काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंकिङ सेवालाई थप समावेशी र ग्राहकमुखी बनाउन सरल बैंकिङ सम्बन्धी विशेष व्यवस्था कार्यान्वयनमा ल्याएको छ। बैंक तथा वित्तीय संस्थाहरूले आफ्ना सेवाहरू सबै वर्गका नागरिकका लागि सहज बनाउनुपर्ने उद्देश्यका साथ राष्ट्र बैंकले एकीकृत निर्देशनमा यस्तो प्रावधान राखेको हो।
यस व्यवस्था अन्तर्गत खासगरी ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र साक्षर नभएका ग्राहकहरूलाई प्राथमिकता दिँदै बैंकिङ सुविधा उपलब्ध गराउनु पर्ने अनिवार्य व्यवस्था गरिएको छ। हालसम्म ज्येष्ठ नागरिक, अपाङ्ग र साक्षर नभएका व्यक्तिलाई विशेष सेवा दिन बैंक तथा वित्तीय संस्थाहरूले त्यस्ता ग्राहकहरूलाई विशेष काउण्टर तोकी सेवा दिनुपर्ने व्यवस्था थियो। साथै, स्थानीय तहमा ५ भन्दा बढी शाखा रहेका स्थानमा बैंक तथा वित्तीय संस्थाहरूले कम्तीमा एक शाखा र एटिएम लाउञ्ज भएका स्थानमा १ एटिएम अपाङ्गमैत्री बनाउनुपर्ने व्यवस्था थियो।
नयाँ व्यवस्थाअनुसार अब बैंकहरुले ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र साक्षर नभएका ग्राहकहरूका लागि छुट्टै विशेष काउन्टर तोकेर सेवा प्रदान गर्नुपर्नेछ। पाँचभन्दा बढी शाखा रहेका स्थानीय तहमा कम्तीमा एउटा शाखा र एउटा एटीएम लाउन्जलाई अपाङ्गमैत्री बनाउनुपर्नेछ। यस्ता अपाङ्गमैत्री शाखा र एटीएमहरूको विवरण बैंकले आफ्नो वेबसाइटमा अनिवार्य रूपमा राख्नुपर्नेछ।
यस्तै, अपाङ्गता भएका व्यक्तिहरूले एटीएम, मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ जस्ता सेवाहरू आफैँ प्रयोग गर्न सक्षम रहेको स्वघोषणा गरेमा बैंकले त्यस्ता सुविधाहरू उपलब्ध गराउनुपर्नेछ। बैंकहरूले जारी गर्ने डेबिट र क्रेडिट कार्डहरूमा स्पर्श गरेर चिन्न सकिने हुनुपर्नेछ। साथै, एटीएमहरूमा ब्रेल साङ्केतिक बटनहरू र अडियो सपोर्ट अनिवार्य गरिएको छ।
यसैगरी, बैंकका वेबसाइट र मोबाइल बैंकिङ एपहरू दृष्टिसम्बन्धी अपाङ्गता भएका व्यक्तिहरूले समेत सहजै प्रयोग गर्न सक्ने गरी विकास गर्नुपर्ने निर्देशनमा उल्लेख छ। राष्ट्र बैंकले यी व्यवस्थाहरू मार्फत बैंकिङ क्षेत्रलाई केवल नाफामुखी मात्र नभई सामाजिक रूपमा उत्तरदायी र पहुँचयोग्य बनाउन खोजेको देखिन्छ। ग्राहकहरूका लागि गरिएको यो सरल बैंकिङ व्यवस्थाले समग्र वित्तीय प्रणालीलाई मर्यादित र सेवामुखी बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ।