काठमाडौं। नेपालको प्रतिष्ठित व्यावसायिक घराना बीएल गोयन्का ग्रुपअन्तर्गत सञ्चालित तीन वटा उद्योगले एक वर्षमै तीन अर्ब बढीको व्यापार गरेको छ। गोयन्का ग्रुपको मुख्य लगानी रहेको अरुण एग्रो इन्डस्ट्रिज, मनोज फुड्स र गोयन्का फुड्सले गत आर्थिक वर्षमा तीन अर्ब ३३ करोड रुपैयाँ बराबरको व्यापार गरेको हो।
इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले सार्वजनिक गरेको पछिल्लो रेटिङ प्रतिवेदनअनुसार, रुपन्देहीमा रहेका यी तीन कृषिजन्य उद्योगहरूले आफ्नो बजार हिस्सा सुरक्षित राख्दै २ अर्ब ५६ करोड २२ लाख रुपैयाँ बराबरको बैंकिङ ऋण सुविधाका लागि वित्तीय साख (रेटिङ) गराएका छन्। जसमा अरुण एग्रो इन्डस्ट्रिजले एक अर्ब ३९ करोड, मनोज फुड्सले ५८ करोड १६ लाख र गोयन्का फुड्सले ५९ करोड ६ लाख रुपैयाँ बराबरको ऋण रेटिङ गराएका हुन्।
गहुँ र दाल प्रशोधनमा तीन दशक लामो अनुभव भएको यो समूहले दियो र गोपी जस्ता स्थापित ब्रान्डमार्फत देशभर खाद्यान्न आपूर्ति गर्दै आएको छ।
अरुण एग्रो इन्डस्ट्रिजः २ अर्बमाथिको व्यापार र रेटिङमा सुधार
गोयन्का ग्रुपअन्तर्गतको अरुण एग्रो इन्डस्ट्रिज प्रा.लि. यस समूहकै सबैभन्दा धेरै कारोबार गर्ने कम्पनीका रुपमा देखिएको छ। आर्थिक वर्ष २०२५ मा यसले दुई अर्ब २ करोड ४० लाख रुपैयाँको व्यापार गरेको छ।
यो अघिल्लो वर्षको १ अर्ब ७३ करोडको तुलनामा ८ प्रतिशतको वृद्धि हो। चालू वर्षको पहिलो ६ महिनामा भने कम्पनीले ९१ करोड ३० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ।
इन्फोमेरिक्स नेपालले कम्पनीलाई ऋण दीर्घकालिन कर्जामा डबल बी र अल्पकालिन ऋणमा एफोर रेटिङ प्रदान गरेको छ। यसअघि सूचना उपलब्ध नगराएका कारण असहयोग गर्ने सूचीमा परेको यो कम्पनी अहिले उक्त सूचीबाट हटेर नियमित रेटिङमा फर्किएको छ।
कम्पनीको सञ्चालन मुनाफा ४ प्रतिशतबाट बढेर ६.२८ प्रतिशत पुगेको छ। जुन सकारात्मक हो। तर, कम्पनीको ऋण र स्वपुँजीको अनुपात ६.०१ गुणा छ। जसले पुँजीको तुलनामा ऋणको भार बढी रहेको देखाउँछ। ऋणको किस्ता तिर्ने क्षमता बुझाउने ‘डीएससीआर’ ०.९६ गुणा मात्र रहनुले नगद प्रवाहमा दबाब रहेको संकेत गर्छ। यो कम्पनी नन्दलाल गोयन्काले नेतृत्व गरिरहेका छन्।
गोयन्का फुड्स: दियो ब्रान्डको १ अर्बको कारोबार
मैदा, आट्टा र सुजी उत्पादनमा सक्रिय गोयन्का फुड्स प्रा.लि.ले सन् २०२५ मा १ अर्ब ३ करोड ८० लाख रुपैयाँको व्यापार गरेको छ। चालू वर्षको ६ महिनामा ४९ करोड ५० लाख रुपैयाँको व्यापार गरेको छ। यो कम्पनीले आफ्ना उत्पादनहरू ‘दियो’ ब्रान्डमा बिक्री गर्दै आएको छ। जसले नेपाली बजारमा राम्रो पहिचान बनाएको छ।
