काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सामाजिक सन्जालमा जे बोल्छन्, जे खान्छन्, जे लाउँछन्। उनको देखासिकी गर्ने जमात क्रमशः बाक्लिँदो छ। प्रधानमन्त्रीले बेलाबेला सामाजिक सन्जालबाट आर्थिक, सामाजिक, सांस्कृतिक परम्परालाई नेपालीपनसँग जोडिरहेकै छन्।
यसै मेसोमा (जेठ २ गते) शनिबार पौने २ बजे प्रधानमन्त्री बालेनले सामाजिक सन्जाल फेसबुकमा सरकारी स्वामित्वको दुग्ध विकास संस्थानको उत्पादन चीज खाँदै गर्दाको फोटो पोस्ट गरे। उक्त पोस्टमा उनले लेखेका छन्, ‘से चीज’ डीडीसीको चीज।
प्रधानमन्त्री शाहले स्वदेशी उत्पादन प्रयोगलाई प्रवर्द्धन गर्ने उद्देश्यले आफ्नो फोटोसहित सामाजिक सञ्चालनमा पोस्ट गरेका थिए।
प्रधानमन्त्री शाहले बिहान डीडीसीको प्रचारप्रसार गरेसँगै साँझ कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले पनि स्वदेशी उत्पादनको प्रयोगलाई प्रवर्द्धन गर्दै आफ्नो कार्यकक्षमै डीडीसीका दुग्धजन्य उत्पादन प्रयोग गरेकी थिइन्।
प्रधानमन्त्री र कृषि मन्त्रीले डीडीसीका उत्पादन उपभोग गर्दै प्रवद्र्धन गरेपछि बजारमा यसको सकारात्मक प्रभाव देखिन थालेको छ। डीडीसी उत्पादनप्रति उपभोक्ताको आकर्षण बढेसँगै बिक्री र सोधपुछमा समेत उल्लेख्य सुधार आएको छ।
दुग्ध विकास संस्थानका महाप्रबन्धक शरणकुमार पाण्डेका पहिलाको तुलनामा ५/७ प्रतिशत माग बढी आएको छ। बजारमा डीडीसी उत्पादनको माग बढेकाले मागअनुसार पूति गर्ने नसकिएको उनले बताए। प्रधानमन्त्री शाहले डीडीसी उत्पादनको प्रचार प्रसार गरेकाले गर्दा त्यस केही हदसम्म मागसमेत बढेको उनको भनाइ छ।
अहिले दूध उत्पादन कम हुने लिन सिजन भएकाले गत वर्षको तुलनामा उत्पादन केही घटेको छ।
‘प्रधानमन्त्री र कृषि मन्त्रीले डीडीसी प्रचार प्रसार गदिदाँ हामीलाई उत्साहित बनाएको छ,’ उनले थपे,‘अहिले बजारमा डीडीसीको आकर्षण बढ्या छ।’ उनका अनुसार याक चिजको खुद्रा बिक्रीमा मात्रै झण्डै ३० प्रतिशतको वृद्धि देखिएको छ।
डीडीसीले दूध, दही, घ्यू, बटर, पनिर, आइसक्रिमलगायतका विभिन्न दुग्धजन्य वस्तु उत्पादन गर्दै आएको छ। संस्थानले किसानबाट दूध संकलन गरी प्रशोधनपछि उपभोक्तासम्म पुर्याउने व्यवस्था मिलाउँदै आएको छ, जसले हजारौँ दुग्ध किसानलाई प्रत्यक्ष लाभ पुर्याएको छ। पहिले डीडीसीका काउन्टरमा नछिर्ने उपभोक्तासमेत अहिले चासो राख्दै दही, चिज लगायतका दुग्धजन्य पदार्थ खरिद गर्न आउन थालेका छन्।
‘हामीसँग अहिले त स्टकको त्यस्तो छैन। हामीलाई आवश्यक पर्ने स्टकहरू मात्र छ, भने मतलब दूध पाउडर धुलो दूध र बटरको डिमान्ड बढ्या छ,’ महाप्रबन्धक पाण्डे भने। महाप्रबन्धक पाण्डेय डीडीसी सुधारका लागि मन्त्रीको फाइल आफूहरु समक्ष नआइपुगेकाले निर्देशकको फाइल आइपुगेपछि कार्ययोजना बनाएर लागू गर्ने बताए।
