गल्लीमा उज्यालो छाड्ने अन्धकारको साथी चिरण
काठमाडौंको ठमेलमा सञ्चालन भइरहेको सिइङ ह्यान्ड्स नेपाल ब्लाइन्ड मसाज क्लिनिक सामाजिक उद्यमशीलताको एउटा सफल उदाहरणका रूपमा स्थापित छ। यसको नेतृत्व गरिरहेका छन्, चिरण पौडेल।
जन्मजात दृष्टिविहीन चिरणले सहयोगको भरमा बाँच्नुपर्छ भन्ने पुरानो मान्यतालाई आफ्नै जीवनबाट चुनौती दिएका छन्। जीवनमा थुप्रै अवरोध सामना गरे पनि उनले त्यसलाई कमजोरी बन्न दिएनन् बरु आफ्नो सीप र आत्मविश्वासलाई व्यवसायमा रुपान्तरण गरे।
आज उनको क्लिनिक व्यक्तिगत सफलताको कथामा सीमित छैन। यो दृष्टिविहीन व्यक्तिका लागि रोजगारी, सम्मान र आत्मनिर्भरताको माध्यम बनेको छ।
सामाजिक उद्यमीका रूपमा परिचय दिने चिरणको लक्ष्य आफू मात्र सफल बन्ने होइन, आफूजस्तै दृष्टिविहीन व्यक्तिलाई स्वावलम्बी बनाउनु हो।
‘मैले सन् २०१० नोभेम्बर १ मा काठमाडौंमा पहिलो क्लिनिक सुरु गरेको थिएँ। अहिले ज्याठा र कालधारामा दुईवटा क्लिनिक सञ्चालनमा छन्,’ उनी भन्छन्, ‘धेरै संस्था एनजीओ वा आइएनजीओको अनुदानमा निर्भर भएर चलिरहेका छन्, तर सिइङ ह्यान्ड्स नेपाल पूर्ण रूपमा सामाजिक उद्यमशीलताको मोडलमा अघि बढिरहेको छ।’
सिइङ ह्यान्ड्स नेपालको व्यावसायिक मोडल अन्य संस्थाभन्दा फरक छ। च्यारिटी होइन, व्यवसाय।
यसको मुख्य आम्दानी ग्राहकले तिर्ने सेवाशुल्कबाट आउँछ। यही रकमबाट थेरापिस्टहरूको तलब, सञ्चालन खर्च र दैनिक व्यवस्थापन गरिन्छ। बाँकी नाफा रिजर्भ फन्डमा जम्मा हुन्छ।
त्यही कोषबाट नयाँ दृष्टिविहीन विद्यार्थी छनोट गरिन्छ। उनीहरूलाई निःशुल्क तालिम, खाना र बसोबासको व्यवस्था गरिन्छ। तालिम पूरा भएपछि संस्थाले उनीहरूलाई आफ्नै क्लिनिकमा रोजगारी अवसरसमेत दिन्छ।
चिरणका अनुसार यही मोडलले संस्थालाई सामाजिक उद्यमशीलताको सफल उदाहरण बनाएको छ। हाल संस्थाको व्यवसाय धेरै हदसम्म पर्यटनमा आधारित छ।
घरबाट काम गर्ने प्रवृत्ति बढेसँगै स्वास्थ्यसम्बन्धी समस्या पनि बढेका छन्। त्यसकारण साइड इफेक्टविहीन उपचार खोज्ने नेपाली ग्राहक संख्या विस्तारै बढ्दै गएको चिरण बताउँछन्।
उनका अनुसार करिब ८९ देखि ९० प्रतिशत ग्राहक विदेशी हुन्। नेपाली समाजमा मसाजप्रति रहेको गलत बुझाइ र दृष्टिविहीन व्यक्तिले गुणस्तरीय सेवा दिन सक्छन् भन्ने विश्वासको कमीका कारण नेपाली ग्राहकको संख्या अपेक्षाकृत कम छ।
तर, कोभिडपछि परिस्थितिमा केही परिवर्तन आएको छ।
घरबाट काम गर्ने प्रवृत्ति बढेसँगै स्वास्थ्यसम्बन्धी समस्या पनि बढेका छन्। त्यसकारण साइड इफेक्टविहीन उपचार खोज्ने नेपाली ग्राहक संख्या विस्तारै बढ्दै गएको चिरण बताउँछन्।
सिइङ ह्यान्ड्स नेपालमा ६० मिनेटको मसाजको शुल्क २,२०० रुपैयाँ, ९० मिनेटको ३,२०० रुपैयाँ र १२० मिनेटको ४,२०० रुपैयाँ छ।
सन् २०२४ मा मात्रै दुई शाखाले १० हजारभन्दा बढी ग्राहकलाई सेवा दिएका थिए। हाल संस्थामा १५ जना सदस्य छन्। यीमध्ये १० जना दृष्टिविहीन थेरापिस्ट हुन् भने बाँकी ५ जना प्रशासन र व्यवस्थापनमा संलग्न छन्।
१० लाख रुपैयाँको प्रारम्भिक लगानीबाट सुरु भएको यो क्लिनिक अहिले यो क्षेत्रमा उत्कृष्ट पारिश्रमिक दिने संस्थामध्ये एक मानिन्छ। चिरणका अनुसार आउने ग्राहकमध्ये ९५ प्रतिशत पूर्ण रूपमा सन्तुष्ट भएर फर्किन्छन्।
बैंकको अविश्वासदेखि अन्तर्राष्ट्रिय पहिचानसम्म सफलताको यात्रा सहज भने थिएन।
‘दृष्टिविहीनका लागि व्यवसाय गर्न त्यति सजिलो छैन’, चिरण भन्छन्, ‘बैंकहरूले दृष्टिविहीन भनेर ऋण दिन वा खाता खोल्न सहजै विश्वास गर्दैनन्। व्यक्तिगत ऋण लिएरै काम चलाउनुपर्छ।’
उनका अनुसार अहिलेसम्म सरकारी तहबाट कुनै उल्लेखनीय सहयोग प्राप्त भएको छैन। कर तिरे पनि सहुलियत अनुभव नगरेको उनी बताउँछन्। तर यही चुनौतीका बीचमा उनले आफ्नो पहिचान निर्माण गरे।
सन् २००५ मा पोखरामा एक बेलायती दम्पतीले स्थापना गरेको मसाज संस्थामा उनी सुरुआती विद्यार्थीमध्ये एक थिए। एक वर्षको कोर्स पूरा गरेपछि पाँच वर्ष त्यहाँ काम गरे। पहिले सहायक शिक्षकका रूपमा, पछि थेरापिस्ट इन्चार्ज बनेर।
