काठमाडौं। पर्यटकीय नगरी पोखरामा विश्वप्रसिद्ध होटल चेन ‘म्यारियट’को ब्रान्डमा पाँचतारे होटल निर्माण गरिरहेको एम्पर हस्पिटालिटी एण्ड होटल्स प्राइभेट लिमिटेडले दुई अर्ब ६ करोड रुपैयाँ ऋण लिने प्रक्रिया अघि बढाएको छ। क्रेडिट रेटिङ एजेन्सी केयर रेटिङ्स नेपालले कम्पनीले बैंकबाट लिने दीर्घकालीन ऋणका लागि रेटिङ प्रदान गरेसँगै आयोजनाको वित्तीय व्यवस्थापन थप सहज भएको हो।
यस होटल परियोजनाको एकल प्रवर्द्धक तथा मुख्य लगानीकर्ता कर्मा तेन्जिङ हुन्। उनी नेपालको घरजग्गा र होटल व्यवसायका अनुभवी व्यवसायी हुन्। तेन्जिङले काठमाडौँको महाराजगन्जमा १७० कोठाको अर्को पाँचतारे होटल ‘ले मेरिडियन’ र १६२ युनिटको लक्जरी अपार्टमेन्ट ‘कर्मा रेसिडेन्सेस’ निर्माण गरिरहेका छन्।
केयर रेटिङले व्यवसायी तेन्जिङलाई पोखरामा मारियटको ‘ले मेरिडियन’ होटल बनाउँन दुई अर्ब ऋण लिने बाटो खुलेको छ। नेपालको घरजग्गा र होटल व्यवसायका अनुभवी व्यवसायी तेन्जिङले एकल लगानीमा शुरु गरेको यो परियोजनालाई क्रेडिट रेटिङ एजेन्सी केयर रेटिङ्स नेपालले कम्पनीले बैंकबाट लिने दीर्घकालीन ऋणका लागि बीबी माइनस रेटिङ प्रदान गरेको हो।
यो रेटिङले कम्पनीको वित्तीय दायित्व समयमै पूरा गर्न सक्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ। आयोजना निर्माणकै चरणमा रहेको र ऋणको पूर्ण हिस्सा अझै सुनिश्चित हुन बाँकी रहेकाले यो रेटिङ दिइएको हो।
किन लिइँदै छ ऋण?
कम्पनीले पोखरामा १३० वटा कोठा रहने अत्याधुनिक पाँचतारे होटल निर्माणका लागि यो ऋण लिन लागेको हो। यो होटल म्यारियट इन्टरनेसनलको प्रतिष्ठित ब्रान्ड ‘ले मेरिडियन’अन्तर्गत सञ्चालन हुनेछ। आयोजनाको कुल अनुमानित लागत २ अर्ब ७७ करोड रुपैयाँ रहेको छ।
यो परियोजनामा ७४ प्रतिशत ऋण र २६ प्रतिशत स्वपुँजी रहने गरी वित्तीय संरचना तयार पारिएको छ। कुल लागतमध्ये २ अर्ब ६ करोड रुपैयाँ बैंक ऋणबाट र ७१ करोड रुपैयाँ प्रवद्र्धकको स्वपुँँजी लगानीबाट बेहोरिने छ।
हालसम्म विभिन्न बैंकहरूबाट ६२ करोड ९० लाख रुपैयाँ ऋण स्वीकृत भइसकेको छ। बाँकी ऋण जुटाउने प्रक्रिया जारी रहेको रिपोर्टमा उल्लेख छ। प्रवद्र्धक तेन्जिङको बलियो वित्तीय पृष्ठभूमि र ठूला आयोजना व्यवस्थापनको अनुभव भएकाले पनि बैंकहरूले यस परियोजनामा लगानी गर्न इच्छा देखाएको रिपोर्टमा उल्लेख छ।
सन् २०२६ को मध्य अप्रिलसम्मको तथ्यांकअनुसार आयोजनाको वित्तीय प्रगति करिब ३४ प्रतिशत पुगेको छ। होटलका लागि आवश्यक जग्गा खरिद भइसकेको छ। भौतिक निर्माणका कामहरू सुरुवाती चरणमा छन्।
आयोजनामा हालसम्म ८८ करोड ८० लाख रुपैयाँ खर्च भइसकेको छ। निर्माण कार्यलाई तीव्रता दिँदै कम्पनीले आगामी ३ देिख ४ वर्षभित्र होटल सञ्चालनमा ल्याउने लक्ष्य राखेको छ। होटल पोखरा अन्तर्राष्ट्रिय र आन्तरिक विमानस्थलबाट मात्र ४-५ किलोमिटरको दूरीमा रहेको र फेवा तालनजिकै रहेकाले यसको व्यावसायिक भविष्य राम्रो देखिएको छ।
होटलमा क्यासिनो, पौडी पोखरी, स्पा, हेल्थ क्लब र ठूला सम्मेलन कक्षहरू रहने छन्। म्यारियट जस्तो विश्वव्यापी ब्रान्डसँगको आबद्धताले गर्दा होटल सञ्चालनमा आएपछि अन्तर्राष्ट्रिय पर्यटकहरूको आगमन राम्रो हुने अपेक्षा गरिएको छ।
यद्यपि, होटल निर्माणको सुरुवाती चरणमा रहेकाले समयमै निर्माण सम्पन्न गर्नु र बढ्दो निर्माण सामग्रीको मूल्यका कारण लागत बढ्न नदिनु मुख्य चुनौती रहने केयर नेपालको प्रतिवेदनमा उल्लेख छ। साथै, होटल क्षेत्रमा लगानी फिर्ता हुन लामो समय लाग्ने भएकाले सुरुवाती वर्षहरूमा नगद प्रवाहमा केही दबाब पर्न सक्ने विश्लेषण गरिएको छ।