काठमाडौं। विशाल ग्रुपअन्तर्गतको पेय पदार्थ उत्पादक कम्पनी ‘साउथ एसियन वेभरेज’ वित्तीय दबाबमा फसेको छ। फ्रुटी र एप्पी जस्ता चर्चित ब्रान्ड उत्पादन गर्ने यो कम्पनीले वार्षिक करिब ४१ करोड ८० लाख रुपैयाँको व्यापार गर्दा सवा १ अर्ब रुपैयाँभन्दा बढीको ऋण भार बोकेको इक्रा नेपालको रेटिङ रिपोर्टले देखाएको हो।
कम्पनीले गत वर्ष ३३ करोड ८० लाख र अघिल्ले वर्ष ३१ करोड २० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो। वार्षिक आधार अर्ब रुपैयाँको पनि व्यापार गर्न नसकेको यो कम्पनीले कुल १ अर्ब ३३ करोड ५० लाख रुपैयाँ बराबरको ऋण रेटिङ गराएको हो।
इक्रा नेपालले सार्वजनिक गरेको पछिल्लो रेटिङ प्रतिवेदनअनुसार कम्पनीको आम्दानी र ऋणको अनुपात नमिल्दा यसको दीर्घकालीन कर्जाको साख (रेटिङ)मा समेत गिरावट आएको छ। इक्रा नेपालले कम्पनीको ७९ करोड २० लाख रुपैयाँको दीर्घकालीन ऋणको साखलाई ‘एल बी प्लस’ बाट घटाएर ‘एल बी माइनस’ कायम गरेको छ। यस्तै, ५४ करोड ३० लाख रुपैयाँको अल्पकालीन ऋणको साखलाई भने ‘एफोर’ लाई यथावत राखिएको छ।
वित्तीय साख घट्नुको मुख्य कारण कम्पनीले लक्ष्यअनुसार व्यापार विस्तार गर्न नसक्नु र सुरुवाती तीन वर्षदेखि लगातार नोक्सानी बेहोर्नु रहेको रिपोर्टमा उल्लेख छ। इक्राको परिभाषाअनुसार कम्पनीले पाएको एल बी माइन्स साखको अर्थ कम्पनीले आफ्नो वित्तीय दायित्व र बैंकको ऋण समयमै भुक्तानी गर्न सक्ने क्षमतामा उच्च जोखिम रहेको र डिफल्ट (टाट पल्टिने) को सम्भावना बढेको बुझिन्छ।
विशाल अग्रवालको नेतृत्वमा रहेको यो कम्पनीको आर्थिक वर्ष २०२५ सम्मको वित्तीय विवरणअनुसार सञ्चालन आम्दानी ४१ करोड ८० लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी ३३ करोड ८० लाख रुपैयाँ थियो। व्यापारमा केही सुधार देखिए पनि कम्पनीले अझै नाफा कमाउन सकेको छैन। कच्चा पदार्थको उच्च लागत र बजारको तीव्र प्रतिस्पर्धाका कारण कम्पनीको सञ्चालन नाफा मार्जिन २५.३ प्रतिशत ऋणात्मक छ। यसको सीधा अर्थ हो, कम्पनीले १०० रुपैयाँको जुस बिक्री गर्दा सञ्चालन खर्चमै २५ रुपैयाँ ३० पैसा घाटा खाइरहेको छ।
कम्पनीको पुँजीगत संरचना निकै असन्तुलित छ। ऋण र स्वपुँजीको अनुपात करिब ५ गुणा पुगेको छ, जसले कम्पनीमा सञ्चालकहरूको लगानीभन्दा बैंकको ऋणको हिस्सा निकै भारी रहेको देखाउँछ। निरन्तरको घाटाले कम्पनीको खुद सम्पत्ति खिइँदै गएको छ, जसका कारण व्यावसायिक स्थिरताका लागि प्रवर्द्धकहरूले बारम्बार थप पुँजी हाल्नुपर्ने बाध्यता सिर्जना भएको छ।
नगद प्रवाहको अवस्था पनि कमजोर छ। कम्पनीको चालु पुँजीको सघनता ६५ प्रतिशत पुग्नुले कम्पनीको ठूलो पुँजी गोदामको सामान र बजारको उधारोमा अड्किएको पुष्टि गर्छ। तरलता संकटका कारण कम्पनीले सन् २०२६ को फेब्रुअरीमा बैंकको ऋणको किस्ता र ब्याज भुक्तानीमा केही दिन ढिलाइ गरेको समेत प्रतिवेदनमा उल्लेख छ।
विशाल ग्रुप जस्तो अनुभवी व्यावसायिक घरानाको साथ र भारतको पार्ले एग्रोसँगको सम्झौतामा फ्रुटी, एप्पी र हालै बजारमा ल्याइएको स्मुद जस्ता चल्तीका ब्रान्डको उत्पादन हुनु कम्पनीको सबल पक्ष हो। यद्यपि, पेय पदार्थको व्यवसाय मौसमी प्रकृतिको हुने भएकाले जाडो महिनामा व्यापार सुस्त हुनु र चिनी तथा फलफूलको रस (पल्प) जस्ता कच्चा पदार्थको मूल्यमा हुने उतारचढावले कम्पनीलाई थप जोखिममा पारेको छ।
सरकारले अन्तःशुल्क र भन्सार महसुलमा गर्ने परिवर्तनले पनि कम्पनीको नाफालाई प्रभावित पार्दै आएको छ। आगामी दिनमा व्यापारको आयतन उल्लेख्य रुपमा बढाएर र सञ्चालन खर्च घटाएर नाफामा नगएसम्म साउथ एसियन वेभरेजको वित्तीय साखमा सुधार आउने सम्भावना न्यून देखिएको रिपोर्टमा उल्लेख छ।