तर, एक दिन उनलाई लाग्यो- ‘दृष्टिविहीनको नाममा चल्ने च्यारिटीभन्दा फरक मोडल पनि त हुन सक्छ।’ त्यही सोचले उनलाई आफ्नै उद्यम सुरु गर्ने निर्णयतर्फ डोर्यायो।
१६ वर्षदेखि निरन्तर सञ्चालनमा रहेको यो क्लिनिक आज एउटा व्यवसाय मात्र होइन, सामाजिक परिवर्तनको प्रतीक बनेको छ।
सन् २०१० मा काठमाडौंमा सिइङ ह्यान्ड्स नेपाल स्थापना भयो।
आज ट्रिप एडभाइजर, लोनली प्लानेट र रफ गाइडजस्ता अन्तर्राष्ट्रिय गाइडबुकले समेत यसलाई मान्यता दिएका छन्, सिफारिस गरेका छन् । सन् २०१२ मा प्राप्त सूर्य नेपाल आशा सोसल इन्टरप्रेन्योरसिप अवार्डले यसको विश्वसनीयता थप बलियो बनायो।
‘त्यसपछि मानिसले मसाजलाई उपचार पद्धतिको रूपमा बुझ्न थाले,’ चिरण भन्छन्, ‘दृष्टिविहीनले पनि यो काम सक्षमपूर्वक गर्न सक्छन् भन्ने विश्वास बढ्न थाल्यो।’
१६ वर्षदेखि निरन्तर सञ्चालनमा रहेको यो क्लिनिक आज एउटा व्यवसाय मात्र होइन, सामाजिक परिवर्तनको प्रतीक बनेको छ।
‘हिम्मत भए असम्भव केही छैन’: एक हजार रुपैयाँबाट ब्रान्ड निर्माण गर्ने रुपा
ललितपुरकी रुपा अर्याल शारीरिक अपांगता भएकी महिला हुन्। हिँडडुल गर्न बैसाखी र लामो दूरीका यात्राका लागि चारपांग्र्रे स्कुटरको सहारा लिने उनी आज ‘आमाछोरी अचार’ ब्रान्डमार्फत आफ्नो छुट्टै पहिचान बनाउन सफल भएकी छन्।

तर, यो सफलताको यात्रा कुनै योजनाबद्ध व्यावसायिक रणनीतिबाट सुरु भएको थिएन। यो यात्रा सुरु भएको थियो- बेरोजगारी, निराशा र आत्मविश्वासको कठिन परीक्षाबाट।
रुपाले जीवनको प्रारम्भिक चरणमा आफू व्यवसायी बन्छु भनेर कहिल्यै सोचेकी थिइनन् आमाछोरी अचार सुरु गर्नुअघि उनी एक गैरसरकारी संस्थामा कार्यरत थिइन्। तर, कोभिड-१९ महामारीसँगै लागू भएको लकडाउनपछि संस्थाले कर्मचारी कटौती गर्दा उनी पनि बेरोजगार बनिन्।
परिस्थिति सामान्य बन्दै गएपछि उनले फेरि रोजगारी खोज्न थालिन् तर त्यो यात्रा उत्साहजनक थिएन।
‘जागिर दिनुभन्दा पनि धेरैले विचराको पात्र बनाइदिन्थे’, उनी सम्झिन्छिन्, ‘कहिलेकाहीँ निरास हुन्थें, तर हिम्मत हारिनँ। शारीरिक रूपमा अशक्त भएकै कारण काम पाउन मुस्किल भयो। धेरै अफिसले अन्तर्वार्ता त लिए, तर काम दिएनन्।’
कतिपय ठाउँमा कामको अवसर आए पनि भौतिक पूर्वाधार नै बाधक बन्यो। अफिस माथिल्लो तलामा हुन्थे, जहाँ नियमित रूपमा पुग्न गाह्रो पथ्र्याे।
रोजगारी खोजीकै क्रममा उनले ब्युटी पार्लरको तालिमसमेत लिइन्। तर, त्यो काम पनि लामो समय टिक्न सकेन। बैसाखी टेकेर लामो समय उभिनुपर्ने भएकाले व्यावसायिक रूपमा निरन्तरता दिन सम्भव भएन।
त्यही समय उनको मनमा आफ्नै व्यवसाय सुरु गर्ने विचार जन्मियो। एक हजार रुपैयाँको सुरुआत, तर व्यवसाय सुरु गर्ने निर्णय सजिलो थिएन। आर्थिक स्रोत थिएन। अझ महत्वपूर्ण कुरा परिवारले समेत उनको निर्णयप्रति तत्काल विश्वास गरेको थिएन।
त्यसैबीच उनको जन्मदिन आयो। आमाले एक हजार रुपैयाँ दिइन्।
रुपाले त्यो रकमबाट एक किलो बदाम किनिन् आमाले अचार बनाइदिइन्। उनले सय–सय ग्रामका दरले प्याक गरी १० वटा बट्टा तयार गरिन्।
त्यसपछि उनले अचार बिक्रीबाट आएको रकम पुनः व्यवसायमै लगानी गर्न थालिन्। विस्तारै उत्पादन बढ्यो। ग्राहक बढे। उत्पादनको विविधता बढ्यो।
त्यसपछि नख्खु तरकारी बजार पुगिन्। त्यो दिन सबै अचार बिक्री भयो। सायद त्यो रकम ठूलो थिएन। तर, त्यसले उनको आत्मविश्वासलाई दिएको बल भने असाधारण थियो।
‘त्यो दिन मैले आफूले पनि केही गर्न सक्छु भन्ने विश्वास पाएँ,’ उनी भन्छिन्।
त्यसपछि उनले अचार बिक्रीबाट आएको रकम पुनः व्यवसायमै लगानी गर्न थालिन्। विस्तारै उत्पादन बढ्यो। ग्राहक बढे। उत्पादनको विविधता बढ्यो।
आज ‘आमाछोरी अचार’ले बदाम, चिकेन, सिद्रा, टिम्बुर छोप, तिलको छोपलगायतका विभिन्न उत्पादन बजारमा उपलब्ध गराइरहेको छ।
