काठमाडौं। गत जेठ ४ गते ग्लोबल आइएमई बैंक विराटनगरमा कार्यरत कर्मचारी पिताम्बर खड्काको आत्महत्याको घटनाप्रति बैंक तथा वित्तीय क्षेत्रका कर्मचारीले ध्यानाकर्षण भएको जनाएका छन्।
आज एभरेष्ट बैंक कर्मचारी संगठन, नबिल बैंक कर्मचारी संघ, एन आई सी एशिया बैंक कर्मचारी संघ, प्रभु बैंक बित्तिय संस्था कर्मचारी युनियन, नेपाल एसबीआई बैंक कर्मचारी संघ, हिमालयन बैंक कर्मचारी संगठन र सिद्धार्थ बैंक कर्मचारी संघले विज्ञप्ति प्रकाशित गर्दै उक्त घटनाले समग्र बैंकिङ क्षेत्रका श्रमजीवी कर्मचारीलाई स्तब्ध, मर्माहत र चिन्तित बनाएको उल्लेखे गरेका छन्।
‘समग्र बैंकिङ क्षेत्रको दिगोर जिम्मेवार विकासका लागि कर्मचारीमैत्री कार्यसंस्कृती, सुरक्षित कार्य वातावरण तथा श्रम अधिकारको पूर्ण प्रत्याभूती अपरिहार्य रहेको छ । त्यसैले, यस क्षेत्र भित्र बढ्दो असुरक्षा, मानसिक दबाब तथा कार्यस्थलमा हुने दुव्र्यवहारका घटनाहरूलाई गम्भीर रूपमा लिई यस्ता समस्या न्यूनीकरण तर्फ ठोस पहल गर्न सम्बन्धित सबै पक्षको गम्भीर ध्यानाकर्षण गराउँदछौं’, विज्ञप्तिमा उल्लेख छ।
विज्ञप्तिमा अगाडि भनिएको छ, ‘उच्च तहका कर्मचारीमाथि कुनै पनि किसिमका कारबाही सुरु हुँदा सक्रिय अभिव्यक्ति दिने विभिन्न समूह तथा संस्था यस घटनामा उठिरहेका सम्भावित ‘आत्महत्या दुरुत्साहन’सम्बन्धी गम्भीर प्रश्नमा मौन देखिनु चासो र चिन्ताको विषय बनेको छ। त्यसैले उक्त घटनाको निष्पक्ष छानबिन गरी यदि कसैको प्रत्यक्ष वा अप्रत्यक्ष दबाब, दुरुत्साहन, गैरजिम्मेवार व्यवहार वा संस्थागत लापरवाही प्रमाणित भए प्रचलित कानुनबमोजिम आवश्यक कारबाही गर्न सम्बन्धित निकायसमक्ष माग गर्दछौँ।’
संगठनहरुले प्रधानमन्त्रीको कार्यालयसहित निकायमा दिएको बोधार्थ
१. सम्माननीय प्रधानमन्त्रीज्यू, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार, काठमाडौं ।
२. माननीय अर्थमन्त्रीज्यू, अर्थ मन्त्रालय, सिंहदरबार, काठमाडौं
३. माननीय युवा, श्रम तथा रोजगार मन्त्रीज्यू, युवा, श्रम तथा रोजगार मन्त्रालय, काठमाडौं
४. श्रीमान गभर्नरज्यू, नेपाल राष्ट्र बैंक, बालुवाटार, काठमाडौं
५. श्रीमान अध्यक्षज्यू, नेपाल बैंकर्स संघ, काठमाडौं
६. श्रीमान अध्यक्षज्यू, डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल, काठमाडौं ।
७. श्रीमान अध्यक्षज्यू, नेपाल लघुवित्त बैंकर्स संघ, काठमाडौं
८. श्रीमान अध्यक्षज्यू, नेपाल वित्तीय संस्था संघ, काठमाडौं
९. राष्ट्रिय मानव अधिकार आयोग, हरिहरभवन, ललितपुर
१०.अन्तर्राष्ट्रिय श्रम संगठन, नेपाल कार्यालय
११.सम्पूर्ण सञ्चारकर्मी साथीहरु तथा सञ्चार माध्यमहरू