कम्पनीले कुल ५९ करोड ६ लाख रुपैयाँ बराबरको ऋण सुविधाका गराएको रेटिङमा दीर्घकालिन कर्जा लागि डबल बी माइनस र अल्पकालिन कर्जाका लागि एफोर रेटिङ पाएको छ।
यो उद्योगलाई सुनौली नाकाबाट मात्र १५ किलोमिटरको दुरीमा कारखाना रहनुले कच्चा पदार्थ आयातमा यसलाई ठूलो लाभ मिलेको छ। यद्यपि, कम्पनीको पुँजीगत संरचना निकै जोखिमपूर्ण देखिएको छ।
यसको गेयरिङ रेसियो ८.४० गुणा छ। जसको अर्थ सञ्चालकको १ रुपैयाँ लगानी हुँदा बैंकको ऋण ८ रुपैयाँभन्दा बढी छ। सञ्चालन मुनाफा ७.७३ प्रतिशतबाट घटेर ४.७० प्रतिशतमा खुम्चिनु कम्पनीका लागि मुख्य चुनौती हो। उद्योगमा मनोग कुमार गोयन्काको ४५ प्रतिशत सेयर स्वामित्क छ।
मनोज फुड्स: दाल प्रशोधनको पुरानो खेलाडी वित्तीय दबाबमा
गोयन्का ग्रुपकै सबैभन्दा पुरानोमध्येको एक मनोज फुड्स प्रा.लि. दाल प्रशोधनमा केन्द्रित छ। गोविन्दा गोयन्का होल्डङ्सको मुख्य लगानीमा सन् १९९२ मा स्थापित यो कम्पनीले सन् २०२५ मा २६ करोड ८० लाख रुपैयाँको व्यापार गरेको छ। चालू वर्षको ८ महिनामा २० करोड ६० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ। विगतका वर्षहरूमा ७६ करोडसम्मको व्यापार गरेको यो कम्पनीको आम्दानीमा पछिल्लो समय ठूलो गिरावट आएको छ।
कमजोर वित्तीय अवस्थाका कारण यसलाई १७ करोड १० लाख रुपैयाँको दीर्घकालिन कर्जामा सिंगल बी र ४१ करोड रुपैयाँको अल्पकालिन कर्जामा एफोर रेटिङ दिइएको छ। लगातारको नोक्सानीका कारण कम्पनीको स्वपुँजी नै ऋणात्मक बनेको छ।
यसले अष्ट्रेलियाबाट दाल आयात गरी गोपी, बीजी र सिक्का ब्रान्डमा नेपाल र भारतमा बिक्री गर्दछ। सञ्चालन नाफा मार्जिन ०.८१ प्रतिशतमा सीमित हुनु र चालू पुँजीको चक्र २८० दिनसम्म लम्बिनुले यो कम्पनी गम्भीर तरलता संकटमा रहेको देखाउँछ।
गोयन्का ग्रुपका यी तीन वटै उद्योगहरूको मुख्य सबल पक्ष तीन दशक लामो अनुभव र स्टापल फुड (आधारभूत खाद्यान्न)को व्यापार हुनु हो। नेपालमा मैदा, आट्टा र दालको माग सधैँ स्थिर रहने भएकाले बजारको जोखिम न्यून छ।
तर, वित्तीय रूपमा तीन वटै कम्पनीमा ऋणको भार पुँजीको तुलनामा निकै उच्च छ। कच्चा पदार्थ (गहुँ र दाल)को मूल्यमा अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढाव र भारतको निर्यात नीतिमा आउने फेरबदलले यी उद्योगहरूको नाफालाई प्रत्यक्ष असर पार्ने देखिन्छ।
आगामी दिनमा व्यापारिक आयतन बढाउँदै बैंक ऋणको हिस्सा घटाउनु र चालू पुँजीको प्रभावकारी व्यवस्थापन गर्नु यो समूहको मुख्य चुनौती हुने रेटिङ रिपोर्टले औँल्याएको छ।