व्यवसाय सुरु गरेपछि पनि चुनौती सकिएनन्। सुरुमा परिवारलाई विश्वास दिलाउन गाह्रो भयो। पछि ग्राहकको विश्वास जित्न झनै कठिन भयो। ‘अपांगता भएको थाहा पाएपछि मानिसहरू सामान अर्डर गर्न डराउँथे,’ उनी भन्छिन्, ‘पैसा डुब्छ कि भन्ने सोच राख्थें।’

व्यवसायको प्रारम्भिक चरणमा उनी आफैं घर–घरमा सामान पु¥याउन जान्थिन्। त्यस क्रममा कतिपय मानिसको सहानुभूतिपूर्ण व्यवहारले उनलाई असहज बनाउँथ्यो।
तर, उनले ती अनुभवलाई कमजोरी बन्न दिइनन्। बरु त्यसलाई प्रेरणामा रुपान्तरण गरिन्। ‘मैले ती सबै कठिनाइलाई आफ्नो आत्मबल बढाउने भर्याङ बनाएँ,’ उनी भन्छिन्।
आज उनका उत्पादन विभिन्न मलमा उपलब्ध छन्। मेला–महोत्सवमा नियमित रूपमा स्टल राख्दै ब्रान्डको पहुँच विस्तार गरिरहेकी छन्।
रूपाका लागि व्यवसायको अर्थ केवल आम्दानी मात्र होइन। यो आत्मसम्मान र अवसर सिर्जनाको माध्यम पनि हो।
‘म पहिले एनजीओमा काम खोज्दा कति ठाउँमा अपांगमैत्री पूर्वाधार नभएकाले फर्कनुपरेको थियो,’ उनी विगत स्मरण गर्छिन्, ‘अब व्यवसाय विस्तार गर्दै मजस्तै समस्या भोगिरहेका र अन्य शिक्षित व्यक्तिलाई रोजगार दिने योजना बनाइरहेकी छु।’
भविष्यमा उनी अनलाइन बिक्रीमा मात्र सीमित रहन चाहन्नन्। आफ्नै पसल खोल्ने र ठूलो टिम निर्माण गर्ने सपना छ। ‘मसँग हिम्मत छ,’ उनी आत्मविश्वासका साथ भन्छिन्, ‘केही समयपछि म आफ्नै टिम बनाउनेछु।’
दुर्घटनापछिको नयाँ सुरुआतः नर्सरी व्यवसायबाट उभिएका शिशिर
जीवनमा आउने उतारचढावका केही घटनाले मानिसलाई पूर्ण रूपमा तोडिदिन्छन्। तर, केही व्यक्तिहरू त्यही घटनालाई नयाँ सुरुआतको अवसरमा रुपान्तरण गर्छन्।
सिन्धुलीका शिशिर दाहाल त्यही दोस्रो समूहका प्रतिनिधि हुन्।
भक्तपुरको दधिकोटमा नर्सरी व्यवसाय सञ्चालन गरिरहेका दाहाल कुनै समय कृषि विषय अध्ययन गर्ने सामान्य विद्यार्थी थिए। उनी विभिन्न कृषि फार्ममा सुपरभाइजरका रूपमा काम गर्थे। भविष्यप्रति स्पष्ट योजना थियो।
तर, एउटा सडक दुर्घटनाले जीवनको दिशा नै बदलिदियो।
सुरुमा उनको उद्देश्य केवल बिरुवा उत्पादन गर्ने थियो। तर, विस्तारै नर्सरी व्यवसायमा सम्भावना देख्न थाले। त्यसपछि उनले व्यावसायिक रूपमा अगाडि बढ्ने निर्णय गरे।
दुर्घटनापछि उनी शारीरिक रूपमा अपांगता भएका व्यक्ति बने। भविष्य अचानक अन्योलपूर्ण बन्यो। ‘दुर्घटनापछि के गर्ने भन्ने अन्योल थियो,’ उनी सम्झिन्छन्, ‘त्यसपछि आफूले जानेको र पढेको विषयमै केही गर्नुपर्छ भन्ने लाग्यो।’
यही सोचले उनलाई कृषि उद्यमतर्फ डोर्यायो।
अनि उनले ज्ञानलाई व्यवसायमा रुपान्तरण गरे। सुरुमा उनको उद्देश्य केवल बिरुवा उत्पादन गर्ने थियो। तर, विस्तारै नर्सरी व्यवसायमा सम्भावना देख्न थाले। त्यसपछि उनले व्यावसायिक रूपमा अगाडि बढ्ने निर्णय गरे।
२०७९ मा उनले भक्तपुरको दधिकोटमा ‘कम्प्युट एग्रो’ नामक नर्सरी व्यवसाय सुरु गरे। यसका लागि करिब २५ लाख रुपैयाँ लगानी गरिएको थियो। रोचक कुरा के भने यो लगानी कुनै सरकारी अनुदान वा संस्थागत सहयोगबाट जुटाइएको थिएन।
‘आफ्नै बचत र परिवारको सहयोगबाट व्यवसाय सुरु गरेको हुँ,’ उनी भन्छन्, ‘सरकार वा अन्य निकायबाट पाइने अनुदानबारे सुनेको छु, तर अहिलेसम्म कुनै सहयोग लिएका छैनौं।’

दाहालको नर्सरीले प्रत्यक्ष रूपमा ठूलो रोजगारी सिर्जना नगरे पनि विभिन्न कामका लागि दैनिक ज्यालादारीमा कामदार संलग्न हुन्छन्। त्यसभन्दा महत्वपूर्ण पक्ष भनेको ज्ञान हस्तान्तरण हो।
विभिन्न कृषि कलेजका विद्यार्थी यहाँ इन्टर्नसिपका लागि आउने गर्छन्। उनीहरूलाई व्यावहारिक कृषि ज्ञान दिने प्रयास भइरहेको छ। ‘विद्यार्थीलाई खेत र नर्सरीको वास्तविक अनुभव दिनु पनि हाम्रो उद्देश्य हो,’ दाहाल भन्छन्।
उनको अनुभवमा जागिर र व्यवसायबीचको सबभन्दा ठूलो अन्तर जिम्मेवारीमा छ। जागिरमा एउटै जिम्मेवारी सम्हाले पुग्छ। व्यवसायमा भने उत्पादनदेखि बजार, कर्मचारीदेखि वित्तीय व्यवस्थापनसम्म सबै पक्ष आफैंले हेर्नुपर्छ।
