काठमाडौं। कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीसँग विश्व बैंक दक्षिण एसिया क्षेत्रका एग्रिकल्चर एन्ड फुडस् ग्लोबल प्राक्टिस म्यानेजर टोमास रिकार्डो रोसादा भिल्लामारलगायतका पदाधिकारीले मन्त्रालयमा भेट गरेका छन्।
भेटमा कृषिको संस्थागत सुधार, भूमि तथा जलाधार व्यवस्थापन, पशुधन तथा पहाडी कृषि वस्तुको निर्यात प्रवर्द्धन, पशु रोग नियन्त्रण तथा कृषि क्षेत्रको डिजिटलाइजेसनसम्बन्धी विषयमा छलफल भएको मन्त्री चौधरीको सचिवालयले जनाएको छ।
यस्तै, एनएलएसआईपी÷रिड परियोजनाको उपलब्धि तथा फ्यानसेप र रानी जमरा कुलेरिया परियोजनाको प्रगतिबारे पनि छलफल भएको थियो। छलफलमा मन्त्री चौधरीले युवालाई कृषिमा आकर्षित गर्ने, रोजगारी सिर्जना, किसान सूचीकरण तथा कृषि क्षेत्रमा नवप्रवर्तन गर्ने विषयमा विशेष जोड दिइन्।
उनले विश्व बजार सुनिश्चित गर्न रोगमुक्त अवस्थाको आवश्यकता औंल्याउँदै मन्त्रालयबाट विश्व बैंकमा प्रेषित एनिमल हेल्थ सिस्टम ट्रान्सफर्मेस प्रोजेक्टबारे ध्यानाकर्षण गराएको सचिवालयले बताएको छ।
साथै, एग्रि–कनेक्ट कार्यक्रम नेपालमा कार्यान्वयन गर्ने विषयमा पनि छलफल भएको थियो । विश्व बैंकले रासायनिक मल अध्ययन तथा एग्रि–कनेक्ट कार्यक्रममा सहयोग गर्न सकारात्मक प्रतिबद्धता जनाएको मन्त्रालयको भनाइ छ।