अहिले डीडीसीको ब्रान्डिङमा ठूलो सहयोग पुगेको छ। काठमाडौँको लैनचौरस्थित डीडीसीको मुख्य सेल्स काउन्टरमा मात्रै पहिले दैनिक २ लाख ५० हजार देखि ३ लाख रुपैयाँसम्मको कारोबार हुने गरेकोमा अहिले त्यो बढेर दैनिक ३ लाख ५० हजार देखि ४ लाख रुपैयाँसम्म पुगेको छ। यो मुख्य काउन्टरमा मात्रै दैनिक करिब १ लाख रुपैयाँ बराबरको अतिरिक्त व्यापार हो।
अहिले दूध उत्पादन कम हुने लिन सिजन भएकाले गत वर्षको तुलनामा उत्पादन केही घटेको छ। हाल संस्थानले दैनिक ६० हजार लिटरको हाराहारीमा दूध संकलन गरिरहेको छ। संकलित दूध र दही जस्ता बजारमा माग बढी भएका ताजा सामग्रीहरू दैनिक रूपमै खपत भइरहेका छन्। बजार व्यवस्थापनका लागि आवश्यक पर्ने धूलो दूध मिल्क पाउडर र बटर भने संस्थानसँग अझै २/३ महिनालाई पुग्ने मौज्दात सुरक्षित छ।
पदाधिकारीहरूका अनुसार बजारमा निजी क्षेत्रसँग प्रतिस्पर्धा स्वस्थ छ, तर अझै पनि खुल्ला दूध र घरमै घिउ बनाएर बेच्ने अनौपचारिक बजार निकै ठुलो छ। सरकारले नियमहरू कडाइका साथ लागू गरेर यो अनौपचारिक बजारलाई औपचारिक दायरामा ल्याउन सके डिडिसीको माग अझै अत्यधिक हुने देखिन्छ।
किसानको दुग्ध भुक्तानीको समस्या पनि बिस्तारै सुधारोन्मुख मोडमा गएको डीडीसीले दाबी गरेको छ। विगतका पुराना शीर्षकसमेत गरेर हाल संस्थानले किसानलाई करिब ४५/५० करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ। उक्त बक्यौता रकम भुक्तानीका लागि संस्थानले अहिले दैनिक करिब १ करोड रुपैयाँका दरले नियमित भुक्तानी गरिरहेको महाप्रबन्धक पाण्डे बताउँछन्।
पहिले किसानले भुक्तानी पाउन ४ महिनासम्म कुर्नुपर्ने बाध्यता रहेकोमा अब त्यसलाई घटाएर १ महिनाको अवधिमा झार्ने योजना रहेको उनले बताए। नियमित प्रक्रियाअन्तर्गत १५/२० करोडको हिसाब रनिङ रहने भए पनि बाँकी रहेको करिब ३० करोड रुपैयाँ चाँडै किसानको हातमा पुर्याउने गरी गरेको उनको भनाइ छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुश्बु ओलीले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले डीडीसीको उत्पादन चीज खाँदैमा किसानले भुक्तानी नपाउने बताइन्।
स्वदेशमै उत्पादन हुने दूध तथा दुग्धजन्य पदार्थको गुणस्तर र विश्वसनीयताका कारण डीडीसीका उत्पादन बजारमा लोकप्रिय छ।
प्रमुख सचेतक ओलीले संस्थाले किसानलाई तिर्नुपर्ने ६० करोड बक्यौता अहिलेसम्म भुक्तानी नगरेको अवस्थामा प्रधानमन्त्रीले चीज खाएर बजार विस्तार हुन नसक्ने बताइन्। उनले किसानको बाँकी बक्यौता तिरेर संस्थानलाई नाफामा लैजान सके मात्रै प्रधानमन्त्रीले चीज खाएको अर्थ हुने उनको भनाइ छ।
