काठमाडौं। नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार बैंकले उक्त अवधिसम्म ९८ करोड ७३ लाख ९५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १९.९८ प्रतिशतले कम हो।
अघिल्लो वर्ष बैंकले १ अर्ब २३ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
बैंकको समीक्षा अवधिमा खुद ब्याज आम्दानी २३.८९ प्रतिशतले घटेर १ अर्ब ४४ करोड ६६ लाख रुपैयाँमा सीमित भएको छ। अघिल्लो वर्षको सोही अवधिमा बैंकको खुद ब्याज आम्दानी १ अर्ब ९० करोड ८ लाख रुपैयाँ थियो।
यद्यपि, खुद शुल्क तथा कमिसन आम्दानी भने उल्लेख्य रूपमा बढेको छ। गत असारसम्म यस्तो आम्दानी ५ करोड ८० लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्ष २ करोड १० लाख थियो।
बैंकको कुल सञ्चालन आम्दानी १ अर्ब ५० करोड ४ लाख रुपैयाँ तथा सञ्चालन नाफा १ अर्ब ४१ करोड ६८ लाख रहेको छ। अघिल्लो वर्ष यी सूचक क्रमशः १ अर्ब ९२ करोड १९ लाख र १ अर्ब ७६ करोड ६५ लाख थिए। २१ अर्ब ६० करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ३ अर्ब ७१ करोड ८७ लाख रुपैयाँ सञ्चित छ।
नाफा घटेसँगै बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) पनि घटेको छ। अघिल्लो वर्ष ५.७१ रुपैयाँ रहेको ईपीएस घटेर ४.५७ रुपैयाँमा झरेको छ। प्रतिसेयर नेटवर्थ ११७.२२ रुपैयाँ कायम भएको छ।
बैंकको निक्षेप र कर्जा दुवैमा भने वृद्धि देखिएको छ। गत असार मसान्तसम्म निक्षेप १.९४ प्रतिशतले बढेर ७ अर्ब ८३ करोड ९१ लाख पुगेको छ भने कर्जा प्रवाह २५.९६ प्रतिशतले वृद्धि भई ३१ अर्ब ४२ करोड ४२ लाख पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा बैंकको निक्षेप ७ अर्ब ६८ करोड ९८ लाख र कर्जा २४ अर्ब ९४ करोड ७९ लाख थियो।