काठमाडौं। मुलुकको केन्द्रीय बैंकको सूचना प्रविधि र डाटा सुरक्षा प्रणालीमा गम्भीर प्राविधिक त्रुटि फेला परेको छ। महालेखापरीक्षकको ६३औं वार्षिक प्रतिवेदनअनुसार नेपाल राष्ट्र बैंकले आफ्नो नेटवर्क टोपोलोजी र विपद् व्यवस्थापन पूर्वाधारलाई सुरक्षित राख्न नसक्दा समग्र बैंकिङ प्रणाली नै ‘सिंगल पोइन्ट फेलियर’ (कुनै एक बिन्दुमा प्राविधिक समस्या आउँदा सम्पूर्ण प्रणाली ठप्प हुने अवस्था) को उच्च जोखिममा परेको छ।
महालेखाको प्रतिवेदनअनुसार राष्ट्र बैंकले नेटवर्क टोपोलोजीअनुसार आफ्नो मुख्य डाटा सेन्टर र डाटा रिकभरी साइट बीच बहुवैकल्पिक नेटवर्क मार्गहरू समाहित हुने गरी प्रणालीको डिजाइन गरेको छैन। यसको अर्थ, मुख्य डाटा सेन्टर र ब्याकअप डाटा राख्ने रिकभरी साइट जोड्ने नेटवर्कमा एउटा मात्र बाटो वा कनेक्सन प्रयोग गरिएको छ।
यदि उक्त मुख्य कनेक्सनमा कुनै प्राविधिक गडबडी, प्राकृतिक प्रकोप वा लिंक टुट्ने समस्या आएमा वैकल्पिक मार्ग नहुँदा केन्द्रीय बैंकको डाटा आदानप्रदान र सञ्चालन पूर्ण रूपमा अवरुद्ध हुन सक्छ। महालेखाले यसलाई ‘सिंगल पोइन्ट फेलियर’ को गम्भीर जोखिमका रूपमा व्याख्या गर्दै तत्काल सुधार गर्न निर्देशन दिएको छ।
आरटीजीएसजस्ता संवेदनशील प्रणालीको ड्रिल नै भएन
वित्तीय कारोबार र फस्यौटका लागि देशकै सबैभन्दा संवेदनशील मानिने रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) लगायतका अन्य महत्वपूर्ण प्रणालीको विपद् व्यवस्थापन परीक्षण (ड्रिल) समेत यस वर्ष नगरिएको प्रतिवेदनमा उल्लेख छ।
दैनिक अर्बौं रुपैयाँको अन्तरबैंक कारोबार तत्काल फस्यौट गर्ने आरटीजीएस जस्तो प्रणालीको ‘विपद् पुनःस्थापना ड्रिल’ (डिजास्टर रिकोभरी ड्रिल) नगरिनुले आकस्मिक संकटको बेला प्रणालीले काम गर्छ कि गर्दैन भन्ने कुरा अनिश्चित बनेको छ। यस्तो संवेदनशील प्रणालीमा आउने प्राविधिक अवरोधले देशको समग्र वित्तीय बजार र अर्थतन्त्रलाई क्षणभरमै ठप्प पार्ने क्षमता राख्छ।
केन्द्रीय बैंकजस्तो संवेदनशील निकायको प्रविधिमा यस्तो कमजोरी देखिनु चिन्ताजनक रहेको भन्दै महालेखाले राष्ट्र बैंकमा भरपर्दो र सुदृढ विपद् पुनःस्थापना पूर्वाधार तत्काल तयार गर्न निर्देशन दिएको छ।
प्रतिवेदनले नेटवर्कलाई बहुवैकल्पिक बनाएर सिंगल पोइन्ट फेलियरको जोखिम शून्यमा झार्न र आरटीजीएससहितका सबै मुख्य प्रणालीहरूको नियमित अन्तरालमा अनिवार्य रूपमा ड्रिल सञ्चालन गर्न राष्ट्र बैंक व्यवस्थापनलाई महालेखाले सचेत गराएको छ।