काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत विभिन्न वस्तुगत संघ–संस्थाको प्रतिनिधित्व रहने वस्तुगत परिषद् गठन गरिएको छ। परिषद् गठनसँगै नवनियुक्त सदस्यहरूलाई मनोनयन पत्र हस्तान्तरण गरिएको हो।
महासंघ सचिवालयमा बुधबार आयोजित कार्यक्रममा महासंघका कार्यवाहक अध्यक्ष सुरकृष्ण वैद्यले नवनियुक्त सदस्यलाई बधाइ तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै वस्तुगत परिषद्ले निजी क्षेत्रका साझा आवाजलाई थप सशक्त बनाउने विश्वास व्यक्त गरे।
उनले उद्योग तथा व्यवसायसँग सम्बन्धित नीतिगत सुधार, लगानी प्रवर्द्धन, उत्पादन र निर्यात विस्तार तथा निजी क्षेत्रका समस्या समाधानका लागि परिषद्ले सक्रिय र परिणाममुखी भूमिका निर्वाह गर्नुपर्ने बताए। निजी क्षेत्र र सरकारबीच प्रभावकारी समन्वय स्थापित गर्दै मुलुकको आर्थिक विकासमा परिषद्को योगदान महत्त्वपूर्ण रहने उनको भनाइ थियो।
त्यसैगरी महासंघका जिल्लानगर उपाध्यक्ष दिलसुन्दर श्रेष्ठले वस्तुगत परिषद् महासंघको महत्वपूर्ण अंग रहेको उल्लेख गर्दै क्षेत्रगत रुपमा आएका समस्या समाधानमा परिषद्को महत्वूर्ण भूमिका रहने बताए।
वस्तुगत उपाध्यक्ष तथा वस्तुगत परिषद्का सभापति नरेशलाल श्रेष्ठले महासंघका वस्तुगत सदस्य संघ नै निजी क्षेत्रको मेरुदण्ड भएको उल्लेख गर्दै परिषद्ले उद्योग–व्यवसायका साझा एजेन्डालाई एकीकृत रूपमा अघि बढाउने विश्वास व्यक्त गरे।
उनले परिषद्का सदस्यले आ–आफ्नो क्षेत्रको अनुभव, सुझाव र नीतिगत धारणा महासंघमार्फत प्रभावकारी रूपमा प्रस्तुत गरी निजी क्षेत्रको हित संरक्षण र प्रवद्र्धनमा सक्रिय भूमिका खेल्न आग्रह गरे। उनले वस्तुगत परिषद्का सदस्यहरुलाई विषयगत समितीको तथ्याङ्कमा आधारित रहेर असुनधान गरि समस्या समाधानका लागि पहल गर्नुपर्ने आवश्यकता औंल्याए।
एसोसिएट उपाध्यक्ष एवं रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले मुलुकको अर्थतन्त्र अझै पनि लयमा फर्किन नसकेको, लगानीको वातावरण बन्न नसकको वर्तमान परिवेशमा व्यावसायिक गतिविधिमार्फत अर्थतन्त्र चलायमान बनाउन परिषदको भूमिमा महत्वपूर्ण हुने धारणा राखे।
महासंघ कोषाध्यक्ष मनिषलाल प्रधानले परिषद् तथा समितिका गतिविधिले नै महासंघलाई चलायमान बनाउने उल्लेख गर्दै परिणाममुखी कार्यशैलीलाई प्राथमिकता दिदै अर्थतन्त्र चलायमान बनाउने गरी काम गर्नुपर्ने आवश्यक्तामाथि जोड दिए।
कार्यक्रममा महासंघअन्तर्गत गठित वस्तुगत परिषद्का सदस्यलाई कार्यवाहक अध्यक्ष सुरकृष्ण वैद्यले तथा उपाध्यक्ष एवं परिषद्का सभापति नरेशलाल श्रेष्ठले मनोनित सदस्य तथा सल्लाहकारलाई पत्र हस्तान्तरण गरेका थिए।
यसैबीच वस्तुगत परिषद्को बुधबार बसेको बैठकले परिषद् उपसभापतिमा भक्तबहादुर हमाललाई मनोनयन गरेको छ। महासंघमा विभिन्न १४२ वटा वस्तुगत सदस्य छन्।