तर, त्यसबाट प्राप्त हुने सन्तुष्टि पनि फरक हुन्छ।
समाजमा अझै पनि अपांगता भएका व्यक्तिप्रति विभिन्न धारणा कायम छन्। तर, दाहालको अनुभवमा सबभन्दा महत्वपूर्ण कुरा आफूले आफूलाई कसरी प्रस्तुत गर्ने भन्ने हो। ‘यदि म घरभित्रै बसेर केही नगरेको भए मानिसले फरक ढंगले हेर्थे,’ उनी भन्छन्, ‘तर काम गरिरहेकाले मैले खासै नकारात्मक व्यवहार भोग्नुपरेको छैन।’ उनको कथा दुर्घटनापछि जीवन सकिँदैन भन्ने प्रमाण हो।
बरु कहिलेकाहीँ जीवनको सबभन्दा कठिन मोडले नै नयाँ सम्भावनाको ढोका खोलिदिन्छ।
ह्वीलचेयरबाटै ‘चिया स्टेसन’ चलाउँदै प्रवेश
बनेपाको व्यस्त बजार क्षेत्रमा युवापुस्तामाझ लोकप्रिय बन्दै गएको एउटा सानो चिया पसल छ–चिया स्टेसन।
साँझपख यहाँ पुग्दा विद्यार्थी, युवा व्यवसायी, कर्मचारी र साथीभाइको समूहले भरिएको दृश्य सामान्य लाग्न सक्छ। तर, यो व्यवसायको पछाडिको कथा भने असामान्य छ।
चिया स्टेसनका सञ्चालक प्रवेश शर्मा बाल्यकालदेखि नै स्वास्थ्य समस्यासँग जुधिरहेका छन्। स्पाइनल कर्डको सर्भाइकल भागमा ट्युमर देखिएपछि उनले पटक-पटक शल्यक्रिया गर्नुप¥यो। समयसँगै शरीरको गतिशीलता घट्दै गयो र १८ वर्षको उमेरदेखि उनी पूर्ण रूपमा ह्वीलचेयरमा निर्भर भए।
तर, त्यो अवस्थाले उनको महत्वाकांक्षालाई रोक्न सकेन। बरु जीवनले दिएको चुनौतीलाई उनले उद्यमशीलताको ऊर्जामा रुपान्तरण गरे। प्रवेशले व्यवस्थापन विषयमा स्नातक तह (बीबीए) अध्ययन पूरा गरेका छन्। अध्ययनपछि उनी पनि धेरै युवाजस्तै रोजगारी खोज्न सक्थे। तर, उनले फरक बाटो रोजे।
त्यतिबेला काठमाडौं र आसपासका क्षेत्रमा मट्का चियाको लोकप्रियता बढ्दै थियो। युवापुस्ताको बदलिँदो स्वाद र बजारको सम्भावनालाई बुझ्दै उनले बनेपामै फरक स्वाद र फरक अवधारणाको चिया पसल सञ्चालन गर्ने योजना बनाए। त्यसैको परिणाम थियो- चिया स्टेसन।

करिब ६ देखि ७ लाख रुपैयाँ लगानीबाट सुरु भएको यो व्यवसाय अहिले बनेपाको परिचित ब्रान्डमध्येमा परिचित हुँदै गएको छ। ‘व्यवसाय सुरु गर्दा धेरैले सफल हुन्छ कि हुँदैन भन्ने प्रश्न गर्थे,’ प्रवेश सम्झिन्छन्, ‘तर मैले बजार बुझेर सुरु गरेको थिएँ। त्यसैले आत्मविश्वास थियो।’
ह्वीलचेयरमा निर्भर जीवनका कारण दैनिक गतिविधि नै समय र योजनाअनुसार व्यवस्थापन गर्नुपर्छ। त्यसपछि मात्रै व्यावसायिक जिम्मेवारीमा केन्द्रित हुन सकिन्छ।
व्यवसाय सञ्चालनका क्रममा प्रवेशले धेरै चुनौती सामना गरेका छन्। उनका अनुसार सबभन्दा ठूलो चुनौती व्यवसाय होइन, स्वास्थ्य व्यवस्थापन हो। ‘व्यवसाय गर्न गाह्रो छैन,’ उनी भन्छन्, ‘तर स्वास्थ्यलाई सन्तुलनमा राख्दै निरन्तर काम गर्नु चुनौतीपूर्ण हुन्छ।’
ह्वीलचेयरमा निर्भर जीवनका कारण दैनिक गतिविधि नै समय र योजनाअनुसार व्यवस्थापन गर्नुपर्छ। त्यसपछि मात्रै व्यावसायिक जिम्मेवारीमा केन्द्रित हुन सकिन्छ।
यद्यपि, उनले त्यसलाई कमजोरीको रूपमा स्वीकार गरेका छैनन् । उनका अनुसार आधुनिक प्रविधि, डिजिटल भुक्तानी प्रणाली र सामाजिक सञ्जालको प्रयोगले व्यवसाय सञ्चालन धेरै सहज बनाएको छ।
आज चिया स्टेसनमा प्रवेश स्वयं, उनकी श्रीमती र दुई कर्मचारी गरी चार जनाको टिम काम गरिरहेको छ। ग्राहकको सकारात्मक प्रतिक्रियाले उनलाई निरन्तर उत्साहित बनाइरहेको छ।
‘मानिसले मेरो अवस्थाभन्दा पनि सेवाको गुणस्तर हेरेर मूल्यांकन गर्छन्,’ उनी भन्छन्, ‘त्यो नै सबभन्दा ठूलो उपलब्धि हो।’
उनको कथा एउटा महत्वपूर्ण सन्देश दिन्छ-व्यवसायको सफलताको आधार शारीरिक अवस्था होइन, सोच, व्यवस्थापन क्षमता र निरन्तरता हो।
|
अधिकारदेखि उद्यमसम्मः अपांगता भएका व्यक्तिको आर्थिक सशक्तीकरणको अधुरो यात्रा
नेपालमा अपांगता भएका व्यक्तिबारे चर्चा हुँदा अझै पनि धेरैजसो बहस सामाजिक सुरक्षा, भत्ता, पुनःस्थापना वा सहानुभूतिको वरिपरि घुम्ने गर्छ। तर, पछिल्ला वर्षहरूमा अर्को महत्वपूर्ण यथार्थ पनि विस्तारै स्थापित हुँदै गएको छ। अपांगता भएका व्यक्तिहरू केवल सहायता प्राप्त गर्ने समुदाय होइनन्, उनीहरू उद्यमी, रोजगारदाता र आर्थिक गतिविधिका सक्रिय सहभागी पनि हुन्।
