काठमाडौं। नेपालको ठूलो व्यावसायिक घराना सांघाई समूहद्वारा प्रवर्द्धित त्रिवेणी राइस इन्डस्ट्रीले एक वर्षमै दोब्बरले व्यापार बढाएकोमा वृद्धि गरेको छ। आर्थिक वर्ष २०२४ मा ५६ करोड ३० लाख रुपैयाँ बराबरको व्यापार गरेको यो उद्योगले आव २०२५ मा १ अर्ब ६ करोड ५० लाख रुपैयाँको कुल व्यापार गरेको हो।
सञ्चालनको पहिलो १० महिनामा ५६ करोड ३० लाख व्यापार गरेको उद्योगले पछिल्लो एक वर्षमै आफ्नो आम्दानीलाई झन्डै दोब्बर बनाउन सफल भएको केयर रेटिङ नेपालद्धारा प्रकाशित उद्योगको वित्तीय प्रतिवेदनमा उल्लेख छ।
व्यापारको यो लोभलाग्दो वृद्धिसँगै केयर रेटिङले कम्पनीले उपयोग गरिरहेको कुल १ अर्ब रुपैयाँ बराबरको बैंकिङ ऋणको साखलाई ‘डबल बी’ र ‘ए फोर’ मा पुनः पुष्टि गरेको छ, जसले लगानीकर्ता र बैंकमा थप उत्साह बढाएको छ।
सन् २०२३ देखि वीरगन्ज–३२, चोर्नी पर्सामा सञ्चालनमा आएको यो उद्योगले प्रतिघन्टा ८ मेट्रिक टन चामल प्रशोधन गर्ने क्षमता छ। अत्याधुनिक प्लान्टमार्फत उद्योगले नेपाली उपभोक्ता रोजाइमा पर्ने जिरा मसिनो र सोना मन्सुली चामल उत्पादन गरी गर्दै आएको छ। चामलका अतिरिक्त उद्योगले भुस, ढुटो, टुक्रा चामल र नक्कुजस्ता सह–उत्पादनसमेत बिक्री गर्ने गरेको छ।
चामल नेपालीको मुख्य खाद्यान्न भएको र यसको माग सधैं स्थिर रहने हुँदा त्रिवेणी राइसले भविष्यमा आफ्नो उत्पादन क्षमतालाई अझ बढी उपयोग गर्दै लैजाने योजना बनाएको छ। उद्योगको यो प्रगतिलाई प्रवद्र्धक सांघाई समूहको लामो व्यावसायिक अनुभव र उद्योगको रणनीतिक अवस्थितिले ठूलो सहयोग पुर्याएको छ।
तराई क्षेत्रमै कारखाना भएकाले कच्चा पदार्थको उपलब्धता सहज हुनु र भारतबाट हुने आयातमा ढुवानी लागत कम पर्नु उद्योगको सबल पक्ष हो।
उद्योगले घाटालाई चिर्दै नाफाको बाटो तय गरेको छ। गत आर्थिक वर्षमा नगद घाटामा रहेको यो उद्योगले आर्थिक वर्ष २०२५ मा ७० लाख रुपैयाँ नगद नाफा आर्जन गरेको छ। कम्पनीको सञ्चालन नाफाको मार्जिन बुझाउने ‘पीबीआईएलडीटी मार्जिन’ ३।३४ प्रतिशतबाट सुधार भएर ५।७८ प्रतिशत पुगेको छ।
यसले उद्योगले आफ्नो सञ्चालन खर्च कटाएर व्यापारबाट राम्रो बचत गर्न थालेको बुझाउँछ। उद्योगको पुँजीगत संरचनाको सन्तुलन देखाउने ‘ओभरअल गेयरिङ’ अनुपात ३।९७ गुणाबाट सुधार भएर ३.४६ गुणामा झरेको छ। यसको अर्थ कम्पनीमा बैंकको ऋण र सञ्चालकको स्वपुँजीको अनुपात अघिल्लो वर्षको तुलनामा बढी सन्तुलित बन्दै गएको छ। ऋणको यो हिस्सा क्रमिक रूपमा कम हुँदै जानुले कम्पनीको वित्तीय स्वास्थ्य मजबुत बन्दै गएको संकेत गर्छ।
उद्योगको ब्याज तिर्न सक्ने क्षमता अर्थात् ‘इन्ट्रेस्ट कभरेज रेसियो’ पनि १।०९ गुणा पुगेको छ। यसले कम्पनीले आफ्नो सञ्चालन नाफाबाट बैंकको ब्याज सजिलै भुक्तानी गर्न सक्ने अवस्था सिर्जना भएको देखाउँछ।
चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो ९ महिनामै ८९ करोड २० लाख रुपैयाँको व्यापार गरिसक्नुले कम्पनीको व्यापारिक लय अझै आक्रामक र सकारात्मक रहेको पुष्टि गर्छ। उद्योगको ‘अपरेटिङ साइकल’ अर्थात् कच्चा पदार्थलाई नगदमा रूपान्तरण गर्न लाग्ने समय १८७ दिनबाट घटेर १७३ दिनमा झर्नुले कम्पनीको व्यावसायिक दक्षता बढेको बुझाउँछ।
धान मौसमी उत्पादन भएकाले सिजनमा ठूलो स्टक राख्नुपर्ने बाध्यताका बावजुद कम्पनीले ८९ दिनको मौज्दात कायम राख्नुलाई कुशल व्यवस्थापन मानिएको छ।
वीरेन्द्रकुमार सांघाईको अध्यक्षतामा रहेको यो उद्योगले बैंक, बिमा र उत्पादन क्षेत्रमा आफ्नो समूहको अनुभवलाई पूर्ण रूप सदुपयोग गरेको छ। देशभर आफ्नो वितरण सञ्जाल फैलाएको त्रिवेणी राइसले उपभोक्ता र खाद्य सेवा दुवै क्षेत्रमा सीधै पहुँच बनाएको छ।
मूल्यमा हुने उतारचढाव र बजारको तीव्र प्रतिस्पर्धाका बाबजुद सांघाई समूहको वित्तीय शक्ति र चामलको स्थिर मागले त्रिवेणी राइस इन्डस्ट्रीलाई दीर्घकालीन रूपमा एक सफल र नाफामूलक उद्योगको रूपमा स्थापित गर्ने देखिएको छ।
कर्जाको मात्रालाई व्यापारको आकारअनुसार अझ व्यवस्थित बनाउँदै र चालू पुँजी कर्जाको प्रभावकारी परिचालन गर्दै जाँदा कम्पनीको वित्तीय साख आगामी दिनमा अझ उच्च हुने रेटिङ प्रतिवेदनमा उल्लेख छ।