मन्त्री चौधरीले स्वदेशमै उत्पादित गुणस्तरीय वस्तुको उपभोग बढाउनुपर्ने आवश्यकता औँल्याउँदै डीडीसीका उत्पादन प्रयोग गरिन्। उनले स्वदेशी उत्पादनको प्रयोगले आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्ने र देशको अर्थतन्त्र मजबुत बनाउन टेवा पुग्ने विश्वास व्यक्त गरिन्।
मन्त्री चौधरीले उपभोक्तालाई समेत स्वदेशी उत्पादनतर्फ आकर्षित हुन आग्रह समेत गरेकी छन्। स्वदेशमै उत्पादन हुने दूध तथा दुग्धजन्य पदार्थको गुणस्तर र विश्वसनीयताका कारण डीडीसीका उत्पादन बजारमा लोकप्रिय छ।
मन्त्री चौधरीको डीडीसी सुधारका लागि ९ बुँदे निर्देशन जारी
१. विगत पाँच वर्षको दूध संकलन र विक्रि वितरणको मासिक तथ्याङ्क तथा आम्दानी खर्चको यथार्थ विवरण पन्ध्र दिनभित्र मन्त्रालयमा पेश गर्ने र प्रत्येक महिनाको मासिक विवरण अर्को महिनाको सात दिनभित्र मन्त्रालयमा पठाउने व्यवस्था मिलाउने।
२. संस्थानले असूलउपर गर्नुपर्ने बक्यौता रकम प्रचलित कानून बमोजिम असुल उपर गरी एक महिना भित्र मन्त्रालयलाई जानकारी दिने।
३. दूध संकलनदेखि दुग्ध पर्दाथ बिक्री वितरण, बिलिङ्ग प्रणाली, लेखा प्रणाली, सम्पत्ती तथा जिन्सी अवस्था लगायत संस्थानबाट प्रवाह हुने सम्पूर्ण प्रक्रियालाई नेपाल सरकारले स्वीकृत गरेको १०० बुँदे सुधारका बुँदा वमोजिम तीन महिना भित्र विद्युतीय अभिलेखीकरणमा आवद्ध गर्ने।
४. संस्थानमा कार्यरत सबै प्रकारका कर्मचारी र कामदारहरुको अनिवार्य विद्युतीय हाजिरी गराउने र त्यस्तो विद्युतीय हाजिरीबाट प्रमाणित भएको अवस्थामा मात्र नियमित र बढी समयको लागि गरिने भुक्तानी प्रदान गर्ने।
५. प्रचलित कानूनले तोके बमोजिमको सुविधामात्र दिने प्रबन्ध मिलाउने र कर्मचारी तथा कामदारका लागि आचारसंहिता जारी गरी कडाईका साथ लागू गर्ने।
६. संस्थानको भौतिक सम्पतिको लगत अद्यावधिक गरी त्यसको व्यवसायिक योजना बनाउने।
७. प्रत्येक कर्मचारीलाई लक्ष्यसहित कार्य सम्पादन विवरण दिने व्यवस्था तथा कार्यविवरण बमोजिम मूल्याङ्कनको सूचकाङ्क तयार गरी मूल्याङ्कन हुने व्यवस्था गर्ने तथा मुख्य कार्यसम्पादन सूचक दिइ कार्य जिम्मेवारी तोक्ने।
८. संस्थानले आफूले गर्ने र अरुबाट गराउने कामहरुको सूची तथा कार्य सम्पादनको फ्लो र प्रकृयाहरु अभिलेखाङ्कित गरी विजनेस प्रोसेस रिइन्जिनियरिङ्ग तयार गरी त्यसमा गर्न सकिने सुधारहरु गरी सुधारको विवरण मन्त्रालयमा पठाउने।
९. दुग्ध विकास संस्थान अन्तर्गतका प्रत्येक वितरण आयोजना तथा उत्पादन केन्द्र प्रमुख लगायत कार्यरत कर्मचारीलाई संस्थान नाफामा रहने गरी दूध संकलन तथा दूग्ध पदार्थको बिक्री वितरण सम्बन्धी कारोबारको लक्ष्य दिई सोको आधारमा कार्यसम्पादन मूल्याङ्कन गर्ने व्यवस्था गर्ने।