दृष्टिविहीन व्यक्तिले सञ्चालन गरेको मसाज क्लिनिकदेखि ह्वीलचेयर प्रयोगकर्ताले चलाएको चिया व्यवसाय, शारीरिक अपांगता भएका महिलाको अचार उद्योगदेखि दृष्टिविहीन उद्यमीको अगरबत्ती कारखानासम्मका उदाहरणले नेपालमा समावेशी उद्यमशीलताको सम्भावना देखाइरहेका छन्। तर, यस्ता सफलताका कथाहरू अझै पनि व्यक्तिगत संघर्षका परिणाम बढी हुन्, नीतिगत र संस्थागत समर्थनका उपलब्धि कम।
नेपालको कानुनी संरचनाले अपांगता भएका व्यक्तिको आर्थिक सशक्तीकरणलाई अधिकारको विषयका रूपमा स्वीकार गरिसकेको छ। तर, व्यावसायिक वातावरण, वित्तीय पहुँच र बजार संरचनामा रहेका अवरोधले त्यो अधिकारलाई व्यवहारमा रुपान्तरण गर्न अझै कठिन बनाइरहेका छन्।
अपांगता र अर्थतन्त्रः अदृश्य उद्यमीहरूको संसार
राष्ट्रिय जनगणनाअनुसार नेपालमा ६ लाख ४७ हजारभन्दा बढी अपांगता भएका व्यक्ति छन्, जुन कुल जनसंख्याको करिब २.२ प्रतिशत हो। यो संख्या केवल सामाजिक संरक्षणको दायरामा पर्ने समूह मात्र होइन, सम्भावित उद्यमी, कामदार, नवप्रवर्तक र उपभोक्ताको ठूलो समुदाय पनि हो।
नेपालमा अपांगता भएका व्यक्तिद्वारा सञ्चालित व्यवसायको संख्या कति छ? उनीहरूको वार्षिक कारोबार कति छ? कति व्यवसाय टिकिरहेका छन्? कति विस्तार भएका छन्? यस्ता आधारभूत प्रश्नको जवाफ दिने आधिकारिक तथ्यांक भने उपलब्ध छैन।
यही तथ्यांक अभाव नै नेपालको समावेशी अर्थतन्त्र निर्माणको सबभन्दा ठूलो कमजोरीमध्ये एक हो। सरकारले अपांगता भएका व्यक्तिको जनसंख्या गन्छ, परिचयपत्र वितरण गर्छ, भत्ता दिन्छ; तर उनीहरू आर्थिक गतिविधिमा कति सक्रिय छन् भन्ने विषय व्यवस्थित रूपमा नाप्दैन। फलस्वरूप नीति निर्माण अनुमानमा आधारित हुन्छ, प्रमाणमा होइन।
नीतिमा अधिकार, व्यवहारमा अवरोध
नेपालले सन् २००९ मा संयुक्त राष्ट्रसंघको अपांगता अधिकार महासन्धि अनुमोदन गरेपछि अधिकार-आधारित दृष्टिकोणलाई औपचारिक रूपमा स्वीकार गर्यो। त्यसपछि आएको अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४, नियमावली, २०७७ र राष्ट्रिय नीति, २०८० ले उद्यमशीलता, स्वरोजगार, सीप विकास, सहुलियत कर्जा र आर्थिक सहभागितालाई प्राथमिकतामा राखेका छन्।
कानुनले व्यवसाय प्रस्तावका आधारमा सहुलियत कर्जा, उद्यमशीलता प्रवद्र्धन, कृषि तथा स्वरोजगार कार्यक्रम, रोजगारीमा विभेद निषेध तथा कार्यस्थल अनुकूलनजस्ता व्यवस्था सुनिश्चित गरेको छ। राष्ट्रिय नीति, २०८० ले दर्ता शुल्क, बिमा, ऋण, बजार पहुँच र उत्पादन बजारीकरणमा समेत सहुलियतको अवधारणा अघि सारेको छ।
तर, प्रश्न उठ्छ–यदि कानुन यति प्रगतिशील छ भने अपांगता भएका उद्यमीहरूले अझै किन बैंकको ढोका ढकढक्याउनुपर्छ?
वित्तीय पहुँचः सबभन्दा कमजोर कडी
नेपाल राष्ट्र बैंकको सहुलियतपूर्ण कर्जा कार्यक्रम र युवा तथा साना व्यवसायी स्वरोजगार कोषजस्ता संरचना कागजमा आकर्षक देखिन्छन्। सहुलियतपूर्ण कर्जामा ६१ हजारभन्दा बढी ऋणी र करिब ९३ अर्ब रुपैयाँको स्वीकृत सीमा रहेको तथ्यांकले वित्तीय संरचना सानो छैन भन्ने देखाउँछ।
तर, समस्या पहुँचमा छ। बैंकहरूले ऋण स्वीकृत गर्दा धितो, जमानत, आम्दानीको इतिहास र जोखिम मूल्यांकनलाई प्राथमिकता दिन्छन्। अपांगता भएका धेरै व्यक्तिसँग यिनै पूर्वाधार कमजोर हुन्छन्। कतिपय अवस्थामा समस्या भौतिक पहुँचको हुन्छ; कतिपय अवस्थामा बैंकिङ प्रणालीभित्रको अदृश्य पूर्वाग्रहको।
यसका कारण धेरै उद्यमीहरूले आफ्नै बचत, परिवार वा सहकारीमार्फत व्यवसाय सुरु गर्नुपरेको देखिन्छ। उपलब्ध अधिकांश केस अध्ययनमा पनि प्रारम्भिक पुँजी बैंकभन्दा व्यक्तिगत स्रोतबाट जुटाइएको देखिन्छ।
यसले एउटा गम्भीर प्रश्न उठाउँछ, राज्यले उपलब्ध गराएको वित्तीय संरचनाले वास्तवमै लक्षित समुदायसम्म पुगिरहेको छ कि छैन?
प्रेरणादायी कथा मात्र होइन, आर्थिक योगदान पनि
नेपालमा अपांगता भएका व्यक्तिहरूले सञ्चालन गरेका व्यवसायलाई केवल ‘प्रेरणादायी कथा’ का रूपमा हेर्नु पनि अर्को समस्या हो।
उमेश थापाले स्थापना गरेको अगरबत्ती उद्योगले प्रत्यक्ष रूपमा ८ जनालाई रोजगारी दिएको छ भने वितरण र बिक्री सञ्जालमार्फत सयौं व्यक्ति जोडिएका छन्। दृष्टिविहीनहरूले सञ्चालन गरेको मसाज क्लिनिकले सेवा क्षेत्रमै नयाँ सामाजिक उद्यमको मोडल निर्माण गरेको छ। शिशिर दाहालको कृषि उद्यमले इन्टर्नसिपमार्फत कृषि विद्यार्थीलाई समेत अवसर दिएको छ। सम्भव जीवन केन्द्रले परिवार-आधारित उत्पादन प्रणाली निर्माण गरेको छ।
यी उदाहरण दयाको पात्र बनेका मानिसको कथा होइनन्। यी उत्पादन, सेवा, रोजगारी र स्थानीय आर्थिक गतिविधि सिर्जना गर्ने उद्यमका कथा हुन्।
आर्थिक वातावरण अझै समावेशी बनेको छैन
नेपालमा व्यवसाय सञ्चालन गर्ने वातावरण सामान्य उद्यमीका लागि पनि चुनौतीपूर्ण छ। त्यसमा अपांगता भएका व्यक्तिका लागि चुनौती दोब्बर हुन्छ।
भौतिक पूर्वाधार अझै पहुँचयुक्त छैन। अधिकांश बैंक शाखा, सरकारी कार्यालय, तालिम केन्द्र, औद्योगिक क्षेत्र र बजार संरचना पूर्ण रूपमा अपांगतामैत्री छैनन्।
डिजिटल अर्थतन्त्र विस्तार भइरहे पनि वेबसाइट, मोबाइल एप, अनलाइन भुक्तानी प्रणाली र ई-कमर्स प्लेटफर्महरूमा पहुँचयुक्त डिजाइन अभाव छ। सूचना र प्रविधिमा सीमित पहुँचले बजार प्रतिस्पर्धामा समेत असर पार्छ।
अर्कोतर्फ सामाजिक मनोवृत्ति अझै परिवर्तनको चरणमा छ। ग्राहक, आपूर्तिकर्ता वा लगानीकर्ताले अपांगता भएका व्यक्तिलाई सक्षम उद्यमीभन्दा बढी सहानुभूतिको पात्रका रूपमा हेर्ने प्रवृत्ति पूर्ण रूपमा हटिसकेको छैन। यही मानसिकता व्यवसाय विस्तारको अदृश्य अवरोध बनेको छ।
अबको बाटोः अधिकारबाट आर्थिक चरणतर्फ
नेपालले अपाङ्गता सम्बन्धी कानुन बनाउने चरण पार गरिसकेको छ। अब आवश्यकता कार्यान्वयन र आर्थिक पारिस्थितिकी निर्माणको हो।
सबभन्दा पहिले, अपांगता भएका व्यक्तिद्वारा सञ्चालित व्यवसायको राष्ट्रिय आधाररेखा अध्ययन आवश्यक छ। उद्यम संख्या, लगानी, रोजगारी, कारोबार र वित्तीय पहुँचबारे विश्वसनीय तथ्यांकबिना प्रभावकारी नीति सम्भव हुँदैन।
दोस्रो, बैंकिङ क्षेत्रमा अपांगता-उद्यम डेस्क स्थापना गरी कर्जा प्रक्रिया सरल बनाइनुपर्छ। क्रेडिट ग्यारेन्टी, सहुलियत बिमा र जोखिम साझेदारी मोडल ल्याउन सकिन्छ।
तेस्रो, स्थानीय तहदेखि राष्ट्रिय स्तरसम्म बजार पहुँच, ब्रान्डिङ, गुणस्तर परीक्षण, डिजिटल मार्केटिङ र सार्वजनिक खरिदमा प्राथमिकता दिने व्यवस्था आवश्यक छ। ऋपांगता भएका व्यक्तिलाई सामाजिक संरक्षणको उपभोक्ता मात्र होइन, आर्थिक वृद्धिका साझेदारका रूपमा हेर्ने दृष्टिकोण विकास गर्नुपर्छ।
|
सामाजिक उद्यमबाट आत्मनिर्भरताको सन्देश दिँदै उमेश
नेपालमा सामाजिक उद्यमशीलताको कुरा गर्दा उमेश थापाको नाम छुटाउन सकिँदैन।
आज ‘अमरदीप अगरबत्ती’ धेरै नेपाली उपभोक्तामाझ परिचित ब्रान्ड बनेको छ। तर, यसको सुरुआत कुनै ठूलो व्यावसायिक योजनाबाट भएको थिएन। यो सुरु भएको थियो-एउटा व्यक्तिगत पीडा र सामाजिक प्रश्नबाट।
२०६४ मा उमेशले दृष्टि गुमाए। जीवनको त्यो मोडले उनलाई गहिरो मानसिक र सामाजिक संकटमा पुर्यायो। तर, त्यसै क्रममा उनले आफूजस्तै धेरै दृष्टिविहीन र अपांगता भएका व्यक्तिको वास्तविकता नजिकबाट देखे।
धेरैजसो मानिस रोजगारविहीन थिए। कतिपय मागेर जीवन चलाइरहेका थिए। कतिपय परिवारको पूर्ण निर्भरतामा बाँचेका थिए।
त्यसपछि उनको मनमा एउटा प्रश्न जन्मियो, ‘अपांगता भएकाहरूले मागेर होइन, आफ्नै श्रम र सीपबाट किन बाँच्न सक्दैनन्?’
यही प्रश्नले उनको उद्यमशील यात्राको आधार तयार गर्यो।
दृष्टि गुमाएपछि उनले सीधै अगरबत्ती उद्योग सुरु गरेका थिएनन्। सुरुआती दिनमा साबुन उत्पादन, झोला बनाउने, मैनबत्ती निर्माणजस्ता विभिन्न काममा हात हाले। तर, ती प्रयासले अपेक्षित सफलता पाएनन्।
तर उनी निराश भएनन्। व्यवसाय असफल भयो, सपना असफल भएन। अन्ततः २०६५ मा उनले डाँफे अगरबत्ती उद्योग स्थापना गरे।

सुरुमा उत्पादन सानो थियो। बजार सीमित थियो। तर, गुणस्तर र वितरण प्रणालीमा ध्यान दिएपछि विस्तारै व्यवसाय बढ्दै गयो।
त्यसपछि ‘अमरदीप अगरबत्ती’ ब्रान्ड स्थापित भयो।
आज उद्योगमा प्रत्यक्ष रूपमा ८ जना काम गर्छन्। यसको वास्तविक प्रभाव त्योभन्दा धेरै ठूलो छ। वितरण र बिक्री सञ्जालमार्फत १५० देखि २०० जनासम्मले नियमित आयआर्जन गरिरहेका छन्। व्यवसाय विस्तारका क्रममा यो संख्या ३००-४०० सम्म पुगेको समय पनि थियो।
उमेशको यात्राले देखाउँछ, दृष्टि गुमे पनि दृष्टिकोण गुमाउनुपर्दैन। कहिलेकाहीँ जीवनको सबैभन्दा ठूलो अन्धकारले नै अरूका लागि उज्यालो सिर्जना गर्ने प्रेरणा दिन्छ।
विशेष कुरा के भने उद्योगले दृष्टिविहीन, अपांगता भएका व्यक्ति तथा विशेष परिस्थितिका महिलालाई प्राथमिकता दिने नीति अपनाएको छ। उमेशका अनुसार व्यवसायको उद्देश्य केवल उत्पादन बेच्नु मात्र होइन, आत्मनिर्भरता निर्माण गर्नु पनि हो।
‘हामी अगरबत्ती मात्र बेचिरहेका छैनौं,’ उनी भन्छन्, ‘हामी आत्मसम्मान बेचिरहेका छौं।’
उमेशको अनुभवमा अपांगता भएका व्यक्तिलाई सबभन्दा बढी आवश्यक कुरा दान होइन, अवसर हो। उनका अनुसार धेरै कार्यक्रम सहानुभूतिमा आधारित हुन्छन्, तर दीर्घकालीन आर्थिक सशक्तीकरणमा केन्द्रित हुँदैनन्।
‘कसैलाई एक दिनको सहयोग गर्नुभन्दा उसलाई जीवनभर काम गर्ने अवसर दिनु धेरै महत्वपूर्ण हो,’ उनी भन्छन्। यही सोचका कारण अमरदीप अगरबत्ती केवल उद्योगका रूपमा होइन, सामाजिक परिवर्तनको माध्यमका रूपमा समेत स्थापित हुँदै गएको छ।
उमेशको यात्राले देखाउँछ, दृष्टि गुमे पनि दृष्टिकोण गुमाउनुपर्दैन। कहिलेकाहीँ जीवनको सबैभन्दा ठूलो अन्धकारले नै अरूका लागि उज्यालो सिर्जना गर्ने प्रेरणा दिन्छ।
सम्भव जीवन केन्द्रः सामूहिक उद्यमशीलताको एउटा फरक प्रयोग
काठमाडौंमा कोठा भाडामा पाउन गाह्रो छ। अपांगता भएका व्यक्तिका लागि झनै गाह्रो। रोजगारी पाउन पनि सहज छैन। अझ श्रीमान्-श्रीमती दुवै अपांगता भएका परिवारका लागि त चुनौती दोब्बर हुन्छ।
यही यथार्थबाट जन्मिएको हो-सम्भव जीवन केन्द्र।

२०७२ को विनाशकारी भूकम्पपछि ९ जना अपांगता भएका व्यक्तिले मिलेर यो केन्द्र स्थापना गरेका थिए। उनीहरूको उद्देश्य स्पष्ट थियो-अरूको सहयोगको प्रतीक्षा गर्ने होइन, आफ्नै अवसर आफैं सिर्जना गर्ने।
सुरुआतमा उनीहरूले दुई लाख रुपैयाँ संकलन गरे। त्यही रकमबाट सिलाइ-कटाइसम्बन्धी काम सुरु भयो।
आज केन्द्रमा सात परिवार सक्रिय रूपमा आबद्ध छन्।
यहाँ महिलाका कपडा, ब्लाउज, म्याक्सी, कुर्ता, सुरुवाल, बालबालिका पोसाकलगायत सामग्री उत्पादन गरिन्छ। उत्पादन काठमाडौंका विभिन्न पसल र इन्द्रचोकका होलसेल बजारसम्म पुग्ने गरेका छन्।
सम्भव जीवन केन्द्रको उद्देश्य केवल आम्दानी गर्नु मात्र होइन। यसले अपांगता भएका व्यक्तिलाई सम्मानपूर्वक बाँच्न सकिन्छ भन्ने सन्देश दिन खोजिरहेको छ। केन्द्रसँग आबद्ध धेरै सदस्यहरू पहिले बेरोजगार थिए। कतिपय परिवार आर्थिक रूपमा अरूमा निर्भर थिए। आज उनीहरू आफ्नै श्रमबाट आम्दानी गरिरहेका छन्। त्यसले उनीहरूको जीवनस्तर मात्र परिवर्तन गरेको छैन, आत्मविश्वास पनि बढाएको छ।
‘हामीलाई अवसर चाहिएको हो, सहानुभूति होइन,’ केन्द्रका कोषाध्यक्ष अग्निधर दाहाल भन्छन्।
हाल उपलब्ध स्थान र स्रोतका कारण सात परिवार मात्रै समेटिएका छन्। तर, केन्द्रको सपना धेरै ठूलो छ। आगामी दिनमा ४० देखि ५० परिवारसम्मलाई समेट्ने गरी विस्तार गर्ने योजना रहेको उनीहरू बताउँछन्।
स्रोत र पूर्वाधार अभावले विस्तारको गति सुस्त भए पनि उनीहरू आफ्नो लक्ष्यप्रति आशावादी छन्।
उनीहरूलाई विश्वास छ, अपांगता भएका व्यक्तिलाई अवसर मिल्यो भने उनीहरू केवल लाभग्राही होइन, उत्पादक शक्ति बन्न सक्छन्।
पुँजीको संकटः सबै उद्यमीको साझा समस्या
चिरण पौडेल, रुपा अर्याल, शिशिर दाहाल, प्रवेश शर्मा, उमेश थापा वा सम्भव जीवन केन्द्र, यी सबै कथामा एउटा साझा समस्या भेटिन्छ। त्यो हो-वित्तीय पहुँच।
कसैले बैंकबाट सहज ऋण पाएनन्, कसैले सरकारी अनुदान पाएनन्। कसैले सहुलियत कर्जाको प्रत्यक्ष लाभ लिन सकेनन्।
अधिकांशले व्यक्तिगत बचत, पारिवारिक सहयोग, सहकारी ऋण वा पुनःलगानीको आधारमा व्यवसाय सुरु गरेका छन्।

विडम्बना के भने कागजमा हेर्दा अपांगता भएका व्यक्तिका लागि थुप्रै व्यवस्था छन्।
अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४ ले आर्थिक सशक्तीकरणलाई प्राथमिकता दिएको छ। युवा तथा साना व्यवसायी स्वरोजगार कोषले अपांगता भएका व्यक्तिलाई लक्षित समूहमा समेटेको छ।
धेरै अपांगता भएका व्यक्तिका लागि व्यावसायिक योजना बनाउने, बजारसँग जोडिने वा बैंकिङ प्रक्रियामा सहभागी हुने वातावरण अझै सहज छैन।
विभिन्न सरकारी निकायले सहुलियतपूर्ण कर्जा र उद्यमशीलता कार्यक्रम सञ्चालन गरिरहेका छन्। तर, व्यवहारमा ती कार्यक्रम उद्यमीसम्म पर्याप्त रूपमा पुग्न सकेका छैनन्।
नीति र व्यवहारबीचको खाडल
धेरै उद्यमीहरूको अनुभवमा समस्या नीति अभावमा होइन, कार्यान्वयनको कमजोरीमा छ।
कर्जा लिन जाँदा बैंकहरूले धितो खोज्छन्। धितो भए पनि व्यावसायिक क्षमताभन्दा शारीरिक अवस्थालाई हेर्ने प्रवृत्ति अझै कतिपय ठाउँमा कायमै छ।
धेरै अपांगता भएका व्यक्तिका लागि व्यावसायिक योजना बनाउने, बजारसँग जोडिने वा बैंकिङ प्रक्रियामा सहभागी हुने वातावरण अझै सहज छैन।
यसैले धेरै सम्भावनायुक्त उद्यमहरू सानो दायरामै सीमित भइरहेका छन्।
यदि सहज वित्तीय पहुँच, उद्यम परामर्श र बजार पहुँच सुनिश्चित गर्न सकियो भने यी व्यवसायको आकार अहिलेको भन्दा धेरै ठूलो हुन सक्ने सम्भावना छ।
दया होइन, अवसर चाहिन्छ
यी सबै कथाले एउटा साझा सन्देश दिन्छन्।
अपांगता भएका व्यक्तिहरूको सबभन्दा ठूलो आवश्यकता दया होइन, अवसर हो। नेपालमा अपांगताको बहस अझै पनि सामाजिक सुरक्षा वरिपरि घुमिरहेको छ। भत्ता, सहुलियत र राहतका कार्यक्रम आवश्यक छन्, तर त्यो पर्याप्त छैन।
दीर्घकालीन परिवर्तनका लागि आर्थिक सहभागिता आवश्यक छ। जब कुनै व्यक्ति आफ्नै व्यवसाय सञ्चालन गर्छ, उसले केवल आफ्नो जीवन परिवर्तन गर्दैन। उसले परिवारको आर्थिक अवस्था बदल्छ, अरूलाई रोजगारी दिन्छ, कर तिर्छ र अर्थतन्त्रमा योगदान पुर्याउँछ।
यही कारण अपांगता भएका व्यक्तिहरूलाई सामाजिक सुरक्षाको विषय मात्र नभई आर्थिक विकासको विषयका रूपमा पनि हेर्न आवश्यक छ।
शरीरले होइन, सोचले बनाउँछ सिमाना
अपांगता भएका व्यक्तिहरू अर्थतन्त्रका निष्क्रिय पात्र होइनन्। उनीहरू उत्पादन गर्ने, रोजगारी सिर्जना गर्ने, कर तिर्ने र मू्ल्य निर्माण गर्ने नागरिक हुन्।
उनीहरूको यात्राले देखाउँछ, सबभन्दा ठूलो अवरोध शरीरमा होइन, संरचनामा छ। समाजको दृष्टिकोणमा छ। वित्तीय प्रणालीको पहुँचमा छ। अवसरको असमान वितरणमा छ।
यदि बैंकहरूले क्षमता हेर्न सिके, यदि सरकारी कार्यक्रमहरू वास्तविक उद्यमीसम्म पुगे, यदि बजारले सहानुभूतिको सट्टा विश्वास गर्न थाल्यो भने आज साना देखिने यी उद्यमहरू भोलि नेपालको समावेशी अर्थतन्त्रका शक्तिशाली उदाहरण बन्न सक्छन्।
शरीरले केही सीमितता ल्याउन सक्छ। तर, सपना, सीप र साहसलाई सीमित गर्न सक्दैन। नेपालले अब अपांगता भएका व्यक्तिलाई दयाको दृष्टिले होइन, सम्भावनाको दृष्टिले हेर्न सिक्नुपर्छ।